दाईहरु बालकृष्ण (जेठो) र ईश्वर (माइलो) स्कुल जान्थे । बुवाआमा घरखेतको काममा व्यस्त, घरमा म एक्लै पर्थे । विद्यालय जादाँ खेल्ने साथी भेटिन्थे । त्यसैले माइलो दाइसँगै म स्कुल जान थालें । प्राथमिक तहमा सीता मिसले माया गरेर पढाएको, स्व. गुरु सरले चित्र बनाउन सिकाएको अनि भोजराज सरले ‘गणेश तिमी लड्डु खाएर बस, मलाई एउटा सुन्ना सापटी देउ’ भन्दै घटाउ सिकाएको आजसम्म ताजै छन् । हामी सबै गुरु सर भन्थ्यौं । उहाँको नाम हामीलाई कहिल्यै थाहा पाएनौं । विवाह भईसक्दा पनि सीता मिस हाम्रो लागि मिस नै हुनुहुन्छ ।
ठूलो दाई घरमा खुबै मेहनत र लगनका साथ पढ्नुहुन्थ्यो । तर हामीमा त्यसको प्रभाव देखिन्नथ्यो । म र माइलो दाई माध्यमिक तह पुग्दासम्म पढाइमा गम्भिर थिएनौं । अहिले सोच्दा ‘किन पढ्ने ?’ ‘पढेर के हुन्छ ?’ भन्ने प्रश्न हामीमाथि हाबी थियो जस्तो लाग्छ ।
नेपाली किताबको कथाहरु भने मलाई खुबै मन पर्थे । दाईहरुको नेपाली किताब पहिले नै पढेर सकिसक्थे । अरु विषयले ध्यान तान्दैनथ्यो । स्व. शेषराज सरले अँग्रेजीमा पढेको भनेर सारै रुची लाग्ने गरी बेला बेलामा कथा सुनाउनुहुन्थ्यो । सरले सामाजिक शिक्षा पढाउनु हुन्थ्यो, माया गर्नुहुन्थ्यो तर किन हो कुन्नी उहाँसँग सधैं डर लाग्थ्यो । सीता मिस र स्व. शेषराज सरले माया गर्नुहुन्थ्यो, त्यसैले उहाँहरुको सामुन्ने उपद्रो गर्ने आँट आउँदैनथ्यो । थप माया पाउने लोभले उहाँहरुले पढाउने विषयमा राम्रो गर्ने मन लाग्थ्यो । पछि माथिल्लो कक्षामा चढेपछि स्व. शिव नारायण चौधरी सर (चौधरी सर) सँग त्यस्तै महशुस भयो । सर ठूला कक्षाका विद्यार्थीलाई साथी जस्तै ब्यवहार गर्नुहुन्थ्यो ।
हामी कक्षा ६ मा हुँदा कक्षा १० को जिल्ला स्तरिय परीक्षामा सबै अग्रजहरु अंग्रेजी विषयमा फेल भएछन् । यो निकै चर्चाको विषय बन्यो । अंग्रेजी विषय अलि गाह्रो हुँदो रहेछ, त्यो विषय जानियो भने जान्ने भईदो रहेछ भन्ने भयो । त्यसैले अंग्रेजी ब्याकरण र शब्दावलीमा रुची राख्थे । अंग्रेजीमा काल (Tense), पुच्छ्र्रे प्रश्न (Tag Question) र वाच्य (Voice) अलि अलि जानेपछि सहनी सरले माया गर्नुहुन्थ्यो । माथिल्लो कक्षामा बोलाएर प्रश्न सोधिदिँदा गजक्क परिन्थ्यो ।
कक्षा ८/९ पढ्ने बेलासम्म पाठ्यक्रमको किताब पढ्न भन्दा फुटबल खेल्न साह्रै रुची । स्कुल र गाउँको समूह बनाएर समय मिलेसम्म फुटबल खेलिन्थ्यो । शिव नारायाण सरको आगमन पछि विद्यालयमा खेलकुद फष्टाएको हो । त्यसै समयमा अग्रज दाईहरुले ‘तन्नेरी समूह नेपाल’ नामको गैर सरकारी संस्था खोल्नु भएको थियो । तन्नेरी समूहबाटै गाउँमा पारिजात स्मृति पुस्तकालय खोलेका थिए । दाईहरुले पुस्तक र पत्रिकाहरु संकलन गरिदिएका थिए । हामीले तिहारमा देउसी,भैलो खेलेर र सदस्यता शुल्कबाट जम्मा गरेको कोषबाट थप पुस्तकहरु किनेका थियौं । पाठ्यपुस्तक पढ्न मन नलागे पनि पुस्तकालयमा उपलब्ध भएका मुना, मधुपर्क, सामान्य ज्ञान तथा अन्य कला, भाषा, साहित्य, जीवनी र ज्ञानवद्र्धक पुस्तक र पत्रिकाहरु भने पढेर भ्याइन्थ्यो । अहिले लाग्छ, त्यतिबेला खगेन्द्र संग्रौला, विश्वेश्वर प्रसाद कोइरालादेखि पारिजातसम्मको पुस्तकहरु के कत्ति बुझेर पढियो होला ?
