वीरगञ्ज
वीरञ्ज महानगरपालिकाले ‘वैभव वीरगञ्ज’को परिकल्पना साकार पार्ने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको दावी गरेको छ ।
१५ औँ नगरपरिषदमा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत, समृद्द र वैभवशाली वीरगञ्ज निर्माण गर्ने संकल्प लिईएको छ । वीरगञ्जबसीको चाहाना बमोजिम वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने उल्लेख छ ।
‘वैभव वीरगञ्ज’ को परिकल्पनालाई साकार पार्न वीरगञ्जलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकसित गर्दै यहाँको ऐतिहासक तथा मौलिकतालाई ध्यानमा राखि नगरवासीको उत्कट चाहना बमोजिम वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्द बनाइनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै आगामी आर्थिक वर्षमा यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नृसिङ्ग मन्दिर र भुटनदेवी मन्दिर निर्माणको कार्य अगाडी बढाउने तथा अन्य मठ मन्दिरको आवश्यकता अनुसार पुनःनिर्माण र सौन्दर्यकरण गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।
पर्यटन प्रवर्द्धन आन्तरिक आय बृद्धिका लागि वीरगञ्ज १७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनिक हरित पार्क सहितको ताल निर्माण गर्ने, वीरगञ्ज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक निजी साझेदारि र दातृ निकायसँगको समन्वयमा आधुनिक हरित पार्क निर्माणको कार्यलाई अगाडि बढाउने जस्ता कार्यलाई प्राथमिकता दिएको छ ।
स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगञ्ज शहरको पहिचान स्थापित गर्दै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने कार्यमा सघाउने विश्वास लिएको मेयर राजेशमान सिंहले बताए ।
सिर्सिया नदीलाई पुरानै अवस्थामा फर्काउने
पर्यटन, सरसफाई, वन र वातावरण तर्फ महानगरले सिर्सिया नदीको दायाँबायाँ नक्सा बमोजिमको खोला क्षेत्र छुट्याई दुवै तर्फ सडक निर्माण गर्ने, वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्ने र सिर्सिया हरित करिडोर विकास कार्य अघि बढाउन सबै तहका सरकारसँग सहकार्य गर्ने जनाएको छ ।
तर वीरगञ्ज महानगरले सिर्सिया नदी सफा बनाउने यसअघिको प्रतिबद्धता नै पुरा गर्न नसकेको अवस्था छ । कर्मचारी पठाएर नदीको पानी सफा भएको भन्दै भिडियो बनाउन लगाएर मेयर स्वयंले शेयर गरेको भएपनि नदी सफा नभएको स्थानीय बताउँछन् ।
यो तथ्यलाई नीति तथा कार्यक्रममा पनि स्वीकार गरिएको छ । सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन उधोगहरुबाट निस्कने पानी प्रशोधन गरेर मात्र निकास गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिँदै सिर्सिया नदी प्रदुषण गर्ने उद्योगहरुलाई कानुनी कारवाहिको प्रकृयालाई निरन्तरता दिने उल्लेख छ ।
फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च तिर्नुपर्ने
स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगञ्ज बनाउन महानगरले शुरु गरेको सरसफाई अभियानलाई अझै कडाइका साथ लागु गरि जथाभावी फोहोर फाल्ने र फोहोर गर्ने व्यक्तिलाई जरिवाना तथा अन्य दण्ड सजाय गर्ने कार्यलाई निरन्तरता दिने, मुख्य सडकमा मात्रै नभई टोलटोल र गल्लीगल्ली सफाई हुने गरि जनशक्ति परिचालन गर्नुका साथै सचेत बनाउने कार्यक्रम संचालन गर्ने र त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने महानगरको नीति छ ।
वीरगञ्जलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था लागू गरी फोहोर व्यवस्थापनलाई अझै बढी चुस्त बनाउने, फोहोर व्यवस्थापनको लागि ल्याण्डफिल्ड साइटमा आधुनिक उपकरण जडान गरी वैज्ञानिक तवरबाट संचालन गर्ने व्यवस्था मिलाउने महानगरको लक्ष्य छ ।
खानेपानी समस्या समाधानका लागि स्रोत संरक्षण
