वीरगञ्ज,
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५ औँ नगरसभामा २ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरिएको हो ।
महानगरको बजेट चालु आर्थिक वर्षको भन्दा ६२ करोड कम आएको छ । चालु आर्थिक वर्षको बजेट संसोधनपछि पछि ३ अर्ब ५१ करोड रहेको छ । मेयर राजेशमान सिंहको अध्यक्षतामा भएको नगरसभामा उप–प्रमुख इम्तियाज आलमले बजेट प्रस्तुत गरेका थिए ।
चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पच्चिस प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजश्व असुलीमा आएको सङ्कुचनले गर्दा राजश्व बाँडफाँड घटेको, घर जग्गा कारोबारमा आएको मन्दीले गर्दा घरजग्गा रजिष्ट्रेशन आयस्रोत घटेकोले बजेटको आकार घटाउनु परेको उपमेयर आलमले बताए ।
यस्तै प्रदेश सरकारबाट आउने शशर्त अनुदान, बिशेष अनुदानका रकम प्राप्त हुन नसक्दा समग्रमा राजश्व परिचालन लक्ष्य अनुरुप हुन नसकेकोले महानगरले लक्ष्य अनुसार काम गर्न नसकेको उनको भनाई छ ।
वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने गरी विषेश कार्यक्रमहरु राखिएको उनले बताए । बजेटमा चालु खर्च २ अर्ब ४ करोड ६६ लाख ९ हजार अर्थात ७०.७ प्रतिशत छुट्याइएको छ भने पूँजीगत खर्च ८१ करोड १८ लाख ८ हजार अर्थात २८.०४ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तिय व्यवस्था तर्फ ३ करोड ६४ लाख अर्थात १.२६ प्रतिशत राखिएको छ ।
आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरू पनि पहिचान गरेको छ । मध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख लाख, संघीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।
त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरि बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
अधिवेशनमा महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरु सहभागी भएका थिए ।
पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस
Discussion about this post