१० कक्षा पुगेपछि SLC को लागि पढ्नुपर्छ भन्ने दवाव थियो, तर ५/६ महिनासम्म पनि अंग्रेजी विषयको शिक्षक आएनन् । हुन त, ९ कक्षाको बीचतिरबाट नै अंग्रेजी विषयका शिक्षक आउन छोड्नुभएको थियो । नियमित पढाई हुन सकिरहेको थिएन । अति भएपछि हामी विद्यार्थीहरु मिलेर विद्यालयमा तालाबन्दी गरेर विरोध प्रदर्शन गर्दै शिक्षक माग गरेका थियौं । त्यसपछि बल्ल करारमा अंग्रेजी शिक्षक नियुक्ती गरियो । अंकुर गौतम सरले अंग्रेजी बुझ्ने गरी पढाउनुहुन्थ्यो । अंग्रेजी व्याकरणको निकै अभ्यास गराउनुभयो । त्यसको नतिजा SLC मा देखियो । हाम्रो ब्याचले SLC मा अंग्रेजी विषयमा तुलनात्मक रुपमा राम्रो गरेका थियौं, व्यक्तिगत रुपमा मेरो त झन अरु विषयमा भन्दा अंग्रेजीमा धेरै नम्बर आयो । लामो समयसम्म अंग्रेजीे विषय पढाई नहुँदा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र स्थानीय अभिभावक किन गैर जिम्मेवार भएर बसेका होलान् ? भन्ने प्रश्न मेरो मनमा आजसम्म पनि खेलिरहन्छ ।
प्रथम श्रेणिमा एसएलसी पास हुँदा ठूलै युद्ध जिते जस्तै लाग्यो । गाउँमा त्यतिखेर एसएलसी पास हुनु नै धेरै ठूलो कुरा मानिन्थ्यो, त्यसमाथि प्रथम श्रेणीमा । अलि दिन मख्ख परेर बसियो । वि.स. २०५७ सम्म हाम्रो ब्याचका २ जना समेत गरी विद्यालयबाट प्रथम श्रेणीमा पास गर्नेको संख्या बल्ल ५ जना पुगेको थियो । प्रथम श्रेणीको प्रमाण पत्रले उच्च शिक्षामा विज्ञान विषय पढ्न तिर डो¥यायो । त्यतिबेलाको आर्थिक स्थिति खासै मजबुत थिएन । नीजि शैक्षिक संस्थामा पढ्न सक्ने अवस्था थिएन । तसर्थ पाटन संयुक्त क्याम्पसमा आइएस्सी भौतिक शास्त्र संकायबाट अध्ययन सुरु गरें ।
विद्यालय तहको पुरानो पाठ्यक्रम र आइएस्सी तहको पाठ्यक्रमबीच आकाश जमिनको अन्तर थियो । मलाई पढाई निकै कठिन भईरहेको थियो । मैले आइएस्सी शुरु गर्ने बेलामा ठूलो दाईले पुल्चोक क्याम्पसमा ईन्जिनियरिङको स्नातक तहको पढाई थालिसक्नु भएको थियो । तसर्थ दाई र दाईको साथीहरुबीच पढ्ने माहोल राम्रै थियो । अब भने पढ्नुपर्ने रहेछ भनेर लाग्न थाल्यो । दाईहरुले ईन्जिनियरिङको प्रवेश परीक्षा तयारीको लागि संकलन गरेको किताबहरु कोठामा थियो । त्यसैले विज्ञान विषयको तुलनात्मक रुपमा महँगो किताबहरु पनि सहजै उपलब्ध भयो । तर सरकारी क्याम्पसको हाल बेहाल थियो, अन्तिम परीक्षा आउने बेलासम्म आधा पनि पढाई नहुने ।
