esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सहयोगले जगायो अपाङ्गता भएका व्यक्तिहरुको आत्मविश्वास

ईसनेश ईसनेश
प्रकाशित २०८१ पुष २३, मंगलवार २०:५५ बजे
सहयोगले जगायो अपाङ्गता भएका व्यक्तिहरुको आत्मविश्वास

कोदोको बिऊ उखेल्दै सुरेन्द्र प्रजा

0
SHARES
0
VIEWS

सुरेन्द्रको परिवारको नम्बरी जमिन छैन, खोरिया खेति गर्दै खाने गर्छन् । खोरियाको उत्पादनले नपुग्ने हुँदा ज्याला मजदुरी गर्नुपर्छ । उनीसँग ‘ख’ वर्गको निलो अपाङ्गता परिचय पत्र छ । सरकारले मासिक २ हजार रुपैयाँ भत्ता दिन्छ । त्यसबाहेक सुरेन्द्रले पैसा कमाउन सक्दैनथे । घरायसी काममा सघाउने र घर कुर्ने जिम्मेवारी थियो । कुखुरा पाल्न थालेपछि उनीबाट आर्थिक भरथेग पनि हुन थालेको छ । यसले सुरेन्द्रको आत्म विश्वास बढाएको छ ।

राक्सिराङ्ग,
वि.स.२०५१ साल माघ महिनाको चिसो, तैपनि सुरेन्द्र प्रजाले खोलामा नुहाए । खाना खाएर बेलुकी आठ बजेतिर सुत्न गए । तर राति एक्कासी काम ज्वरो आयो, टाउको बेस्सरी दुख्न थाल्यो ।

‘धेरै आँसु बगेको थियो, फुट्ला जसरी आँखाको गेडी दुखेको थियो ।’ राक्सिराङ्ग गाउँपालिका–५ निगुरेटारका सुरेन्द्र बाल्यकालको दुखद घटना सम्झदै भन्छन्, ‘औषधी उपचार गर्न नजिकै मेडिकल, अस्पताल थिएन । पैसा पनि हुन्थेन । भोलिपल्ट बिहान उठ्दा त दुवै आँखाको ज्योती गुमिसेकेको रहेछ ।’

पछि अभिभावकले गाई बाख्रा बेचेर पैसा जुटाएर भारततिर लगेर उपचार गराएका थिए । शल्यक्रिया समेत भयो तरपनि आँखाको ज्योती फर्किएन । ‘गरिबको छोरा छिट्टै अस्पताल पुग्न सकेन । पैसा माग्दा ऋण समेत दिदैन थिए मानिसहरुले ।’ सुरेन्द्र भन्छन्, ‘पछि काठमाडौंको तिलगंगा आँखा अस्पतालमा जाँच गराउँदा जलविन्दु भएको हो, जिन्दगीभर आँखा देख्न सक्दैन भन्यो, फर्केर गाउँमै बसेको छु ।’

राष्ट्रिय जनवकालत मञ्च (नाफान) संस्थाले राक्सिराङ्ग गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही क्रममा अपाङ्गता भएका व्यक्तिलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले नामावली संकलन भयो । निगुरेटारबाट सुरेन्द्रसँगै १० जना छनौटमा परे ।

अपाङ्गता भएका व्यक्तिको आवश्यकतामा आधारित क्षमता विकास र आय आर्जनमा सहयोग गर्ने उद्देश्य संस्थाको थियो । उनीहरुको क्षमता र चाहना अनुसार सहयोग गरिएको थियो । भाई र बुहारीसँगै बस्दै आएका सुरेन्द्रले कुखुरा पाल्ने इच्छा राखे । संस्थाले सुरुमा १० वटा चल्ला दियो ।

कुखुरा पालनबाट राम्रो आम्दानी भएपछि सुरेन्द्र अहिले दंग छन् । ‘नाफान संस्थाले १० वटा चल्ला दिएको थियो । भाले र पोथी ५\५ वटा रहेछ । ५ वटा भाले बेचेर ८ हजार रुपैयाँ आयो, म त एकदमै खुशी भयो ।’ उनले भने ।

कुखुरा पालन गर्दा दाना दिन सके अझै राम्रो हुने रहेछ भन्ने उनले बुझेका छन् । ‘कहिलेकाँही हरेस खान्छु, अपांग भईसकेपछि जे गरेपनि नहुने रहेछ भन्ने लाग्छ । आफूले कमाएर ल्याएर दिन सकिँदैन ।

‘मान्छेलाई खान मकै हुँदैन, कुखुरालाई दिनुपर्छ’ उनी भन्छन्, ‘मान्छे आशाले बाँच्न सक्छ, प्रेमले जिउन भन्छन्, चिल र स्यालले लगेन भने कुखुरा बेचेर चामल किनेर खान सकिन्छ भनेर आशा पनि पलाउँछ ।’

