सुरेश बिडारी, वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका–२ सिसयाडी बैरियाका कलामोदिन अन्सारीको मुख्य पेशा घरको रंगरोगन गर्ने हो । तर तीन वर्षदेखि उनको अर्को काम थपिएको छ । त्यो हो अदालत धाउने ।
त्यो दिन सम्झँदा उनका आँखा रसाउँछ, मुटु भक्कानिन्छ । जब ३ वैशाख २०७८ मा जेठी छोरी रविनाको मृत्यु भएको खबर आयो । रविनाको विवाह २६ असोज २०७७ मा वीरगञ्ज महानगरपालिका–१७ अलौं बस्ने साहाजिम मियाँ अन्सारीसँग भएको थियो ।
विवाह गरेको १/२ महिनासम्म घर व्यवहार राम्रै चलेको थियो । त्यसपछि कम दाइजो दिएको भन्दै साहाजिम र परिवारका सदस्यले मानसिक र शारीरिक यातना दिन थाले । त्यसो त दाइजो वापत उनले ३ लाख रुपैयाँ नगद, १ तोला सुन, १ लाख २७ हजार रुपैयाँको फर्निचर, चाँदीको पायल, नत्थी लगायतका नगद गरगहना समेत गरी झण्डै १० लाख रुपैयाँ दिएका थिए । मोटरसाइकल र अन्य भाँडाकुँडा पनि मागेका रहेछन् ।
कोरोना महामारीका कारण देशभर लकडाउन थियो । कलामोदिनले काम पाइरहेका थिएनन् । मागेजति दाइजो दिन सकेनन् । उनले पछि दिन्छु भनेका रहेछन् । ‘सम्धी, सम्धिनी, ज्वाइँ सहित १५ जनालाई कपडा मागेका थिए, पाँच जनालाई मात्रै दिन सकें’, उनी सम्झन्छन् । दाइजोसँगै देवर भाउजुको प्रगाढ सम्बन्धको कारण छोरीको घरमा खटपट परेको उनको आरोप छ ।
०७८ वैशाख ३ गते उनलाई सम्धीले फोन गरेर रविनाको मृत्यु भएको जानकारी गराएका थिए । रविना आफ्नै कोठामा मृत भेटिएकी थिइन् । छोरीको घर पुगेपछि कलामोदिन छोरीको मृत्यु नभइ हत्या भएको निष्कर्षमा पुगे । ‘कोरोना महामारीले गर्दा लकडाउन भयो, मागेको जति दाइजो दिन सकिरहेको थिइनँ, त्यसैले उनीहरुले छोरीको हत्या गरे ।’ उनी भन्छन् ।
कलामोदिनका अनुसार घटनाको दुई दिनअघि वैशाख १ गते छोरीलाई कुटपिट भएको जानकारी पाएपछि उनी छोरीको घर पुगेका थिए । ज्वाइँलाई सम्झाउन खोजे । तर ज्वाँइ उल्टै रिसाएर ‘छोरी लिएर जानुस’ भने । ‘पञ्च भलादमीहरु लिएर आउँछु । अनि मात्र छोरीलाई लान्छु’ भनेर फर्किएँ ।’ कलामोदिन भन्छन्, ‘३ महिनाको गर्भवती थिईन्, यसरी मारिहाल्छन भन्ने लागेको थिएन ।’
प्रहरीसँगको बयानमा साहाजिमले विवाहमा स्वीकार गरे बमोजिम सामान नदिएकोले ल्याउन भन्दा नमानेको तथा अन्य केटासँग फोनमा कुराकानी गरेको शंका लागेर अपशब्द प्रयोग गरी गाली गलौज कुटपिट गरी यातना दिएको स्वीकार गरेका थिए ।
बैशाख ३ गते कोठामा सलको पासो बनाई घाँटीमा लगाएर झुण्डिएर मृत्यु भएको, झ्यालबाट देखेपछि ढोका फोडेर पासो खोलेको उनको दावी छ ।
थुनछेक मुद्धामै बित्यो २१ महिना
उनले २४ जेठ २०७८ मा जिल्ला प्रहरी कार्यालय पर्सामा ज्वाइँ साहाजिम, सम्धिनी नुरजहा खातुन र रविनाको जेठानी सफिना भन्ने मोफिना खातुन विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए ।
दाइजोको बिषयमा गालीगलौज र यातना दिने गरेको, झुण्डिएको भने पनि प्रत्यक्षदर्शी कोही नभएको, मृत्यु भएपछि तत्काल प्रहरीलाई जानकारी नदिएको आरोप उनको छ । छोरीलाई कुटपिट गरी घाँटीमा डोरी कसेर हत्या गरेको दावी उनको छ ।
