वीरगञ्ज,
सशस्त्र प्रहरीले वीरगञ्जबाट भारततर्फ तस्करी हुँदै गरेको ठूलो परिमाणको सिलबन्दी मदिरा बरामद गरेको छ।
शनिबार राति टाटासुमोमा भारततर्फ लैजाँदै गरेको ९६ कार्टुन सिलबन्दी मदिरा बरामद गरेको हो ।
सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको टोलीले भारतीय सीमासँग जोडिएको वीरगञ्ज महानगरपालिका१७ कोनियामा बीआर १० जे ८२०१ नम्बरको टाटासुमो रोकेर चेकजाँच गरेको थियो।
त्यसक्रममा टाटा सुमोबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन सिलबन्दी मदिरा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए। गाडी रोक्ने बित्तिकै चालक टाटासुमो छाडेर भारततिर भागेकोले उनलाई पक्राउ गर्न नसकिएको उनले बताए । बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५ सय र टाटा सुमोको २० लाख रुपैयाँ मूल्यांकन गरिएको छ ।
बरामद गरिएका मदिरा र गाडी आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतको बिहार राज्यमा मदिराको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। जसका कारण पर्सा, बारा लगायत मधेशका सीमा क्षेत्रबाट मदिराको तस्करी हुँदै आएको छ। बिहारका कतिपय मदिरा पारखीहरु नेपालको सीमावर्ती बजारमा खोलिएका मदिरा भट्टीहरुमा आएर पिउने गर्दछन् ।
Discussion about this post