सुरेन्द्रको परिवारको नम्बरी जमिन छैन, खोरिया खेति गर्दै खाने गर्छन् । खोरियाको उत्पादनले नपुग्ने हुँदा ज्याला मजदुरी गर्नुपर्छ । सुरेन्द्रको ‘ख’ वर्गको निलो परिचय पत्र छ । सरकारले मासिक २ हजार रुपैयाँ भत्ता दिन्छ । त्यसबाहेक सुरेन्द्रले पैसा कमाउन सक्दैनथे । घरायसी काममा सघाउने र घर कुर्ने जिम्मेवारी थियो ।

कुखुरा पाल्न थालेपछि उनीबाट आर्थिक भरथेग पनि हुन थालेको छ । यसले सुरेन्द्रको आत्म विश्वास बढाएको छ । ‘यसअघि मेरो भन्ने केहि थिएन, कुखुरा पाल्न थालेदेखि मेरो पनि केहि छ है जस्तो लाग्छ । एकमुठी सास रहुञ्जेल आश हुँदो रहेछ ।’ उनले भने ।

सुरेन्द्रको भाई बुहारीको नाममा बाख्रा छ, तर उनको नाममा छैन । आफ्नो नाममा दुईवटा माउ बाख्रा भईदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

कुखुरालाई आहारा दिँदै सुरेन्द्र प्रजा

कुखुरा हुर्किएपछि भाई नविनले मनहरी बजार लगेर बेच्ने गरेका छन् । कुखुरा बेचेर पैसा आएको दिन एकदमै खुशी लाग्ने सुरेन्द्र बताउँछन् । ‘ भारी बोक्नु, कोदालो खन्नु परेन, पसिना चुहाउनु परेन, आहा पैसा आयो, भन्ने लाग्छ ।’

कुखुरा बेचेर पैसा आउँदा मनोबल बढ्ने गरेको उनको भनाई छ । यसरी आएको पैसा सुरेन्द्रले आफ्ना लागि मात्रै खर्च गर्दैनन् । औषधि उपचार र कपडामा मात्रै उनको खर्च हुन्छ । बाँकी घरायसी अप्ठेरा समाधानका लागि प्रयोग हुन्छ ।

कुखुरा पालनबाट अझ धेरै आम्दानी लिन सकिने भएपनि रोग लागेर मर्दा घाटा भएको दुखेसो सुरेन्द्रले गरे । ‘कुखुरालाई अन्नको किरा भन्छन, ७/८ सय ग्राम बनाउन धेरै मकै लाग्दो रहेछ । थोरै जग्गा, त्यो पनि बगर छ, त्यसमा छरेको मकै १०/१२ डोको हुन्छ । कुखुरालाई बिहान, दिउँसो र बेलुका मकै दिनुपर्छ । घरमा प्रयाप्त दाना र अन्न नहुँदा आत्तिन्थे ।’ उनले भने, ‘असार साउनमा मकै पाकेको थिएन, कुखुराका लागि एक क्विन्टल मकै किन्यौं । ४ हजार ५ सय रुपैयाँ खर्च भयो । दशैं खर्चका लागि ८/१० वटा कुखुरा बेच्न सक्ने अवस्था थियो । २०/२२ हजार जति आउँछ भन्ने थियो । ४० वटा मध्ये धेरै मरेकोले घाटा भयो ।’

सुरेन्द्रको भाई बुहारीको नाममा बाख्रा छ, तर उनको नाममा छैन । आफ्नो नाममा दुईवटा माउ बाख्रा भईदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

‘बारी छेउको डाले घाँस झार्न र झुण्ड्याउन सक्छु । कुखुरा ६ महिनामा १ हजार आउँछ भने बोका भयो भने ७/८ हजार आउँछ । ’ सुरेन्द्र भन्छन्, ‘एउटा पाठी र एउटा पाठा पाल्न दिएपनि पुग्छ मलाई । पाठालाई खसी बनाएर बेच्दा १५ हजार रुपैयाँसम्ममा बिक्रि गर्न सकिन्छ । पाठी हुकिएर अरु पाठापाठी जन्माइहाल्छ ।’

सुरेन्द्रको परिवारले ०८१ साउनमा ५ वटा भाले बेचेर ८ हजार रुपैयाँ कमायो । त्यसपछि एक पटक ६ हजार र अर्कोपटक ५ हजार रुपैयाँ आम्दानी गरिसकेको छ ।  ‘किनेर पाल्न सक्ने अवस्था थिएन, नाफानले चल्ला दियो ।’ सुरेन्द्र भन्छन्, ‘पसलबाट उधारो ल्याएर खाएको हुन्छ, तिर्ने बेलामा पैसा हुँदैन । ५/६ महिना पालेपछि भाले बेच्न मिल्छ । नुन तेल मसलाका लागि ज्याला मजदुरी गर्न जान परेको छैन, घर खर्च टर्छ । नुनतेल छैन भन्नु परेको छैन । ’