प्रायः साथीहरु बाहिर कोचिङ वा ट्युसन पढ्न नीजि शिक्षण केन्द्रमा जान्थे । प्रयोगात्मक कक्षाको लागि मात्रै क्याम्पस आउँथे । मलाई त्यो महशुस हुँदासम्म निकै ढिला भईसकेको रहेछ । पाठ्यक्रम आधा पढाई नहुँदै अन्तिम परीक्षाको तालिका आइसकेको रहेछ । जसोतसो परीक्षाको तयारी गरिरहेको भएपनि मन निक्कै आत्तिएको थियो । त्यसैबेला एक जना ईन्जिनियरिङ विषय पढ्न प्रवेश परीक्षाको लागि पटक-पटक प्रयासरत दाइसँग कुरा भयो । जेनतेन आइएस्सी पास गर्नुको औचित्य छैन भन्ने निष्कर्समा म पुगें । दाइहरुसँग सल्लाह गरें । पहिलो बर्षको पढाई दोहो¥याउँछु भनेर परीक्षा नै दिइन् । यो पटक भने जीव विज्ञान मेरो रोजाई बन्यो ।
कक्षामा अरु थुप्रै दोहोर्याएर पढ्न आएका साथीहरु भेट्दा मन ढुक्क भयो । म मात्रै होइन रहेछु भन्ने भएपछि अलि ढुक्क भएको थिएँ सायद । हामी सबैको कथा मिल्दो जुल्दो पनि थियो । अब पढाई बल्ल अलि सहज लाग्न थाल्यो । आइएस्सीको पहिलो बर्षको परीक्षामा पाटन संयुक्त क्याम्पसबाट परीक्षा दिनेहरु मध्ये सबैभन्दा धेरै नम्बर आयो । हौसला थपियो र मेहनत गर्ने जाँगर पनि । दोस्रो बर्षको परीक्षामा पनि पहिलो भएँ । दोहोर्याएर आइएस्सी पढ्ने निर्णयले त्यतिबेला केहि समयसम्म मानसिक तनाब दिएको हो, तर अहिले फर्केर हेर्दा त्यो महत्वपूर्ण र सही समयमा गरिएको सही निर्णय हो भन्न मलाई द्विविधा लाग्दैन ।
आइएस्सीको पढाई पछि के पढ्ने ? भन्ने अलमल भयो । चिकित्सा विज्ञानको लागि प्रवेश परीक्षा दिने भनेर तयारी थालेको थिएँ । त्यहि बेला काइलो मामा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर भई वीर अस्पताल भर्ना गर्नुप¥यो । उहाँको होस आइरहेको थिएन । जसले गर्दा मामाको अस्पताल बसाइ निकै लामो भयो । माइजुलाई साथी बस्न र पालो दिन हामीहरु पालै पालो जान्थ्यौं । अस्पताल भित्रको वातावरण देखेपछि चिकित्सा पेशामा रमाउन सक्छु जस्तो पटक्कै लागेन । हुन त इच्छा लाग्दैमा पनि त्यो बाटो सहज थिएन ।
चिकित्सा विज्ञान पढ्न सरकारी कोटामा नाम निकाल्न निकै कठिन थियो । निजी कोटामा पढ्नु आर्थिक हिसाबमा कल्पना बाहिरको कुरा । दाइहरुसँगको सल्लाहमा रामपुर कृषि क्याम्पसमा प्रवेश परीक्षा दिन गएँ । पहिलो पटकमै कृषि संकायमा सरकारी कोटामा नाम निस्कियो । कृषि विज्ञान विधामा स्नातक तहको पढाई शुरु भयो । पहिलो दुई बर्षको पढाई सुन्दर बजार, लम्जुङ र बाँकी दुई बर्ष रामपुर, चितवन गरेर स्नातक तहको पढाई पुरा भयो । अन्य सरकारी शैक्षिक संस्था झै विद्यार्थी मात्रै नभई कर्मचारी र प्राध्यापकसम्मको अनावश्यक राजनीतिले नराम्रोसँग गिजोलिएको थियो कृषि क्याम्पस । विभिन्न बहानामा क्याम्पस बन्द भइरहन्थ्यो । सिकाइको विधि पनि अन्य शैक्षिक संस्थामा झै सिक्नको लागि भन्दा पनि सके जति राम्रो नम्बर ल्याएर परीक्षा पास गर्नमै सिमित थियो ।