पछिल्लो दुई वर्षमा वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा चरम खानेपानीको समस्या देखिएको छ । खानेपानी समस्या समाधानका लागि महानगरपालिकाले आवश्यक कदम चाल्न नसकेको जनगुनासो छ ।
तर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरले खानेपानी समस्यालाई प्राथमिकतामा राखेको छ । खानेपानी समस्या समाधान गर्न सार्वजनिक स्थानमा डिप बोरिङ गर्ने कार्यलाई निरन्तरता दिने, नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा पाइपलाइन विस्तार गर्ने कार्यलाई तिब्रता दिने, नगरका मुख्य स्थानहरु, सामुदायिक विद्यालय, नारायणी अस्पताल लगायतका ठाउँहरुमा ‘वाटर एटीएम’ प्रणाली स्थापना गर्ने बताईएको छ ।
त्यसैगरि पानीको श्रोत संरक्षण गर्न महानगरभित्रका पोखरी तथा पुराना ईनार र कुवाको संरक्षण गर्दै मर्मत सम्भार गर्ने, नेपाल खानेपानी संस्थान सँगको सहकार्यमा आर्थिक विपन्न परिवारको पहिचान गरि ४ हजार घरधुरीमा धारा जडान गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।
वन विनासका कारण भइरहेको जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न खाना पकाउन खपत भइरहेको दाउरालाई प्रतिस्थापन गर्न वन क्षेत्र आसपासका विपन्न परिवारलाई निशुल्क ग्याँस सिलिण्डर सहित चुल्हो वितरण गर्ने व्यवस्था मिलाउने महानगरले जनाएको छ ।
अन्य नीति तथा कार्यक्रमहरु यस्ता छन् ।
- विपद् जोखिम व्यवस्थापनका लागि दमकल कर्मचारी थप गर्दै वडा नं. ३१ मा दमकल शाखा स्थापना गरि ग्रामिण क्षेत्रमा दमकल र एम्बुलेन्स सेवा तत्काल पुग्ने व्यवस्था मिलाउने,
- महानगरको अधिनमा ल्याइएको अतिक्रमित सार्वजनिक जग्गाको संरक्षणका लागि घेराबार तथा वृक्षारोपण गर्ने कार्यलाई अघि बढाउने
- शहरलाई हरियाली बनाउन सडक पेटी, डिभाइडर तथा सार्वजनिक खाली जग्गामा बृक्षरोपण गर्ने, शहरी वन कार्यक्रम र निजी वनलाई प्रोत्साहन गर्ने
- आगामी आ.ब.बाट वातावरण प्रदुषण कर निर्धारण गरी कार्यान्वयनमा ल्याउने
- वीरगञ्ज बजारलाई थप चलायमान बनाउन र आर्थिक गतिविधिमा वृद्धि ल्याउन रात्री बजार र भोजपुरी कला मार्फत शहर सौन्दर्यीकरण गर्ने कार्यलाई निरन्तरता दिने
पूर्वाधार निर्माण तथा आर्थिक विकास
- वीरगञ्ज महानगरपालिका र विभिन्न निकायको समन्वयमा महानगरभित्रको खानेपानी, ढल तथा दिसाजन्य लेदो व्यवस्थापन गर्ने
- वीरगञ्ज–जितपुर–सिमरा करिडोरको व्यवस्थित निर्माणको लागि सरोकारवाला निकायसँग समन्वय गरि विस्तृत परियोजना निर्माणको कामलाई अघि बढाउने
- व्यवस्थित गोदाम, पार्किङ्ग र अन्य सुविधा सहित सार्वजनिक निजी साझेदारीमा ट्रान्सपोर्ट नगर निर्माणको प्रकृया अघि बढाउने
- सडक तथा फुटपाथमा विभिन्न निकायबाट निर्माण गरिने संरचनाहरुको निर्माण प्रारम्भ गर्नुपूर्व महानगरपालिकाको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान लागु गर्ने
- रानीघाट स्थित शवदाह गृहलाई थप व्यवस्थित बनाउँदै प्रदेश सरकारसँगको समन्वयमा यसै वर्षबाट विद्युतीय शवदाह गृह संचालनमा ल्याउने
- सडकहरुको मौलिक नामाकरण गरी घर नम्बर प्रणाली वितरणलाई प्रभावकारी बनाउने
- सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका अनधिकृत संरचना हटाई खुला क्षेत्रको रुपमा विकास गर्ने
- स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्दै रोजगारीको सिर्जना गर्न संघ र प्रदेश सरकार सँगको समन्वयमा वडा नं. ३१ मा ‘औद्योगिक ग्राम’ स्थापना गर्ने
- सहकारीको माध्यमबाट उत्पादनशील क्रियाकलापमा संलग्न नागरिकहरुको पूँजी संकलन तथा परिचालन गर्दै साना तथा स्वरोजगारका अवसर सृजना गरि गरिबी न्यूनिकरण गर्ने योजनालाई निरन्तरता दिने
