काठमाडौं,
नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान तथा निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या हुन् ।
समस्या पहिचान गर्ने क्रम वि.स.२०८० असोज महिनाबाट सुरु भएको थियो । पानीको निकास सम्बन्धी समस्या पत्ता लागेपछि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) स्थलगत अवलोकनका लागि गएका थिए ।
वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन महत्वपूर्ण काम भईरहेको छ । उनका अनुसार यसबाट ढुङ्गेधाराको संरक्षणसँगै जल सम्पदाको पुनरुत्थान हुनेछ ।
हिति पुनरुत्थान भन्दै संरचना मात्रै बनाएर हुने थिएन, समस्या पत्ता लगाएर समाधानको बाटो पहिल्याउनु पनि थियो । हिति संस्कृतिको बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत अध्ययन र अभिलेखबाट पूर्वावस्थाको विश्लेषण गरिएको थियो । पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको पत्ता लागेको थियो ।
‘ निकास थुन्ने हरेक घरधुरीलाई २ लाख रुपैयाँका दरले जरिवाना तिरायौं, सोही रकमबाट निकास खोलिसकेका छौं ।’ मेयर शाहका सचिवालय सदस्य विनय शाक्यले भने, ‘अब काम मुहान खोज्छौं सँगसँगै भौतिक पूर्वाधार पुनरुत्थान गर्छौ ।’
धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा उल्लेख छ । ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ । ढुङ्गेधाराको पानीको मुहान सुकेको छ ।’
अभिलेखमा ‘समय समयमा सरसफाई गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनी सुझाव समेत दिईएको छ । ४० बर्षअघिदेखि पानीको निकास बन्द हुने क्रम शुरु भएको अभिलेखबाट स्पष्ट हुन्छ । वडा नं. १ का वडा सचिव सर्वज्ञराज पौडेल भन्छन्, ‘ढुङ्गेधारा भएपनि यो ठाउँमा पानी जमेर पोखरी जस्तो र फोहोर जम्मा हुने स्थानको रुपमा परिणत थियो । अब हामी यसलाई ढुंगेधाराकै रुपमा विकास गर्न लागि परेका छौं ।’
विभागले अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए नभएको बारे भने केहिपनि उल्लेख गरेको छैन । ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमूनाको रुपमा रहेको यो गाहिटि (ढुङ्गेधारा) को रुपमा मात्र नभइ उमामहेश्वर एवं प्राचीन शिवलिङ्ग स्थापना भएको धार्मिक पुण्य स्थलका रुपमा कायम रहँदै आएको थियो ।’ भनिएको छ । हितिको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ उल्लेख गरिएपनि धार्मिक स्थलका रुपमा यहाँ कस्ता क्रियाकलाप वा संस्कार हुन्थे भन्नेबारे अभिलेखामा जानकारी नरहेको महानगरले जनाएको छ ।
अभिलेखमा स्मारकको बारेमा पनि उल्लेख छ । ‘ढुङ्गेधाराका मुखलगायत चतुर्मुखी शिवलिङ्ग, चतुव्र्युह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवं गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्विक महत्व भएकोले धार्मिक सहअस्तित्वका दृष्टिले महत्वपूर्ण रहेको छ ।’
ढुंगेधारा तथा स्मारकका सन्दर्भमा अनुसन्धान गर्दा जलसम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको छ ।
ढुङ्गेधाराको पुनरुत्थानका लागि सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकारका अनुसार धनबज्र बज्राचार्यले ढुङ्गेधाराको इतिहासका सम्बन्धमा उल्लेख गर्दा यो ढुंगेधारा वि. सं. ६७८ मा स्थापना भएको बताएका छन् । ‘पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो । मंगाल खोज्ने क्रममा एक जना व्यक्तिको मंगालभित्रै मृत्यु भयो, त्यसपछि कुनै प्रयास हुन सकेन । अहिले आएर सह्रानीय काम भएको छ ।’ ताम्राकारले भने ।
यसपटक सफाइका लागि जेट मेसिन प्रयोग गरिएको थियो । त्यसबाट परिणाम नआएपछि मानवीय स्रोतको प्रयोग गरेर निकास खोलिएको, सचिवालय सदस्य शाक्यले बताए ।
Discussion about this post