कुखुरा पाल्न थालेपछि आत्मविश्वास बढेको र भाई बुहारी पनि खुशी भएको सुरेन्द्रको अनुभव छ । ‘पहिला मेरो केहि छैन जस्तो महशुस हुन्थ्यो, अब कुखुरा पाल्न सक्छु भन्ने आत्मविश्वास भएको छ ।’ उनले भने, ‘भाई बुहारीले पनि दाईको कुखुरा भन्छन्, खुशी छन् । केहि भएन भने भाले बेचेर घरको समस्या टार्न सकिन्छ ।’

त्यसैले सुरेन्द्रले कुखुरा पालनलाई निरन्तरता दिइरहेका छन्, अहिले १७ वटा कुखुरा हुर्किरहेका छन् । सुरेन्द्रका भाई नविन कुमार प्रजा स-साना घरायशी खर्चका लागि कुखुरा पालन निकै लाभदायक देखिएको बताउँछन् ।

‘कुखुरा पालनपछि घरमा २/३ हजार रुपैयाँको गर्जो टार्न सहयोग पुगेको छ । चामल, तेल, मसला, ज्वरो आउँदा प्रयोग गर्ने फ्लेक्सन लगायत औषधि किन्न पर्दा कुखुरा बेचेर नै किन्ने गरेका छौं ।’ उनले भने, ‘छोरालाई एसइइको कोचिङ पढाउनुपर्ने घरमा पैसा थिएन, साढे ७ हजार रुपैयाँ भाले बेचेर तिरेका हौं ।’

नविन, डकर्मी हुन्, ज्याला मजदुरी गरेर घर खर्च जुटाउँछन् । दिनगन्ती ज्यालादारीमा काम गर्न मनहरी मात्रै हैन, तनहुँ, लमजुङ समेत पुग्छन् ।  ‘पैसा दिएको भए खर्च गरेर सकिन्थ्यो, कुखुरा दिएकोले निरन्तर सहयोग मिलिरहेको छ, धेरै फाईदा भएको छ ।’ नविनले भने, ‘एउटा भाले दुई किलोसम्मको हुन्छ, ८ सय रुपैयाँ किलो बेच्दा पनि सोह्र सय आउँछ । रोग नियन्त्रण भने गर्नसक्नुपर्छ ।’

नविन १२ वर्षको हुँदा बाढीले २७ रोपनी जग्गा बगाएपछि उनीहरुसँग १० कठ्ठा मात्रै जमिन छ । त्यो पनि ऐलानी हो ।

नाफानले देविटारकी फूलमाया स्याङ्तानलाई १०० वटा कुखुरा पाल्न दिएको थियो । उनले ८५ वटा कुखुरा हुर्काइन् । कुखुरा बेचेर ६० हजार जति आम्दानी भएको उनी बताउँछिन् ।

फूलमाया स्याङ्तान

फाईदा भएपछि त्यहि अनुभवको आधारमा उनले अहिलेपनि स्थानीय जातका कुखुरा पाल्दै आएकी छन् । ‘पहिला कुखुरा पाल्ने गरेको थिएन, नाफान संस्थाले दिएपछि पालेको हो । फाइदै भयो, अहिलेपनि ४० वटा जति कुखुरा पालेको छु ।’ उनले भनिन् ।

बाख्राको खोर सुधार गर्न संस्थाले १० बोरा सिमेन्ट र मिस्त्रीको ज्याला सहयोग गरेको फूलमाया बताउँछिन् ।  सुरेन्द्र र फूलमाया उदाहरण मात्रै हुन् । नाफानले राक्सिराङ्ग गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ का ६४ जना अपाङ्गगता भएका व्यक्तिलाई सहयोग गरेको छ ।

नाफानका कार्यक्रम संयोजक दिगम्बर चौधरीका अनुसार राक्सिराङ्गमा ५३ जनालाई कृषि सामाग्री र बिउ वितरण गरिएको छ । ४ जनालाई कुखुरा पालन र बाँकीलाई कागती, लोकल खुर्सानी, आँप लगायत तरकारी तथा फलफूलका विरुवा वितरण गरिएको थियो ।

