वृद्ध, वृद्धा र बालबालिका मात्रै हैन, ‘ड्यू’ चेपाङ समुदायका युवाको समेत प्रिय पेय पदार्थ हो । ‘ब्राण्डेड’ नाम ‘माउन्टेन ‘ड्यू’ भएपनि मनहरी बजार र राक्सिराङ्गमा ‘चेपाङ डयू’ भनेर परिचित छ । चेपाङ समुदायले व्यापक प्रयोग गर्ने भएकोले नाम परिवर्तन गरिएको हो ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं ८ मैसिराङका गोपाल प्रजा (११२) लाई दिनहुँ ‘ड्यू’ अनिवार्य चाहिन्छ । पानी हालेरै भएपनि ‘ड्यू’ पिउनैपर्छ ।
छोरा मनराम प्रजा (७५) का अनुसार ‘ड्यू’ पिउन नपाए गोपालले कराउन थाल्छन् । एक दशक यता गाउँमा ड्यूको प्रयोग बढेको उनको अनुभव छ ।
मैसिराङ्ग गाउँमा मनरामको किराना पसल छ । उनी दिनहुँ मनहरी बजार गएर ‘ड्यू’ खरिद गरेर मैसिराङ्ग लैजान्छन् । ‘जाडरक्सी प्रायः मानिसले पिउँदैनन्, खेतालालाई ‘ड्यू’ अनिवार्य चाहिन्छ ।’ उनी भन्छन्, ‘खेताला लगाएको दिन एउटै व्यक्तिले ६/७ वटासम्म लैजान्छन् ।’
औसतमा दैनिक दुई कार्टुन (एक कार्टुनमा ९ वटा जम्बो बोतल हुन्छ ।) बिक्रि हुने गरेको उनले बताए ।
तत्कालिन राक्सिराङ्ग गाविसका अध्यक्ष इन्द्र बहादुर प्रजा (८२) लाई ‘ड्यू’को लत लागेको छ । उनी सुत्ने कोठामा ‘ड्यू’का खाली बोतल थुप्रिएको छ ।
२१ वर्षको उमेरमा क्रिस्चियन धर्म अंगालेका उनी दिनमा एक बोतल ‘ड्यू’ खाने गरेको बताउँछन् । ‘शुरुमा छोरा बुहारीले खाउ बा भन्यो, अहिले नभइ नहुने भयो ।’ उनी भन्छन्, ‘जतिखेरै खाउँ खाउँ लागिरहन्छ ।’
केदार सिंह बल राक्सिराङ्ग–५ माने भञ्ज्याङमा पसल चलाउँछन् । उनको पसलमा दैनिक एक कार्टुन जम्बो ‘ड्यू’ बिक्रि हुन्छ । प्रति बोतल २ सय ६० रुपैयाँमा बिक्रि गर्छन् । गाउँका पसलमा जम्बो ड्यू प्रति बोतल २८० रुपैयाँसम्म खरिद बिक्रि हुने गरेको छ ।
आफू काम विशेषले चार दिन काठमाडौं बस्दा घरमा ‘ड्यू’ पिउन नपाएर बच्चाहरुले हैरान पारेको राक्सिराङ गाउँपालिका– ५ का रमेश प्रजा सम्झन्छन् ।
आर्थिक भार, लत छुटाउनै गाह्रो
दुई चार जना भेला भएर कुराकानी गर्दा प्रायः सबैको हातमा ‘ड्यू’ सहितको गिलास हुन्छ । खेतबारीमा काम गर्ने खेतालालाई ‘ड्यू’ अनिवार्य खुवाउनुपर्छ । चेपाङ समुदायले ड्यू खरिदमा हजारौं रुपैयाँ खर्च गरिरहेका छन् । नगद छैन भने उधारो मागेरै भएपनि ‘ड्यू’ लगेर खाने गरेका छन् । ज्याला मजदुरी गरेर कमाएको पैसा ड्यू किन्नमा खर्च गर्छन् ।
वृद्ध, वृद्धा र बालबालिका मात्रै हैन, ‘ड्यू’ चेपाङ समुदायका युवाको समेत प्रिय पेय पदार्थ हो । ‘ब्राण्डेड’ नाम ‘माउन्टेन ‘ड्यू’ भएपनि मनहरी बजार र राक्सिराङ्गमा ‘चेपाङ डयू’ भनेर परिचित छ । चेपाङ समुदायले व्यापक प्रयोग गर्ने भएकोले नाम परिवर्तन गरिएको हो ।