पारिजात स्मृति पुस्तकालयका कारण बसेको पढ्ने बानीले आइएस्सीको साथै स्नातक तहको पढाईलाई निकै सघाएको थियो । परीक्षा नजिकिदै जाँदा दिनको १५/१६ घण्टा मज्जाले पढ्न सकिन्थ्यो । पढाईलाई माहोलले पनि प्रभाव पार्ने रहेछ । छात्रबासको बसाई नै त्यस्तै हुन्थ्यो । परीक्षा आउने केहि समय भन्दा अघिसम्म पढ्ने माहोल बन्दै नबन्ने । देशका विभिन्न भू–भागबाट कृषि पढ्न आएका प्रायः सबै विद्यार्थी छात्रबासमा नै बस्थे । राजनीतिक झै– झगडा बाहेक छात्रबासको बसाइ निकै रमाइलो हुन्थ्यो ।
लमजुङमा पढ्ने समयताका देशमा सशस्त्र द्वन्द्व ब्याप्त थियो । तसर्थ, यात्रा र बसाई केहि जटिल थियो । तत्कालिन राजा ज्ञानेन्द्र शाहले चालेको निरङ्कुश कदमको विरुद्ध २०६२/६३ सालको जनआन्दोलनमा लमजुङ क्याम्पसबाट हामी सक्रिय भएर लागेका थियौं । रामपुरमा पढ्ने बेलामा शैक्षिक भ्रमण अन्तर्गत पूर्वदेखि सुदुरपश्चिमसम्म नेपालको विभिन्न भाग घुम्ने अवसर मिल्यो । रमाइलो अनुभवसँगै चार बर्षे पढाई विशिष्ठ श्रेणीमा उतिर्ण गर्न सफल भएँ ।
स्नातक तहको पढाई सकेपछि स्नातकोत्तर तहको पढाई कुन विषय र कहाँबाट गर्ने भन्ने अर्को अन्योलको समय आयो । स्नातक तहको चौथो बर्ष पढ्दै गर्दा मेरो रुची कृषि अर्थशास्त्र तिर बढेको थियो । रामपुरमा कृषि अर्थशास्त्र पढाउने सर……..ले ‘सुरेन्द्र जी अब तपाई यहाँबाट स्नातकोत्तर नगर्नुस्, विदेशी विश्वविद्यालयमा प्रयास गर्नुस् । मैले पढेको विश्वविद्यालयमा कोशिस गर्ने हो भने मलाई थाहा दिनुस्, म तपाईलाई दृढताका साथ सिफारिस गर्छु ।’ भन्नुभयो । उहाँको आश्वासनले मलाई निकै हौसला मिलेको थियो । सर कृषि शिक्षाको लागि नाम चलेको गोविन्द बल्लभ पंत विश्वविद्यालयको स्वर्ण पदक विजेता हुनुहुन्थ्यो ।
एक मनले एक/दुई बर्ष कामको अनुभव लिएर मात्रै स्नातकोत्तरको पढाई शुरु गर्ने कि भन्ने लागेको थियो तर भन्ने वित्तिकै काम पाउन गाह्रो । फेरी त्यतिबेला अहिले प्लस टु गरेर विदेशिए जस्तै Graduate Record Examinations सक्काएर विदेश पढ्न जाने लहर आएको थियो र म पनि त्यही लाइनमा लागे । एउटा रमाइलो अनुभव विदेशी विश्वविद्यालयमा निवेदन दिनका लागि सबै परीक्षा सक्काएर विश्वविद्यालय खोज्दै थिए । त्यत्तिनै खेर एउटा प्रोजेक्टको लागि छोटो समयको जागिर खुलेको रहेछ । मैले आवेदन दिएर अन्तर्वाताको लागि गएँ । अन्तर्वाता लिने क्रममा एक जना सरले मेरो कागजातहरू हेर्दै ‘पढ्नु पर्ने मान्छे किन जागिर खान आएको ?’ भनेर हप्काएकै शैलीमा सोध्नुभयो । डराउँदै मसिनो स्वरमा ‘तयारी गर्दैछु सर’ भनें । अन्र्तवार्ता भयो । सफल पनि भएँ । त्यहि कामको शिलशिलामा रोल्पा र दाङ जिल्लाको दुर्गम ठाउँहरु पुगें । ती यात्राहरुले माओवादीको सशस्त्र द्वन्द्व किन त्यति चर्किन सक्यो होला भन्ने प्रश्नको उत्तर खोज्न सजिलो बनायो । आजका दिनमा सशस्त्रद्वन्द्वबाट माथि उठेकाहरुको जीवन शैली हेरेपछि ती ठाउँका आम सर्वसाधरणको जीवन शैली कस्तो होला ? प्रश्न मनमा उठ्छ ।
