वीरगञ्ज,
वीरगञ्ज महानगरपालिका सुखचैना स्थित गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा ‘रुपान्तरण’ कार्यक्रम मार्फत सञ्चालित कक्षाको अवलोकन गरिएको छ । युनिसेफ नेपालको जनकपुर कार्यालयमा कार्यरत बाल संरक्षण अधिकृत कामदेव खनाल सहितको टोलीले कक्षा अनुगमन गरेको हो ।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले युनिसेफ नेपालसँगको सहकार्यमा सुखचैना स्थित विद्यालयमा रुपान्तरणका कक्षा सञ्चालन गरिरहेको छ । रुपान्तरणको कक्षा सञ्चालन गर्न ५ दिनको तालिम लिईसकेका ४ जना साथी शिक्षक (विद्यालयकै विद्यार्थी) ले छुट्टाछुट्टै समूहमा कक्षा सञ्चालन गर्दै आईरहेका छन् । शुक्रबार साथी शिक्षक नन्दनी कुमारी शर्माले पोषणको बारेमा कक्षा सञ्चालन गरेकी थिईन् । उनले सन्तुलित भोजन खानुपर्ने बताउँदै अन्तरपुस्ता पोषण र कुपोषण चक्र बारे जानकारी गराईन् ।
‘शरीरलाई विभिन्न पोषकतत्व आवश्यक पर्छ, त्यो सन्तुलित भोजनबाट मात्रै मिल्छ ।’ उनले भनिन्, ‘सागपात, फलफुल, माछामासु, अन्न, गेडागुडीको सन्तुलन मिलाएर खानुपर्छ ।’
रुपान्तरणका ४० वटा कक्षा मध्ये उनले ६ वटा कक्षा लिईसकेकी थिईन् । सहभागी विद्यार्थीले आत्मजागरण र मेरो संसार भन्ने विषय महत्वपूर्ण लागेको बताएका थिए । आत्मजागरणमा आफूले आफैंलाई चिन्न सिकाउने र मेरो संसारमा आफूसँगै परिवार, नातेदार र समुदायको महत्वबारे बुझाउने उनीहरुको भनाई थियो ।
कक्षा अवलोकन पछि बाल संरक्षण अधिकृत खनालले राम्रोसँग कक्षा सञ्चालन गरेको धन्यवाद दिँदै अझै राम्रो बनाउन सुझाव पनि दिए । उनले विद्यालयमा गुनासो सुनुवाई कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
गुनासो पेटिकामा गुनासो लेखेर राख्नु भनेको विद्यार्थीले सहयोग मागेको भनेर बुझ्नुपर्ने उनको भनाई छ । ‘ सेनेटरी प्याड छैन, प्याड फाल्ने ठाउँ छैन, कक्षामा साथीले हैरान पार्छ, शिक्षकले पढाउँदैनन्, गुट्खा र खैनी खाएर जथाभावि थुक्नुहुन्छ, शौचालयमा पानी छैन, साबुन छैन भनेको प्रधानाध्यापक, शिक्षक वा विद्यार्थी साथी विरुद्ध उजुरी गरेको हैन ।’ उनले भने, ‘आफू समस्या परेको छु भनेर सहयोग मागेको हो । त्यसको प्रभावकारी ढंगले समाधान गरिदिनुपर्छ ।’
शिक्षक अर्जुन यादव र उषा बाँस्कोटाले गुनासो पेटिकामा गुनासो राख्न सबै विद्यार्थीलाई आग्रह गरिएको बताए । उनीहरुले विगतमा गुनासो आउने गरेकोमा पछिल्ला दिनमा गुनासो नआएको जानकारी दिए ।
Discussion about this post