राक्सिराङ्ग–५ का दर्जे चेपाङका अनुसार श्रीमान श्रीमति बारीमको काममा जाँदा खाजाको सट्टा ‘ड्यू’ खाने गरेका छन् । उनीहरु ‘ड्यू’ कै भरमा काम गर्छन्, अरु खाजा खाँदैनन् । ‘माछामासु खायो भने धेरै पैसा लाग्छ, जाँड रक्सी खाँदैनौं । काम गर्दा खाजाको सट्टा ‘ड्यू’ खान्छौं । ’ उनले भने, ‘चेपाङ समुदायले अत्याधिक पिउने भएर यसको नाम नै ‘चेपाङ ‘ड्यू’ भईसक्यो ।’
राक्सिराङ्गमा पहिला स्थानीय स्तरमा उत्पादन हुने जाँड रक्सी खुब चल्थ्यो, घर घरमा नै बन्थ्यो । क्रिश्चियन समुदायको बाहुल्यता बढेपछि त्यो चल्दैन र बन्दैन पनि । तर बजारबाट ‘ड्यू’ किनेर कोसेली लैजाने नयाँ चलन चलेको छ ।
दुई चार जना भेला भएर कुराकानी गर्दा प्रायः सबैको हातमा ‘ड्यू’ सहितको गिलास हुन्छ । खेतबारीमा काम गर्ने खेतालालाई ‘ड्यू’ अनिवार्य खुवाउनुपर्छ । चेपाङ समुदायले ड्यू खरिदमा हजारौं रुपैयाँ खर्च गरिरहेका छन् । नगद छैन भने उधारो मागेरै भएपनि ‘ड्यू’ लगेर खाने गरेका छन् । ज्याला मजदुरी गरेर कमाएको पैसा ड्यू किन्नमा खर्च गर्छन् ।
राक्सिराङ्ग– ५ निगुरेटारका नविन कुमार प्रजा ड्यूको लतले पैसा आउने भन्दा जाने बढी भईरहेको सुनाउँछन् । ‘पहिला गाउँमा जाँड रक्सी पिउँथे, तर अहिले ड्यू चलेको छ । महंगो छ तैपनि धेरै प्रयोगमा छ, कसैले खान छोड्दैनन, घर परिवारमा बिहान बेलुका नभई नहुने भएको छ ।’ उनी भन्छन्, ‘पैसा नभएपनि भोलि दिन्छु भनेर उधारो ल्याएर खान्छन्, नखाएसम्म चित्त नभर्ने स्थिति छ । ’
गाउँमा एक बोतल ‘ड्यू’लाई २७० पर्छ, दिनमा दुई बोतल किन्दापनि ५४० रुपैयाँ जान्छ । तर ‘ड्यू’ ले पारिवारिक सम्बन्ध भने जोडेको नविनको बुझाइ छ ।
‘पुर्खाले रक्सी खान्थे, घर परिवारमा झै झगडा, मन मुटाव हुने, श्रीमतिसँग झगडा पर्र्ने, छोराछोरीलाई कुटपिट गर्ने गर्थे ।’ नविन भन्छन्, ‘ड्यू बाउआमा छोराछोरी सबैसँगै बसेर खान मिल्छ, फ्रिजमा राखेको चिसो ड्यू खाँदा गर्मीमा शीतल महशुस हुन्छ ।’
तर यसको सकारात्मक भन्दा नकारात्मक प्रभाव नै बढी देखिन्छ । नविनलाई लाग्छ, पछिल्लो समय ‘ड्यू’ चेपाङ समुदायलाई गरिबीबाट माथि उठ्न नदिने साधन बनेको छ । ‘एकातिर झगडा त गयो तर अर्कोतिर दैनिक ३ सयको ड्यू जान्छ । मानिसले आफ्नो बानी ब्यहोराले गर्दा नै दुःख पाउने रहेछ । अरुको हली बन्न गयो ड्यू खायो, घरमा हुँदा, दाजुभाई भेट हुँदा ड्यू नै खानुपर्छ ।’ उनले भने ।
‘ड्यू’को दिगो नसालाई कसरी छोड्ने भनेर साथीभाईमा सरसल्लाह हुने गरेको नविनले सुनाए । ‘छोड्नुपर्छ भनेर सल्लाह गर्छौ, तर सकेको छैन ।’ उनी भन्छन्, ‘ग्याष्ट्रिक हुँदा सम्म ड्यू खान्छन् । ब्लड प्रेसर कम हुने, चक्कर लाग्ने, छाती दुखेको महसुस हुने, चर्को घाममा चिसो ‘ड्यू’ खायो भने राति खोकी लाग्ने समस्या हुन्छ । तैपनि खान छोड्दैनन्’