- सहकारी संस्थाहरुको संस्थागत सुशासन प्रवर्द्धन गर्दै निच्छेपकर्ताहरुको हित संरक्षणका लागि अनुगमनलाई प्रभावकारी तुल्याउनुका साथै कसुरजन्य कार्यमा संलग्न सहकारीलाई कारबाहीको दाउरामा ल्याउने, यसअघिका सम्पूर्ण सहकारीको अनुगमन गरी आवश्यक सहकारीलाई मात्र राख्ने र बाँकीलाई खारेज गर्ने
शिक्षा तथा स्वास्थ्य
- स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागु गर्ने, प्राथमिक तहमा मातृभाषामै पठन पाठनको व्यवस्था मिलाउने, भोजपुरी प्रतिष्ठानलाई पुनःसक्रिय बनाई भोजपुरी भाषा र साहित्यको संवर्द्धन गर्ने
- सहिद परिवारका छोराछोरी, गरिब, जेहेन्दार विद्यार्थी, अपाङ्ग, असहाय तथा सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई अध्ययनमा दिइने छात्रवृत्तिलाई निरन्तरता दिने
- सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शुरु गरिएको शिक्षण कार्यलाई विस्तार गर्ने
- दर्ता वा स्वीकृती नलिई वा दर्ता गरे भन्दा बढी कक्षा वा तहको अध्ययन अध्यापन कार्य संचालन गरेका विद्यालय तथा कलेजहरुलाई प्रचलित कानुनको अधिनमा रही नियमित अनुगमन गरी दण्ड र जरिवाना गर्ने कार्यलाई निरन्तरता दिने
- सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार अन्तर्गत आवश्यक भौतिक पुर्वाधार निर्माण तथा सुधार गर्ने
- आगामी आर्थिक वर्षलाई शैक्षिक क्षेत्रमा आमूल परिवर्तन महशुस गर्ने गरी शैक्षिक वर्षको रुपमा मनाउने
- ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको उपचारका लागि जेरियाट्रिक चिकित्सकमार्फत ज्येष्ठ नागरिक विशेषज्ञ सेवा प्रदान गर्ने व्यवस्था मिलाउने
- मापदण्ड विपरित सञ्चालित नीजि क्षेत्रका अस्पताल, क्लिनिक, प्रयोगशाला जस्ता संस्थाहरुको नियमित अनुगमन गरि दण्ड जरिवाना तथा कारबाहीलाई निरन्तरता दिने
- महानगरले सञ्चालन गरिरहेको प्रयोगशालालाई अझै गुणस्तरीय बनाउँदै सेवा विस्तार गर्ने
- नारायणी अस्पतालको सरसफाईको सम्पूर्ण जिम्मेवारी वीरगञ्ज महानगरपालिकाले लिँदै आएकोमा त्यसलाई निरन्तरता दिँदै आगामी आ.ब.बाट सेवाग्राहीलाई अझै सहजता प्रदान गर्न अस्पतालमा आवश्यक प्राविधिक सहायता उपलब्ध गराउने
- जेष्ठ नागरिक, महिला, बालबालिकाको लागि औषधी उपचार, गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको लागि पोषणयुक्त खाद्यान्नको उपलब्धतालाई निरन्तरता दिने
सुशासन र जनमुखी प्रशासन
- “सुशासन” लाई प्रशासन तथा सेवा प्रवाहको मूलमन्त्र बनाई सेवालाई सुलभ र पारदर्शी बनाउन अनलाईन सेवा प्रणाली लागु गरिएकोमा अझै प्रभावकारी बनाई नतिजामुखी प्रशासनको प्रत्याभूत गरिने ।
- महानगरबाट प्रवाह हुने सम्पूर्ण सेवा र विकास निर्माणको कार्यमा शून्य सहनशीलताको नीति अख्तियार गर्ने, यसलाई प्रभावकारी बनाउन प्रत्येक वडा कार्यालयबाटै योजनाको भुक्तानी हुने प्रकृया मिलाउने ।
- आर्थिक तथा प्रशासनिक अनुशासन कायम गर्ने सम्बन्धमा नगरको बाँकी बक्यौता, पेश्की, बेरुजुको लगत विवरण अद्यावधिक गरी घटाउँदै गएकोमा आगामी आ.व.मा समेत कडाईका साथ असुल उपर एवं फछ्र्याैट गर्ने कार्यलाई प्राथमिकता दिने
- सेवाग्राहीले जुनसुकै ठाउँबाट भवन निर्माण ईजाजतको लागि आवेदन दिन मिल्ने र आफ्नो काम कुन तहमा पुगेको छ भनी हेर्न मिल्ने गरी विद्युतीय नक्सा पास प्रणाली (Electronic Building Permit System– EBPS) यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने, दक्ष प्राविधिक जनशक्तिको व्यवस्थापन गरि महानगरबाट भइरहेको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने ।
- वीरगञ्ज सुरक्षित शहर बनाउन महत्वपूर्ण सार्वजनिक स्थान तथा सडक चोकहरुमा सीसीटीभी जडान गर्ने कार्यलाई निरन्तरता दिई जिल्ला प्रहरी कार्यालय पर्सा परिसर भित्र रहेको आधुनिक सीसीटीभी कन्ट्रोल रुमको पहुँचमा ल्याएर सुरक्षा प्रणालीलाई डिजिटलाईज गर्ने
