काठमाडौं,
दुबईमा मानव बेचविखनमा परेको व्यक्तिको उद्धार गरी पाउँ भनी आफन्तले मानव बेचविखन अनुसन्धान व्युरो बबरमहलमा निवेदन दिए । व्युरोको टोलीले ०८० चैत १९ गते दुबईबाट उद्धार गरेर ल्यायो । उनैले दिएको जाहेरीको आधारमा प्रहरीले ललितपुर महानगरपालिका वडा नं ८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको छ ।
०८१ असार ७ गते काठमाडौं महानगरपालिका वडा नं ८ बाट पक्राउ परेका उनी विरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्धामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको व्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
महर्जनले संयुक्त अरब इमिरेट्सको दुबई शहरमा टिस्यु पेपर प्याक गर्ने कम्पनीमा मासिक १ हजार ८ सय दिराम तलब हुने वैदेशिक रोजगारीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रुपैयाँ जाहेरवाालासँग लिएको प्रहरी उपरीक्षक मिश्र बताउँछन् ।
महर्जनले श्रम स्वीकृतिको सम्पूर्ण प्रक्रिया पुरा गरेर वैदेशिक रोजगारीका लागि पठाउने भनी जाहेरवालालाई झुक्याएर भिजिट भिषामा ०८० फागुन ७ गते त्रिभुवन अन्र्तरष्ट्रिय विमानस्थल काठमाण्डौंबाट दुवई लगेका थिए । त्यहाँ घरेलु कामदारहरु पठाउने एजेन्ट अफिसमा लगेर बेचेका थिए ।
एजेन्ट अफिसले बन्धक बनाई विभिन्न व्यक्तिहरुको घरमा घरेलु कामदारको रुपमा पठाई शारीरिक तथा मानसिक यातना दिई, बिना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई शोषण समेत गरेको जाहेरवालाले बताएका छन् ।
महर्जन, यसअघि पनि वैदेशिक रोजगारी ठगी सम्बन्धी मुद्धामा ७ वर्ष कैद भुक्तान गरी ०७९ चैत महिनामा कारागारबाट छुटेको ब्युरोले जनाएको छ ।
Discussion about this post