एचआइभी र हेपाटाइटिस बी खोक्दा, हाँछ्युँ गर्दा, सँगै बसेर खाँदा वा काम गर्दा सर्ने रोग होइन । एचआइभी असुरक्षित यौन सम्पर्कबाट सर्छ । सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने ओषधीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाए एचआइइभी संक्रमितहरु सामान्य मानिस सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गर्न सक्छन् ।
सुरेश बिडारी
६ भदौ, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–३२ जीतपुर परसवा स्थित फ्लेर हिमालयन प्रा.लीले १ असार १, २०८१ मा १८ जना कर्मचारीहरुको नियमित स्वास्थ्य जाँच गरायो । वीरगञ्ज स्थित सुर्या अस्पतालमा स्वास्थ्य जाँच गराउँदा एक कर्मचारीमा एचआईभी संक्रमण पुष्टी भयो भने अर्को एक जनामा हेपाटाईटिस बी देखियो ।
सुर्या अस्पतालले काठमाडौं टेकु स्थित शुक्रराज ट्रपीकल सरुवा रोग अस्पतालमा पूनः परीक्षणका लागि पठायो । उताबाट पनि उही नतिजा देखियो । काठमाडौं लैजाने र उपचार गर्नेसम्म उद्योगले नै खर्च गरिरहेको थियो । तर पूनः संक्रमण पुष्टी भएको रिपोर्ट हात प¥यो । मिनु पिया अमात्य अध्यक्ष र अजय बहादुर प्रधानांग प्रबन्ध निर्देशक रहेको उद्योगको व्यवहार फेरियो ।
पछिल्ला दिनमा उद्योगका मानव स्रोत व्यवस्थापक (एचआर)ले समिम अहमदले फोन गरेर राजिनामा दिन दवाव दिईरहेको उनीहरुको गुनासो छ । एचआईभी संक्रमित कर्मचारी ०६२ फागुन २६ गतेदेखि र हेपाटाइटिस बी संक्रमित ०५७ मंसिर १ गतेदेखि उद्योगमा स्थायी कर्मचारीको रुपमा कार्यरत छन् । एकजना अलराउन्डर कर्मचारी हुन् भने अर्का मेशिन अपरेटर । उद्योगले मानिसका लागि ‘हर्बल’ र ‘एनीमल’ हेल्थ केयर औषधी उत्पादन गर्दै आएको छ ।
‘सहज वातावरण बनाएर अघि बढ्नुपर्छ । राजिनामा दिनुस । कम्पनीबाट सामाजिक सुरक्षा कोषको पैसा दिन्छ, इन्स्योरेन्सको पैसा मिल्छ । एडभान्स माफ हुन्छ, कम्पनीले एक लाख रुपैयाँ सहयोग दिन्छ । राम्रो पैसा हुन्छ । सानो पसल खोलेर जीवन चलाउन सक्नुहुन्छ ।’
फोनबाट राजिनामा दिन दवाव
३ असार २०८१ मा काम गर्दै गर्दा रोगको बारेमा जानकारी भएपछि उनीहरु मौखिक सहमतिमा उपचारका लागि विदा बसेका थिए । उपचारपछि २४ साउनमा काममा फर्कदा पूर्व सूचना बिना कार्यलयमा पस्न नदिएको उनीहरुको गुनासो छ । साउन २७ गते मानव स्रोत व्यवस्थापकले टेलिफोन गरेर काममा नआउन र लिखित राजिनामा पेश गर्न दवाव दिएको उनीहरुले बताएका छन् ।
एचआइभी संक्रमित मजदुरसँग फोनमा कुराकानी गर्दै कम्पनीका एचआर समिम अहमदले राजिनामा दिन प्रलोभन र दवाव दिएको अडियो इसनेशले फेला पारेको छ ।
एमडी सरलाई पनि राम्रो लागेको छैन, बाध्यता सम्झनुपर्छ भन्दै उनले भनेका छन् । ‘कम्पनीमा ताला लगाउनुपर्ने अवस्था आएको छ ।’
