काठमाडौं,
नेपाल जुनोटिक रोगहरूको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् । जुनोटिक रोगका कारणले हुने महामारी र स्वास्थ्य प्रकोपको जोखिमलाई रोक्न तथा न्यूनिकरणमा ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।
अमेरिकन राजदूतावास, युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर र सेन्टर फर मलिक्युलर डाइनामिक्सको संयुक्त आयोजनामा काठमाडौंमा वान हेल्थ अवधारणा बारे समुदायसँग छलफलको आयोजना गरेको थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जसँग आवद्ध संघ सस्था , नागरिक अगुवा र स्थानीय सरकारका प्रतिनिधिहरूसँग वान हेल्थ अवधारणा, यसले पारेको असर र बच्ने उपायहरूको खोजी गरिइको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले सन् २००६ देखि तीन – तीन वर्षको अन्तरालमा डेंगी देखिन थालेको बताए । उनले यसको कारण पत्ता लगाउन आवश्यक रहेको बताए । डेंगी पहिलो पटक नेपालमा सन् २००४ बाट देखिन थालेको हो । चितवनमा पहिलो केस पुष्टि भएदेखि हालसम्म हरेक वर्ष देखिएको छ । रूपाखेतीले डेंगु समुदाय स्तरमा फैलिरहेको बताए । चितवनमा गरिएको एक अनुसन्धानको आधारमा आधिकांश केस डायरमा देखिएको उनको भनाई छ । लामखुट्टेको वृद्धि विकास रोक्न वातावरणको उचित व्यवस्थापन जरुरी रहेकोमा प्रमुख रूपाखेतीले जोड दिए । अहिलेको अवस्थामा डेंगु रोक्न सम्भव नभएको भन्दै उनले सचेतनाका लागि विद्यालय स्तरबाटै प्रचार प्रसार गर्नुपर्ने बताए ।
जलवायु परिवर्तन र विकास निर्माणसँगै कीटजन्य रोगहरू हिमाली जिल्लाहरूमा समेत देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले पशुबाट मान्छे, मान्छेबाट पशुमा लाग्ने रोग नै जुनोटिक भएको बताए । “विगतमा जनावरको स्वास्थ्यलाई कसैले ध्यान दिदैँन थिए डा श्रेष्ठले भने,” “अहिले आधिकांश रोगहरू जनावरबाटै मान्छेमा सरिरहेको छ । त्यसैले जनावरको स्वास्थ्य पहिलो प्राथमिकतामा परेको छ ।”
वान हेल्थ अवधारणाले मानव स्वास्थ्य, जनावरको स्वास्थ्य र वरिपरिको वातावरणसँग निकटतम सम्बन्ध रहेको देखाउँछ । डा श्रेष्ठले ६० प्रतिशत रोग जनावरबाट मानिसमा सर्ने गरेको दावी गरे । प्राचीन कालमा नभएको रोगहरू अहिले धमाधम देखिन थाल्नुले पनि वान हेल्थ अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढाउनुपर्ने देखाएको उनको तर्क छ ।
विश्वका कतिपय देशहरूमा बन्यजन्तुको सेवनमा निकै कडाइ गर्न थालिएको छ । डा. श्रेष्ठका अनुसार कोभिड हुनुमा वन्यजन्तु व्यापारको ठुलो हात रहेको छ । जनावरमा देखिएको क्षयरोग मानिसमा पनि देखिएको छ ।
क्षयरोगकै कारण धेरै चितवनमा हात्तीको मृत्यु भएको छ । गैँडामा भने फरक प्रकारको क्षयरोग देखिएको डा. श्रेष्ठले बताए । त्यस्तै मलेरियाको जीवाणु पनि परिक्षण गर्न थालिएको छ । ६० प्रतिशत रोग जनावरबाट मानिसमा सर्ने गरेको छ । तर, दुर्भाग्य जनावरको मृत्यु नहुदाँ सम्म उसको स्वास्थ्य परिक्षण हुँदैन डा श्रेष्ठ सुनाउँछन् । वान हेल्थको मुख्य भूमिका भनेकै वन्यजन्तुको स्वास्थ्यमा ध्यान दिने हो ।
Discussion about this post