राक्सिराङ गाउँपालिका– ८ मैसिराङ स्थित श्री चेपाङ प्रगति प्राथमिक विद्यालयका शिक्षक देव कुमार चेपाङ ‘ड्यू’ ले मोहनी लगाएको बताउँछन् । ‘गुलियो चिनी हालेर बनाएको ‘ड्यू’ ले मोहनी लगाएको छ, के गर्ने काम गरिसकेपछि हर हरती ड्यू खान मन लाग्छ ।’ उनले भने ।
‘ड्यू’को प्रयोग घटाउन उनले ड्यू किनेर घर लैजान छोडेका छन् । तर बजारमा साथीहरुसँगको बसिबियाँलोमा १/२ बोतल खाने गरेको उनले बताए । ‘नखाउ भन्यो चाडवाडमा दिदि बहिनीहरुले २/३ कार्टुन ल्याइदिहाल्छन् ।’ उनले भने, ‘ काम असर गरोस भनेर एक गिलास ड्यूमा दुई गिलास पानी मिसाएर पिउँछु ।’
चेपाङ समुदायलाई नै ‘ड्यू’ को लत लागेकोमा उनी चिन्तित छन् । उनी भन्छन् ‘ड्यूले गाउँ खाइसक्यो, गाउँमा जाँड, रक्सी कसैले हेर्दैन, ड्यू हेर्छ, अलि पैसा हुनेले बियर । तिर्खा लाग्दा पानी हैन ड्यू खोज्छन् ।’
यसको प्रयोगलाई हटाउनुपर्ने उनको भनाई छ । ‘पैसा बाहिर गइरहेको छ, शरीर कमजोर बनाईरहेको छ । डयूको सट्टामा स्थानीय स्तरमा पाईने रैथाने चिज खाजा, गिठ्ठा, चिउरीको रस, कागती, निबुवालाई प्रोत्साहन गर्नुपर्छ ।’
राक्सिराङ्ग गाउँपालिका–८ का राजेन्द्र कुमार प्रजा ‘ड्यू’ को लत छुटाउन गाह्रो भइरहेको बताउँछन् । ‘८ जनाको परिवार छ । घरमा प्रत्येक दिन एक बोतल ड्यू जान्छ । महिनामा ३२ वटासम्म किन्नुपर्छ ।’ उनले गुनासो गरे ।
८०/८५ वर्षका आमा सासुआमालाई लठ्ठै पारेको उनको भनाई छ । ‘थोरै भएपनि अनिवार्य चाहिन्छ । दुईचार दिन दिएन भने टाउको दुखेर मर्न लागिसके भन्छन् । पाएन भने घोसेमुन्टो लाएर टाउको दुख्यो भनेर बस्नुहुन्छ । खाएपछि तगडा हुन्छन्, बाहिर भित्र काम र सरसफाई गर्न सक्छन् ।’ उनले भने । तर थोरै थोरै गरेर ‘ड्यू’ले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने उनलाई जानकारी छ ।
यसकारण मानव स्वास्थ्यका लागि हानीकारक
‘ड्यू’ मा क्याफिन तत्व पनि समावेश हुन्छ । क्याफिनले अनिद्रा, घबराहट, बेचैनी, वाकवाकी, मुटुको धड्कन बढ्ने र अन्य साइड इफेक्टहरू निम्त्याउन सक्छ । धेरै मात्रामा क्याफिन सेवनले टाउको दुखाइ, चिन्ता र छाती दुखाइ हुन सक्छ । यसले मुटुको धड्कन अनियमित हुने र मृत्युसमेत गराउन सक्छ ।
विभिन्न अध्ययनहरुले ‘ड्यू’ जस्ता अधिक मात्रामा चिनीयुक्त सामग्री नियमित पिउँदा तौल बढ्ने, खराब कोलेस्ट्रोल बढाउने र टाइप २ मधुमेह हुने खतरा बढी हुने गरेको देखाएको छ । धेरै सोडा पिउँदा हृदय रोगको समेत जोखिम बढाउन सक्छ ।