विदेशी विश्वविद्यालय खोज्नुको साथै म एक जना विद्यावारीधी गर्दै गर्नु भएका विद्यार्थीलाई अनुसन्धानमा सघाउँदै थिएँ । त्यो एक हिसाबले सिक्ने अवसर पनि थियो । अनुसन्धानमा भएको संलग्नताले मेरो थप अध्ययनको रुची परिवर्तन भयो । मलाई जैविक फोहोर व्यवस्थापन र कृषिलाई जोड्ने प्रभावकारी प्रविधि तिर रुची बढ्यो । अनुसन्धान गर्ने समूह खोज्दै गर्दा अमेरिकाको हवाई विश्वविद्यालयमा निवेदन दिए । सन् २०१० मा अमेरिकाको हवाई विश्वविद्यालयमा स्नातकोत्तर तहको पढाईको लागि Research Assistantship पाएपछि Molecular Biosciences and Bioengineering विधामा स्नातकोत्तर मात्रै नभई विद्यावारीधीसम्मको पढाई पुरा गरें ।
हवाई आएपछि शुरुका दिनहरु फरक रुपले संघर्षमय रह्यो । एकै पटक सामाजिक, सांस्कृतिक र प्राविधिक रुपमा भिन्न परिवेशमा आईपुगेको थिँए । त्यसमाथि पढाईको विषय र परिवेश पनि फेरिएको थियो । स्कुलमा हुँदा हावी भएको किन पढ्ने ? पढेर के हुन्छ ? भन्ने मात्रै होइन असलमा पढाई के हो ? किन महत्वपूर्ण छ ? भन्ने उत्तरहरु मिल्दै थियो । पढाईहरु बढी अनुसन्धानमा आधारित थियो । पाठ्यक्रममा भन्दा अनुसन्धानमा निक्कै व्यस्त रहनुपर्ने । आफ्नो रुची र अनुसन्धानसँग सम्बन्धित पाठ्यक्रमहरु छानेर पढ्न पाइने । परीक्षामा राम्रै गर्थे । तर नेपालमा हाम्रो पढाई अनुसन्धानमा आधारित थिएन । अनुसन्धानगत स्वभाव विकास गर्न निकै नै संघर्ष गर्नुप¥यो र सिकाई अझै जारी छ । मुख्यगरी अनुसन्धान जीवन उपयोगी कुराहरु पत्ता लगाउन वा आधारभूत ज्ञानहरु विकास गर्न केन्द्रित हुन्छन् ।
मेरो अनुसन्धान मुख्य गरी Environmental Engineering देखि Agricultural Engineering/Sciences का आधुनिक प्रविधीहरु देखि आधारभूत ज्ञानका विविध पक्षहरुमा केन्द्रित छन् । यही बिषयहरुमा आफूले जानेको र पत्ता लगाएका कुराहरु विभिन्न Scientific Journals र पुस्तकहरुमा प्रकाशित गर्दै आएको छु । प्रायः अनुसन्धानहरु सामुहिक रुपमा पूर्ण हुन्छन् । एउटा अनुसन्धान पत्रले अनुक्रमिक रुपमा के ?, किन ?, कसरी ?, के नतिजा आयो ? किन आयो ? त्यसको मतलब के हो ? जस्ता प्रश्नहरुको स्पष्ट र भरपर्दो रुपमा उत्तर दिनुपर्ने हुन्छ । स्नातकोत्तरको पढाईदेखि आजको दिनसम्म कुनै न कुनै रूपमा अनुसन्धानमा नै अनुबन्धित भईरहँदा दैनिकीहरु यस्तै प्रश्नहरुको वरिपरी बितिरहेको छ । स्नातक तहदेखि स्नातकोत्तर र विद्यावारीधी गर्दै गरेका विद्यार्थीहरुलाई पनि तिनै प्रश्नहरुको उत्तर खोज्न सिकाउँदैछु । आफ्नो विशेषज्ञता भएको बिषयहरु विश्वविद्यालयमा पढाउनुको बेग्लै मज्जा पनि छ । सँगसँगै अनुसन्धान समूहमा एक ब्याचमा एक जना नेपाली विद्यार्थीलाई यसै विश्वविद्यालयमा स्नातकोत्तर वा विद्यावारीधी अध्ययनको लागि च्भकभबचअज ब्ककष्कतबलतकजष्उ सहित अवसर पनि मिलाउँदै आएका छन् ।
