सुरेश बिडारी
वीरगञ्ज,
वीरगञ्ज स्थित नारायणी अस्पतालमा एक दिनको शिशु (छोरी)लाई छोडेर आमा र हजुरआमा फरार भएका छन् । शिशु छोडेर रानीघाट–६ वीरगञ्ज घर बताउने सीता देवी र बेडी देवी फरार भएकी हुन् ।
सुत्केरी वेथा लागेपछि सासुआमा बेडीसँगै सीता ११ फागुन शुक्रबार बेलुका अस्पताल आएकी थिईन् ।
भोलिपल्ट शनिबार बिहान ६ः३० बजे ३ केजी तौल भएकी छोरी जन्माएकी थिईन् । चौथो सन्तान पनि छोरी नै जन्मिएको भनेर सासुआमा बेडी रिसाइरहेकी थिईन् । शनिबार दिनभर अस्पतालमै बसेका उनीहरु साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर भाग्न सफल भएका हुन् ।
साँझ बेडमा बच्चा मात्रै देखेपछि स्वास्थ्यकर्मीहरुले उनीहरुको खोजी शुरु गरेका थिए । तर उनीहरु भेटिएनन् । आईतबार यो समाचार तयार पार्दासम्म उनीहरु बच्चा लिन आएका छैनन् ।
प्रसुती वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर भागेको जानकारी दिईन् । ‘ अस्पतालमा सासु र बुहारी मात्रै आएका थिएन, श्रीमान खै भन्दा कमाउन गएका छन् भनेर भनेकी थिईन् ।’ उनले भनिन् ‘ छोरी जन्मेपछि सासु रिसाईरहेकी थिईन्, बच्चा नै छोडेर भाग्छन जस्तो लागेको थिएन । हिजैदेखि खोजीरहेका छौं, भेटिरहेका छैनौं ।’
बच्चा स्वस्थ रहेको र एनआइसीयुमा राखिएको उनले बताईन् ।
अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि घटनाबारे प्रहरीलाई समेत जानकारी गराईएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चितरञ्जन साहले बताए । ‘ विस्तृत विवरण अस्पतालको रेकर्डमा छैन, रानीघाट ६ भनेर ठेगाना लेखाएका रहेछन्, दुवै महिलासँग मोबाईल थिएन । ’ उनले भने ‘ छोरी जन्मेका कारण नै छोडेर भागेको हुन सक्छ । प्रहरीसँगको समन्वयमा खोजी भईरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले उनीहरुको खोजतलास जारी रहेको बताए । उनीहरुले गलत ठेगाना टिपाएर गएकोले खोजीमा कठिनाई भइरहेको उनको भनाई छ ।
‘ उनीहरुले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन, पहिले नै योजना बनाएर घटना घटाएको आशंका हामीले गरेका छौं ।’ डिएसपी थापाले भने ‘ अस्पतालमा भर्ना गराउन कुनैपनि आइडी कार्ड नचाहिने हुँदा गलत गर्नेलाई पनि सहज भएको छ ।’
Discussion about this post