‘ड्यू’मा साइट्रिक एसिड हुन्छ, जसले दाँतको इनामेललाई नरम पार्न सक्छ, दाँतमा दाग लगाउन सक्छ । तातो वा चिसो खानेकुरा वा तरल पदार्थ खाँदा दाँतको दुखाइ र संवेदनशीलता बढाउन सक्ने विज्ञहरु बताउँछन् ।
‘ड्यू’ मा क्याफिन तत्व पनि समावेश हुन्छ । क्याफिनले अनिद्रा, घबराहट, बेचैनी, वाकवाकी, मुटुको धड्कन बढ्ने र अन्य साइड इफेक्टहरू निम्त्याउन सक्छ । धेरै मात्रामा क्याफिन सेवनले टाउको दुखाइ, चिन्ता र छाती दुखाइ हुन सक्छ । यसले मुटुको धड्कन अनियमित हुने र मृत्युसमेत गराउन सक्छ ।
जनस्वस्थ्यविद डाक्टर अरुणा उप्रेती कोक, फेन्टा, ड्यू जस्ता एकदमै धेरै चिनीको मात्रा हुने पेय पदार्थको नियमित सेवन मानव स्वास्थ्यका लागि हानीकारक रहेको बताउँछिन् । बालबालिकाको स्वास्थ्यमा झनै नराम्रो असर गर्ने उनको भनाई छ ।
‘ ड्यू जस्ता पेय पदार्थमा एकदमै धेरै चिनी हुन्छ, डायबेटिज हुने जोखिम हुन्छ, शरीरको हाड्डी कमजोर हुन्छ, कलेजोमा बोसो जम्छ । क्याफिन, प्रिजरभेटिम हालेको हुन्छ, रक्सी चुरोटको जस्तै कुलत बस्छ ।’ उनी भन्छिन्, ‘ सानैदेखि ड्यू जस्ता पेय पदार्थ खाने व्यक्तिको १५/२० वर्षको उमेरमै रक्सी खाएका मानिसको जस्तो कलेजो खराब हुन्छ ।’
उनका अनुसार कलेजो खराब भएको मानिसले हत्तपत्त थाहा पाउँदैन । खान मन नलाग्ने जस्ता लक्षण देखिन्छ । ‘ कलेजो शरीरको विषालु तत्व बाहिर निकाल्ने मेसिन हो, बोसो जमेर यो विरामी भएपछि काम गर्न सक्दैन, शरीरका अन्य अंगहरु मुटु, फोक्सो र मृगौलामा पनि असर पार्न थाल्छ ।’ उनले भनिन् ।
पालिकाले स्वास्थ्य संस्था मार्फत सचेतना जगाएर यस्ता पेय पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ ।
पालिकाबाटै प्रतिबन्ध लगाउन माग
राष्ट्रिय जन वकालत मञ्च नाफानले पत्रु खानालाई निषेध गर्दै रैथाने खाद्यान्नको प्रयोगलाई प्रोत्साहन गर्न राक्सिराङ्गमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । संस्थाले आयोजना गर्ने छलफल कार्यक्रमहरुमा ‘ड्यू’ लगायत पेय पदार्थ तथा पत्रु खानेकुराको प्रयोग निषेध गरिएको कार्यक्रम संयोजक दिगम्बर चौधरी बताउँछन् ।
‘अन्यत्र पार्टीमा, चाडवाडमा प्रयोग भएजस्तै राक्सिराङ्गमा दिनहुँ ‘ड्यू’ प्रयोग हुन्छ । यसले एकातिर अनावश्यक आर्थिक भार थपेको छ भने अर्कोतिर मानव स्वास्थ्यमा समेत हानी गरिरहेको छ ।’ उनले भने, ‘ ‘ड्यू’ लगायत बोतलबन्द पेय पदार्थ र चाउ चाउ, विष्कुट जस्ता पत्रु खानाको सट्टा स्थानीय उत्पादन प्रयोग गर्न प्रोत्साहित गरिरहेका छौं ।’