- वीरगञ्ज महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना तथा अन्य व्यवसायिक प्रयोजनका लागि स्थापना गरिएका भवनहरुको अनिवार्य रुपमा नक्सापास गर्ने कार्यलाई कडाइका साथ लागु गर्ने, नक्सा पास नगरी निर्माण भएका संरचनालाई स्थानीय सरकार सञ्चालन ऐन बमोजिम नियमनको दायरामा ल्याउने ।
- नगरवासीको सेवा कार्यलाई थप सहज र सुविधाजनक बनाउन संघ र प्रदेश सरकारसँगको समन्वयमा वीरगंज महानगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणको प्रकृया अगाडि बढाउने, वडा कार्यालय भवन निर्माणको कार्यलाई निरन्तरता दिँदै आगामी दुई वर्ष भित्रमा महानगरपालिकाको सम्पूर्ण वडाको आफ्नै भवनको व्यवस्था मिलाउने
- शिक्षा, स्वास्थ्यमा सुधार हुने, पर्यटन बृद्धि हुने र परोपकारी संस्थाहरुलाई आवश्यकता बमोजिमको जग्गा उपलब्ध गराउने
- साङ्गठानिक सर्वेक्षण गराई कर्मचारीको सेवा प्रवाहलाई थप चुस्त बनाउने
कृषि तथा पशुपन्छी
- वीरगञ्ज महानगर क्षेत्र भित्रका सार्वजनिक पोखरीलाई कृषकको आम्दानी बृद्धिका लागि माछापालन लगायत आर्थिक उपार्जनका लागि उपयोगमा ल्याउने
- महानगरका खाली रहेका सार्वजनिक तथा ऐलानी जग्गाहरुमा सामूहीक बाली तथा तरकारी खेती गर्ने कार्यलाई प्रोत्साहन गर्ने
- कृषि उब्जनी बृद्धि गर्दै आयआर्जन मजबुत बनाउन कृषकलाई सहुलियत दरको मल, बिउ र निशुल्क सिचाईको प्रबन्ध मिलाउने
- महानगरको ग्रामिण वडाहरुमा सिंचाई, कृषि सडक, विद्युतिकरण, कृषि बजारको पूर्वाधार निर्माण गर्ने कार्यलाई निरन्तरता दिने
- कृषकलाई आर्थिक उपार्जन बढाउँदै स्वावलम्बी बनाउन साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत बाली/वस्तुहरुको उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सृजना हुने कार्यक्रम संचालन गर्ने
खेलकुद
- नारायणी क्रिकेट रंगशालामा माटो पुरी मैदान सम्याउने कार्य भइरहेकोमा प्रदेश सरकारसँगको सहकार्यमा आगामि आ.व. बाट क्रिकेट एकेडेमीको रुपमा निर्माण कार्य अघि बढाउने
- नारायणी रंगशालाको जीर्णोद्वारका लागि आवश्यक पहल गर्नुका साथै आदर्शनगर रंगशालाको स्तरोन्नती गर्ने
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता महानगरका खेलाडीलाई सम्मान र पुरस्कार प्रदान गर्नुका साथै वीरगञ्ज महानगरमा उपयुक्त रोजगारीको व्यवस्था मिलाउने
- विभिन्न किसिमका दुब्र्यसनमा परेका युवाहरुलाई निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रमहरु मार्फत दुव्र्यसन मुक्त गराई समाजमा पुनःस्थापनाको वातावरण बनाउने
- वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सिप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशिलता विकासका लागि प्रोत्साहनमुखि कार्यक्रम संचालन गर्ने
- युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन, बिजनेस” भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख बन्न प्रेरित गर्ने
- युवा बेरोजगारी न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सिप तथा उद्यमशिल क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने ।
सूचना प्रविधि तथा संचार
- आजीवन पत्रकारिता गरेका जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था मिलाउने कार्य आगामी वर्षबाट सुरु गर्ने
- संचार गृह र पत्रकारहरुलाई विपत्का बेला आवश्यक सहयोग उपलब्ध गराउन विपत् राहत कोषको स्थापना गर्ने
- महानगरमा दर्ता तथा संचालनमा रहेका संचार माध्यमको लागि समानुपातिक ढंगले वितरण हुने लोक कल्याणकारी विज्ञापनको व्यवस्था लाई निरन्तरता दिने
- नेपाल पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि गरिएको सहयोगलाई निरन्तरता दिने
- राष्ट्रिय समाचार समितिबाट नेपाली र अंग्रेजी भाषामा मात्रै समाचार बुलेटीन प्रकाशित हुँदै आएकोमा वीरगञ्ज महानगरको सहयोगमा भोजपुरी भाषामा पनि बुलेटीन प्रकाशन गराउने
Discussion about this post