संक्रमितले रोगका बारेमा अरुलाई किन भनेको भन्दै उनले समाजले हेला गर्ने डर देखाएका छन् । ‘दुई महिनासम्म तपाईको रोगको बारेमा कसैलाई भनेको छैन । तर तपाईले युनियनको मानिसहरुलाई भन्नुभएको छ । गाउँ समाजले एचआइभी संक्रमितलाई हेला गर्छ । ’ समिमले भनेका छन् ।
उनले राजिनामा दिलाउन विभिन्न प्रलोभन देखाएका छन् । ‘सहज वातावरण बनाएर अघि बढ्नुपर्छ । राजिनामा दिनुस । कम्पनीबाट सामाजिक सुरक्षा कोषको पैसा दिन्छ, इन्स्योरेन्सको पैसा मिल्छ । एडभान्स माफ हुन्छ, कम्पनीले एक लाख रुपैयाँ सहयोग दिन्छ । राम्रो पैसा हुन्छ । सानो पसल खोलेर जीवन चलाउन सक्नुहुन्छ ।’ समिम भन्छन् । ‘निकाल्नु थियो भने शुरुमै निकाल्थ्यौं, दुई महिना रिसर्चमा लगायौं । पुराना कर्मचारीलाई निकाल्दा हामीलाई पनि खुशी छैन । कम्पनीलाई रिक्समा राखेर हरेक निकाय र ठाउँबाट सरसल्लाह गरेर मुश्किलले फैसला लिएका छौं ।’
मजदुरले एमडीसरसँग एकपटक कुरा गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘ कम्पनीले राजिनामा मागेदेखि राम्रोसँग खान मन गर्दैन । आँखाबाट आँसु खस्छ । विरामी हुँदा कम्पनीले हटाउन खोजिरहेको छ । परिवारलाई सुनाउन सकेको छैन ।’
मजदुरले औषधी खाँदैछ काम गर्न सक्छ भनेर डाक्टरले रिपोर्ट लेखेर दिँदा हुन्छ त ? भनी सोध्छन् । समिमले ‘ठिक हुन सक्दैन, भाइरस शरीर भित्रै रहन्छ । कुनै डाक्टरले लेख्दैन । वीरगञ्जको अफिसमा आएर राजिनामा दिनु ।’ भनी डर देखाउँदै राजिनामा माग्छन् । समिमले आफ्नो नम्बर अरुलाई नदिनु भनेर पनि दवाव दिएको सुनिन्छ ।
इसनेशसँगको कुराकानीमा भने समिमले फोनमा भन्दा भेटेरै कुरा गर्न उपर्युक्त हुने भन्दै यस विषयमा खुलेर कुरा गर्न चाहेनन् ।
कामबाट निकाल्न खोजेपछि श्रम कार्यालयमा निवदेन
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) फ्लेर हिमालयन उद्योग कमिटि अध्यक्ष जीतन पटवारी दुई जना कामदार साथीहरुलाई कामबाट निकाल्न लागेको थाहा पाएपछि श्रम कार्यालय, वीरगञ्जमा निवेदन दिएको जानकारी दिए ।
‘संक्रमण पुष्टी भएपछि दुवैजनालाई उपचारका लागि काठमाडौं लगियो, के कसो भयो ? श्रमिक साथीहरुले पनि केहि जानकारी गराउनुभएन, उद्योगमा बैठक हुँदा चिन्ता लिनु पर्दैन, कम्पनीले गर्नुपर्ने काम गर्छ । भन्ने जवाफ आउँथ्यो ।’ उनले भने, ‘दुई महिना पछि काममा आउँदा राजिनामा मागेर निकाल्न खोजिएको थाहा भयो, समस्या समाधानका लागि श्रम कार्यालयमा निवेदन दिएका छौं, दुवै जनालाई काम गर्न दिन आग्रह गर्दै उद्योगमा हुलाकबाट पत्र पठाएका छौं ।’
श्रम कायालय वीरगञ्जका प्रमुख रुद्र नारायण साह बिना जानकारी ३० दिन र लगातार ६ महिनासम्म रोगको उपचारको शिलशिलामा उद्योगमा आउन नसकेमा मात्रै कर्मचारीलाई कामबाट हटाउन सकिने व्यवस्था कानूनमा भएको बताउँछन् । उनी सरुवा रोग अरुलाई फैलन सक्ने अवस्थामा सावधानी अपनाउनुपर्ने तर अरुलाई सहजै नसर्ने रोग छ भने डराउनु नपर्ने बताउँछन् ।
श्रम ऐनमा के छ व्यवस्था ?