मनहरी गाउँपालिकाले मानव स्वास्थ्यमा असर पार्ने भोला (गुट्खा) बेच्न प्रतिबन्ध लगाएको छ । त्यसैगरि राक्सिराङ्गमा स्थानीय सरकारले नै ड्यूको प्रयोगमा प्रतिबन्ध लगाएर नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ । आफूहरुले प्रयास छोड्न प्रयास गरेपनि नसकेको बताउँदै उनीहरुले गाउँपालिकाले नै प्रतिबन्ध लगाइदिएको खण्डमा सहयोग गर्ने बताएका हुन् ।
स्थानीय राजेन्द्र प्रजा कारबाहीको डर हुँदा छोड्न सक्ने बताउँछन् । ‘खानै नहुने हैन, थोरै खानुपर्छ तर राक्सिराङमा ड्यू धेरै खाइयो, जसरी मनहरीमा भोला खोजेर पनि पाउँदैन, जसले भोला बिक्रि गरेको भेट्छ, तुरुन्तै कारबाही गरिहाल्छ ।’ उनले भने, ‘अब स्थानीय तहबाटै ड्यू न्युनीकरणका लागि प्रयास गर्नुपर्छ । ड्यू कम गरौं भनेर भन्न त भन्दैछन् । व्यवहारमा हुन सकेको छैन, स्वास्थ्यमा असर पार्ने भएकोले नपिउन आग्रह गर्दा अटेर गर्नेलाई कारबाही नै गर्नुपर्छ । ’
के गर्दैछ पालिका ?
राक्सिराङ्गमा ‘ड्यू’ जस्ता पेय पदार्थ र पत्रु खाना (जंक फुड) को प्रयोग बढेसँगै विपन्न परिवारलाई उपचारका लागि दिने यातायात खर्च बढेको छ । पालिकाले विपन्न परिवारलाई उपचारका लागि ५ हजार रुपैयाँसम्म यातायात खर्च दिने गरेको छ । त्यो खर्च बार्षिक १० लाख पुग्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् ।
गाउँपालिकामा उत्पादित स्वास्थ्य वर्धक रैथाने खाद्य पदार्थको सट्टा बजारमा पाईने अखाद्य पत्रु खाना तथा पेय पदार्थ खपतको अवस्था विकराल बन्दै गैरहेको ठहर पालिकाले गरेको छ । केहि वर्षयता पालिकाले नीति तथा कार्यक्रम मार्फत त्यस्ता विकृति हटाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुको साथै आयातित पत्रु खाना विस्थापनका लागि सचेतनामूलक कार्यक्रम गर्दै आईरहेको छ ।
राक्सिराङ्ग-५ को वडा अध्यक्ष हरि बहादुर प्रजा ‘पत्रु खाना प्रयोग नगरौं’ भनेर सचेतना जगाएपछि केहि हदसम्म नियन्त्रणमा आएको बताउँछन् । ‘ड्यू, चाउचाउ प्रयोग नगरौं, स्थानीय स्तरमा उत्पादन मास, भटमास, मकै खान सक्छौं, चनाको पिठोबाट सातु बनाएर खान सक्छौ । यो पौष्टिकतत्वयुक्त र स्वस्थकर हुन्छ । नाफानसँग मिलेर पत्रु खाना मन्द विष हो । भनेर सचेतना जगायौं ।’ उनले भने ‘ त्यसपछि वडा नं ५ मा ‘ड्यू’को बोतल कमै देखिन्छ ।’
स्वास्थ्य वर्धक खानेकुरा खानुपर्छ भनेर सचेतना जगाउने गरेको उनको भनाई छ । ‘ठूलो ठूलो कुराहरु हेर्छौ, सानो सानो कुराले काल निम्त्याईरहेका हुन्छौं, त्यसो गर्नुहुन्न भनेर नाफानले सिकाएको छ ।’ उनले भने, ‘ड्यू स्लो पोइजन हो । त्यसको साटो स्थानीय उत्पादनलाई ब्राण्ड गरौं, स्थानीय उत्पादनले पोष्टिकतत्व दिन्छ । भनेका छौं ।’
