वीरगञ्ज,
नेपाल उद्योग वाणिज्य महासंघले दशैभरका उद्यमी व्यवसायीको सहभागितामा सामुदायिक लगानी कम्पनी स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको ४८ औं बार्षिक साधारणसभामा यसबारे जानकारी गराएका हुन् ।
‘ पब्लिक कम्पनी लिमिटेड बनाएर सानो सानो बचतलाई संकलन गरेर नेपालमा रहेका संभावनाहरुमा लगानी गर्ने सोच छ, सरकारले सञ्चालन गरेका वा गर्न नसकेका उद्योगमा समेत लगानी गर्छौ ।’ उनले भने ‘ हरेक जिल्लामा भएको पूँजीलाई एकीकृत गरेर विभिन्न योजनामा लगानी गर्न कम्पनीले सघाउनेछ ।’
अध्यक्ष ढकालका अनुसार कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्नेछन् । त्यसरी संकलन गरिएको रकम देशका विभिन्नसरकारी तथा निजी परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी दश अर्ब रुपैयाँ हुनेछ । महासंघका सदस्य बाहेकका व्यवसायीले समेत लगानी गर्न सक्ने अध्यक्ष ढकालको भनाई छ ।
कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको बताए । उनले उद्योगी व्यवसायीले दिएको सुझावलाई सरकारले वेवास्ता गर्दा राजश्व संकलनमा गिरावट आएको समेत बताए ।
‘ उद्योगी व्यवसायीले आफ्ना लागि मात्रै कुरा राख्छन भन्ने भ्रममा सरकार र मातहतका निकायहरुमा परेको देखियो । ’ उनले भने ‘ मौद्रिक नीति, बजेटका लागि निजी क्षेत्रको सुझाव नमान्दा साधरण खर्च समेत उठ्न सकेको छैन । ’
सहकारी, लघुवित्त, बैंकमा समस्या देखिएका कारण अर्थतन्त्रमा असर परेको भएपनि क्रमशः सुधारउन्मुख रहेको उनको भनाई छ ।
Discussion about this post