हवाईमा सिक्ने सिकाउने क्रममा विभिन्न देश र ठाउँहरु घुम्न पाइन्छ । विभिन्न व्यक्तिहरुसँग अन्तरक्रिया गर्न पाउनु सिकाई र व्यक्तित्व विकासको लागि पक्कै पनि कोशेढुङ्गा भएका छन् । अनुसन्धानकै क्रममा जर्मन सरकारको फेलोशिपमा जर्मनीको University of Hohenheim मा आठ महिना अनुसन्धान गर्ने अवसर पाएँ । बेलायतको Energy Research Centre को फेलोशिपमा WARWICK विश्वविद्यालयमा संसारभरीबाट छानिएर विद्यावारीधि गर्दै गरेका विद्यार्थीहरुसँग समय बिताउने अवसर मिल्यो । सिक्नका लागि यस्ता अवसरहरुको छुट्टै महत्व छ । साथमा स्विजरल्याण्ड र फ्रान्स जस्ता मुलुकहरु घुम्ने अवसर पनि पाएको छु । अनुसन्धान सम्बन्धित सम्मेलनहरुमा भाग लिन विश्वविद्यालयकै खर्चमा क्यानाडा, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकाको विभिन्न ठाउँमा भुमे । घुमाई मात्रै नभएर यी अवसरहरु आफूले गरेका कामको बारेमा बताउने र अरुले गरेका काम सिक्न लाभदायक बनेका छन् । सिक्ने र सिकाउने यात्रा जारी छ अनि आजको दिनसम्म यसैमा रस बसेको छ । प्रविधिमा भएको द्रुततर विकासले अनुसन्धानमा संलग्न विश्वका विभिन्न विश्वविद्यालय र सस्थाहरुसँग मिलेर विभिन्न अनुसन्धानको कामहरु गर्न सहज भएको छ ।
नेपालमा Gobal Institute for Interdisciplinary Studies सँग अनुसन्धानकर्ताको रुपमा आबद्ध छु । विश्वविद्यालयमा भन्दा निजी कम्पनीमा काम गर्नु आर्थिक हिसाबले निक्कै लोभलाग्दो हुन्छ । अर्को तर्फ फर्किएर नेपालमै काम गर्ने इच्छा विविध कारणले अहिलेसम्म पुरा हुन सकेको छैन । श्री स्वच्छन्द भैरब माध्यामिक विद्यालयबाट सुरु भएको शैक्षिक यात्रा अझै जारी नै छ । सुरुवाती दिनहरुमा अक्षर चिनाइदिनु हुने गुरु गुरुआमाहरुदेखि विश्वविद्यालयसम्मका औपचारिक र अनौपचारिक शिक्षक शिक्षिकाहरुमा आभारी छु ।
बाल्यकालमा जस्तै अहिले पनि पढ्न लेख्न भन्दा फुटबल खेल्न र हेर्न नै औधी मन पर्छ । त्यसैको प्यास मेट्न सप्ताहन्तमा विभिन्न देशका साथीहरु जम्मा भएर नियमित रूपमा फुटबल खेल्ने गर्छौ । सोच्छु एक पटक पहिलेकै साथीहरुसँग स्कुलको चौरमा फुटबल खेल्न पाए कस्तो हुँदो हो ? फुटबल खेल्दा जति रमाइलो लाग्ला, त्यो भन्दा बढी हसिँलो अनुहारका चौधरी सर सम्झनामा आउनुुहुनेछ ।
श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको स्मारिकामा प्रकाशित लेखको सम्पादित अंश
Discussion about this post