नाटकमा विभिन्न पात्रको भूमिका निभाएका बालबालिकाले साउण्ड सिस्टम गतिलो नहुँदा नाटक मञ्चन गर्न समस्या भएको गुनासो गरेका थिए । नाटक मञ्चनका लागि ‘ह्याण्ड माइक’ भन्दा ‘हेड माइक’ प्रभावकारी हुने उनीहरुको भनाई छ ।
वीरगञ्ज,
वीरगञ्ज महानगरपालिका–३१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सोलखपुरका बालबालिकाले सडक नाटक प्रदर्शन गरेका छन् । शुक्रबार विद्यालयको खेल मैदानमा उनीहरुले सचेतनामूलक नाटक प्रदर्शन गरेका हुन् ।
विद्यालयमा अध्ययनरत बालबालिकाले शिक्षकको सहयोगमा नाटक तयार गरी मञ्चन गरेका थिए । बालविवाह गर्न खोज्दा स्थानीय पालिका तथा प्रहरी प्रशासन मिलेर रोकेको तथा बालविवाहले व्यक्ति र परिवारमा भएको क्षतिको विषयबस्तु नाटकमा समेटिएको थियो । युनिसेफ नेपालको जनकपुर कार्यालयमा कार्यरत बाल संरक्षण अधिकृत कामदेव खनाल लगायतको टोलीले नाटकको अवलोकन गरेका थिए ।
नाटकमा विभिन्न पात्रको भूमिका निभाएका बालबालिकाले साउण्ड सिस्टम गतिलो नहुँदा नाटक मञ्चन गर्न समस्या भएको गुनासो गरेका थिए । नाटक मञ्चनका लागि ‘ह्याण्ड माइक’ भन्दा ‘हेड माइक’ प्रभावकारी हुने उनीहरुको भनाई छ । स्क्रिप्ट तयार गरी दुई दिनको अभ्यासमा नाटक प्रदर्शन गरिएको उनीहरुले बताए ।
बाल संरक्षण अधिकृत खनालले राष्ट्रिय बाल दिवस, अन्र्तराष्ट्रिय बाल दिवस, मानव अधिकार दिवस लगायतका अन्य अवसरमा पनि नाटक मञ्चन गरेर प्रतिभालाई निखार्न आग्रह गरे । उनले बालबालिकाको प्रतिभालाई उजागर गर्न युनिसेफले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
‘विद्यार्थी भाईबहिनीहरुको पहिलो प्राथमिकतामा पढाई हुनुपर्छ, सँगसगै समय मिलाएर अतिरिक्त क्रियाकलापमा सहभागी हुने हो ।’ उनले भने, ‘अतिरिक्त क्रियाकलापको रुपमा नाटक प्रदर्शन गर्न सकिन्छ भने राम्रो हुन्छ । यस्ता क्रियाकलापले भाईबहिनीहरुमा आत्मविश्वास बढाउँछ ।’
विद्यालयका प्रधानाध्यापक लगायत अन्य शिक्षकले पनि विद्यार्थीले प्रदर्शन गरेको नाटकको अवलोकन गरेका थिए ।
तस्वीरहरु
Discussion about this post