औपचारिक जानकारी बिना लामो समय हाजिर नगराउने र श्रम ऐन २०७४ को दफा १३१ को उपदफा ४ को च बमोजिमा हटाउन खोजिएको हुनसक्ने आशंका उनको छ । ‘ यसरी बिनाकारण कामबाट निकाल्न पाउँदैन । यसको विरोध गर्छौ ।’ उनले भने ।
श्रम ऐन २०७४ को दफा १३१ उपदफा ४ को च मा विदा स्वीकृत नगराई लगातार तीस दिन भन्दा बढी काममा अनुपस्थित भएमा सेवाबाट हटाउन सक्ने व्यवस्था छ ।
त्यसैगरि श्रम ऐनको दफा ८० मा सङक्रामक रोग नियन्त्रणको व्यवस्था मिलाउनु पर्ने उल्लेख छ । रोजगारदाताले कार्यस्थलमा सङक्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्था मिलाउनु पर्ने, कुनै श्रमिकलाई सङक्रामक रोग लागि उपचार गराउनु परेमा उपचारको अवधिभर काममा आउन निजलाई रोक लगाउन सकिने, उपचार गराउन विरामी बिदा अपुग भएमा अन्य बिदामा समायोजन गर्न वा विशेष वेतलबी बिदामा बस्न श्रमिकलाई रोजगारदाताले निर्देशन दिन सक्ने उल्लेख छ ।
औषधी व्यवस्था विभागका निरीक्षक सरफराज अहमद खानले विभागको कुनैपनि नीति, नियम र मापदण्डले कुनै रोग लागेकालाई काममा लगाउन मिल्ने वा नमिल्ने भनेर परिभाषित नगरेको बताए ।
सँगै बस्दा, काम गर्दा सर्दैनन्, यी रोग
एचआइभी र हेपाटाइटिस बी खोक्दा, हाँछ्युँ गर्दा, सँगै बसेर खाँदा वा काम गर्दा सर्ने रोग होइन । एचआइभी असुरक्षित यौन सम्पर्कबाट सर्छ । सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने ओषधीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाए एचआइइभी संक्रमितहरु सामान्य मानिस सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गर्न सक्छन् ।
हेपाटाइटिस ’बी’ रगतबाट सर्छ, कलेजोलाई असर गर्छ । ट्याबलेट र खोप बनेको छ । तर त्यसले रोगलाई थामेर राख्छ । पूर्णतः निको हुने क्षमता भएको औषधि बनेको छैन ।
सुर्या अस्पतालका डाक्टर सरोज सिंह अन्य स्वास्थ्य समस्याले गाह्रो नगरेको र नियमित औषधी सेवन गरिरहेको अवस्थामा एचआईभी र हेपाटाइटिस बी संक्रमित नियमितत काममा जान सक्ने बताउँछन् । ‘ब्लडबाट मात्रै सर्न सक्छ, काम गर्नमा कुनै समस्या हुँदैन, कामबाट निकाल्न पनि मिल्दैन ।’ उनले भने, ‘औषधी खाएपछि नियमित काममा जान सक्छन् ।’
वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहा रोग लाग्दैमा कामबाट निकाल्न नमिल्ने बताउँछन् । ‘ एचआइभी र हेपाटाइटीसका बारेमा भ्रम छ, मानिसहरुमा डर छ । त्यो डर हटाउनुपर्छ । नत्र रोग लागेको सुन्ने वित्तिकै कामबाट हटाउने लहर चल्छ ।’ उनले भने ।
रोग लागेकै कारण जागिरबाट राजिनामा दिन दवाव दिएर मानसिक हिंसा गरेको भन्दै उनीहरु एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) नारायणी अस्पतालमा पनि जानकारी गराएका छन् । ओसीएमसीले जिल्ला प्रशासन कार्यालय मार्फत सरोकारवाला निकायलाई पत्राचार गरेर समस्या समाधानका लागि पहल गर्न लागेको इन्चार्ज नर्स हेमा थापाले जानकारी दिईन् ।
‘ स्वास्थ्य समस्या अनुसार सहुलियत दिएर काममा लगाउनुपर्नेमा उल्टै कामबाट निकाल्न खोज्नु अन्याय हो ।’ उनले भनिन्, ‘ औषधी उत्पादन गर्ने उद्योगमा समेत एचआईभी र हेपाटाइटिस बारे भ्रम देखिनु दुःखद हो । मददुरको न्याय र उद्योगमा सचेतना जगाउने दुवै कार्यमा आवश्यक सहयोग र समन्वय गर्छौ ।’
एचआइभी संक्रमण रोकथाम तथा नियन्त्रणका क्षेत्रमा काम गर्दै आएका बिजाम लगायत संघ संस्थाले पनि एचआइभी संक्रमण पुष्टी भएकै कारण रोजगारीबाट वञ्चित गर्न नहुने बताएका छन् । कुनै पनि विभेद नगर्नु भनी राज्यले भनेको अवस्थामा मानव अधिकार हनन गर्न खोज्ने उद्योगलाई कानून बमोजिम कारबाही हुनुपर्ने माग उनीहरुले राखेका छन् ।
बिजामका निरज साहले एचआईभी संक्रमितहरु सरकारले निःशुल्क उपलब्ध गराउने औषधी सेवन गरेर नियमित काम गरिरहेको अवस्थामा औषधी उद्योगले नै कामदारलाई राजिनामा दिन दवाव दिनु दुःखद भएको बताए । ‘ प्रायः संक्रमितहरु नियमित औषधी सेवन गरेर सामान्य मानिसहरु सरह काम गरिरहेका हुन्छन् । कतिपय त सार्वजनिक जीवन बाँचिरहेका छन् ।’ उनले भने, ‘ एचआइभीका बारेमा समाजमा विभिन्न भ्रमहरु विद्यमान छन्, त्यसलाई चिर्न आवश्यक छ ।’
Discussion about this post