पर्सा जिल्ला अदालतले १३ असार २०७८ मा ज्वाइँ साहजिम र जेठानी सफिनालाई पुर्पक्षका लागि थुनामा राख्ने र सासु नुरजहालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । अदालतले दिएको थुनछेक आदेश उनलाई चित्त बुझेन ।
उच्च अदालत जनकपुरको अस्थायी वीरगञ्ज इजलास गए । उच्चले जिल्ला अदालतको आदेश उल्ट्यायो । साहजिम र सफिनासँग पनि जनही १ लाख रुपैयाँ धरौटी माग्यो ।
यो आदेश विरुद्ध कलामोदिनले १३ भदौ २०७८ मा सर्वोच्च अदालतमा पुनरावेदन गरे । १६ औं पटकको पेशीमा ०७९ फागुन २६ गते सर्वोच्चले उच्च अदालतको आदेश बदर गरी थप धरौटीको माग गरिदियो । सर्वोच्चले जनहि ५ लाख धरौटी माग गर्दै धरौटी दिन नसके कानून बमोजिम थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु भनी आदेश दियो ।
आत्महत्या दुरुत्साहनमा प्रतिवादीलाई सजायँ
पर्सा जिल्ला अदालतको न्यायधिश मोना सिंहको ईजलाशले ०८० पुस १७ गते कलामोदिनको कर्तव्य ज्यान मुद्धामा फैसला ग¥यो । जसमा प्रतिवादीहरुले मारेको नभई रविनालाई आत्महत्या गर्नुपर्ने सम्मको परिस्थिति सृजना गरेको ठहर अदालतले गरेको छ । उनीहरु विरुद्ध अदालतले मुलुकी अपराध संहिता २०७४ अनुसार जरिवाना तथा दण्ड सजायको फैसला गरेको छ ।
मृतकको बुवाले कर्तव्य ज्यानमा जाहेरी दिएको भएतापनि घटना आत्महत्या दुरुत्साहनको भएको भन्ने स्थापित भएको र मृतकलाई गम्भिर प्रकृतिको चोटपटक लाग्ने गरी कुटपिट यातना दिएको नदेखिएको अदालतले गरेको फैसलामा उल्लेख छ । तर कुटपिट यातना दिने, दाइजोको विषयलाई लिएर गाली गलौज गरी, शारीरिक, आर्थिक र मानसिक हिंसा गर्ने गरेको पाईएको उल्लेख छ ।
जिल्ला अदालतले साहजिमलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, नुरजहा र सफिना भन्ने मोफिना खातुनलाई जनही ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा जाहेरवाला कलामोदिनलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराईदिन आदेश गरेको छ ।
जिल्लाको फैशला विरुद्ध पूनरावेदन, हिम्मत टुट्दै
जिल्ला अदालतले गरेको फैसला प्रति कलामोदिन असन्तुष्ट छन् । कर्तव्य ज्यान मुद्धा दायर गरेकोमा अदालतले आत्महत्या दुरुत्साहनमा फैसला गरेपछि अचम्म लागेको उनी बताउँछन् । जिल्ला अदालतको फैसला विरुद्ध कलामोदिन ०८० चैत १२ गते उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्ज गएका छन् ।
कलामोदिनले काम पाएको दिनमा १ हजार रुपैयाँ ज्याला पाउँछन् । छोरीको मृत्यु पछि मुद्धा मामिलामा समय दिनुपर्दा उनले राम्रोसँग काम गर्न पाएका छैनन् । ‘घरमा श्रीमती, आमासँगै तीन छोरी र एक छोरा छन् । एक्लैले कमाएर जहान परिवार पाल्नुपर्छ । काठमाडौं, वीरगञ्ज र बहुदरमाई आउ जाउ गर्दा यातायात, खाना र बास खर्च गरेर ४ लाख रुपैयाँ खर्च भइसकेको छ ।’
उनी गरिबलाई अदालतबाट न्याय पाउन मुश्किल रहेको बताउँछन् । ‘कर्तव्य ज्यान मुद्धा दर्ता गरेको छु, आत्महत्या दुरुत्साहन भनेर फैसला गर्छन्, अब अदालतबाट न्याय पाउने आश मर्न थालेको छ ।’ कलामोदिनले भने । ‘गरिबलाई न्याय मिल्न गाह्रो देखियो ।’ उनी नेपालमा ‘धनीलाई चैन गरिबलाई ऐन’ त्यसै भनिएको होइन रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताउँछन् ।
Discussion about this post