उनी ‘ड्यू’को विकल्प दिन नसक्दा यसको प्रयोग बढेको बताउँछन् । ‘विकल्प दिन सकिएको छैन, कुनै चिजको ब्राण्डिङ गरेरै विकल्प दिनुपर्छ । ठाडेचुरी क्षेत्रमा कोदो राम्रो फल्छ, कोदोको ब्राण्ड बनाउन सकिन्छ । दही, मोही पिउन प्रोत्साहन गर्न सकिन्छ ।’ उनले भने, ‘ त्यसैले पालिकाले वडा नं ९ मा भैंसी र ३ नं मा गाई वितरण गरेको छ । पशुपालनबाट उत्पादन हुने दही,मोही घ्यू कमसेकम गाउँलेले किनेर खान्छन् । दही मोही घ्यू प्रयाप्त उपलब्ध नभएकोले गाउँका मानिस ‘ड्यू’ खान बाध्य भएको हुन सक्छ ।’
शुरु शुरुमा पाहुना आउँदा घरमै तयार पारिने जाँडरक्सी दिने गरिएकोमा चेपाङ समुदायले क्रिश्चियन धर्म अंगालेपछि ‘ड्यू’ दिने चलन चलेको उनी बताउँछन् ।
राक्सिराङ्गमा ‘ड्यू’ जस्ता पेय पदार्थ र पत्रु खाना (जंक फुड) को प्रयोग बढेसँगै विपन्न परिवारलाई उपचारका लागि दिने यातायात खर्च बढेको छ । पालिकाले विपन्न परिवारलाई उपचारका लागि ५ हजार रुपैयाँसम्म यातायात खर्च दिने गरेको छ । त्यो खर्च बार्षिक १० लाख पुग्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् ।
‘विरामी भएपछि क्रिश्चियन छन भने चर्चमा प्रार्थना गर्छन, पुराना मानिसहरु झाँक्रीकोमा जान्छन् । विरामी हुँदा अस्पताल जान प्रोत्साहन गर्ने उद्देश्यले विपन्न परिवारलाई ५ हजार रुपैयाँ यातायात खर्च दिने गरेका छौं ।’ उनले भने, ‘ अब त वार्षिक १० लाख रुपैयाँले नपुग्ने अवस्था भइसकेको छ । ड्यू मात्रै हैन जंक फुडको प्रयोग कम गराउन प्रयासरत छौं ।’
विद्यालमा विद्यार्थी अभिभावकलाई पत्रु खाना प्रयोग नगर्न सचेतनामूलक कार्यक्रम गर्ने गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
‘सर्वत पानी खानुस, दही मोही खानुस, गिठ्ठा, तरुल, गाउँघरमा जे पाउँछ, त्यो खानुस, आयातित पेय पदार्थ र पत्रु खाना नखानुस भनेर सचेतना जगाएका छौं ।’ उनले भने ।
सचेतनामूलक कार्यक्रमबाट पत्रु खानाको प्रयोगमा कमी नआएको खण्डमा निषेध नै गर्ने सोच पालिकाले बनाएको उनको भनाई छ ।
‘ पालिकाको कुनैपनि कार्यक्रममा खादा र ब्याच प्रयोग हुँदैन, ड्यू लगायत चिसो पेय पदार्थ तथा चाउचाउ लगायतका पत्रु खाना पनि निषेध नै छ ।’ उनले भने, ‘ स्वास्थ्य र अर्थ दुवै नोक्सान गर्ने ड्य्रू लगायतका पेय पदार्थ र पत्रु खाना अझै प्रयोग भइरहन्छ भने निषेध गरेरै जानुपर्ने हुन्छ ।’
तर अर्कोतर्फ पालिकाले मदिरा, वियर, कोल्ड ड्रिंक्स व्यवसायबाट वार्षिक ३ हजार रुपैयाँ व्यवसाय कर संकलन गर्दै आएको छ ।
यो पनि पढ्नुस
राक्सिराङ्ग गाउँपालिकाका प्रवक्ता भन्छन्, गाजालाई कि वैधानिकता देउ, कि विकल्प देउ
Discussion about this post