पालिका जिम्मेवार नभएको गुनासो

‘ पालिकाबाट गर्ने काम राजनैतिक हिसाबले भएको गुनासो छ, परिचय पत्र नपाउनुपर्नेले पाउने, पाउनुपर्नेले नपाउने, सहज र पायक पर्ने ठाउँमा लगेर कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।’ उनले भने, ‘ अपाङ्गगता भएका व्यक्तिलाई समाजमा हेपिन्छ, त्यस विरुद्ध कार्यक्रम गर्नुपर्छ, उनीहरुको क्षमता पहिचान गरी सिपमूलक तालिम दिएर आय आर्जनका क्रियाकलापसँग जोड्नुपर्छ ।’

राक्सिराङ्ग–७ दाम्राङ्गका काजिमान प्रजा (३२)ले नाफान संस्थाबाट भाँडाकुँडा र फलफूलका विरुवा पाएका छन् । एउटा हात र एउटा खुट्टा नचलेपनि उनी खेती किसानी गर्छन् ।

‘आँप, लिच्ची, कागतीको विरुवा पाएको छु, हुर्कदैछ, पाँच फुट जतिको भइसकेका छन्, फल फल्न थालेपछि बिक्रि गरेर फाइदा लिन सकिन्छ ।’ उनले भने, ‘ पैसा दिएको भए खर्च गरेर सकिन्थ्यो, विरुवाले त वर्षौसम्म फल दिन्छ ।’

अपाङ्गगताको प्रकार र व्यक्तिको क्षमता अनुसार सहयोग उपलब्ध गराउन सके लाभदायी हुने उनको भनाई छ । ‘घरमै बसिरहनेलाई धुप बनाउने, धागो काट्ने, ऊनको स्वीटर, टोपी बुन्ने लगायत हस्तकला सिपको तालिम दिनुपर्छ, कोहि सिलाइ बुनाइ गर्न सक्ने हुन्छन् ।’ उनले भने, ‘ अपांगताको प्रकार हेरेर सहयोग दिए लाभदायक हुन्छ ।’

राक्सिराङ्ग–५ रवाङ्गका सुमन प्रजालाई प्यारालाइसिस विरुद्ध संघर्षरत छन् । नाफान संस्थाले उनलाई आँप, लिच्ची, भूँइकटहर, अम्रिसो, सुन कागतीका विरुवा वितरण गरेको थियो । साथमा कुटो, कोदालो, खुपार्, हँसिया पनि । अम्रिसोको कुचो बेचेर १२ हजार रुपैयाँ कमाएको सुमन बताउँछन् । उनले भूँइकटहर बिक्रि गरेर पनि आम्दानी लिए ।
‘हामीलाई विरलै सहयोग मिल्छ, नाफान संस्थाले आयआर्जनको लागि सहयोग गरेकोमा खुशी लागेको छ ।’ उनले भने, ‘अपाङ्गगता भएका व्यक्तिले पनि काम गरेरै जिविकोपार्जन गर्न सक्ने हैसियत राख्छन् भन्ने भावनाको विकास भएको छ ।’

नाफानका सामाजिक परिचालक रमेश प्रजाका अनुसार विभिन्न कार्यक्रम मार्फत अपांगता भएका व्यक्तिलाई आफ्नो हक अधिकार खोज्न सक्षम बनाएको बताउँछन् । ‘ अपांगता भएका व्यक्तिहरु परिचयपत्र नभएका कारण सेवा सुविधाबाट वञ्चित थिए, घर घरमा गएर व्यक्ति व्यक्तिलाई भेट्यौं, अपांगता भएका व्यक्तिको हक अधिकार के हो ? अपांगता परिचयपत्र किन आवश्यक छ ? भनेर परवी ग¥यौं ।’ उनले भने, ‘ आय आर्जनमा सहयोग ग¥यौं, सचेतना जगाउने काम भयो, अहिले उनीहरु आफूले पाउनुपर्ने सेवा सुविधाबारे खोजी गर्न थालेका छन्, परिचय पत्र बनाउन अग्रसर छन् ।’

अपाङ्गगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा समेत परिवर्तन देखिएको उनको भनाई छ ।

गाउँपालिकाले गठन गरेको अपाङ्गग समन्वय समिति सदस्य सुरेश घलान अपाङ्गता भएका व्यक्तिका लागि पालिकाले चित्त बुझ्दो काम गर्न नसकिरहेको बताउँछन् । ‘ पालिकाबाट गर्ने काम राजनैतिक हिसाबले भएको गुनासो छ, परिचय पत्र नपाउनुपर्नेले पाउने, पाउनुपर्नेले नपाउने, सहज र पायक पर्ने ठाउँमा लगेर कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।’ उनले भने, ‘ अपाङ्गगता भएका व्यक्तिलाई समाजमा हेपिन्छ, त्यस विरुद्ध कार्यक्रम गर्नुपर्छ, उनीहरुको क्षमता पहिचान गरी सिपमूलक तालिम दिएर आय आर्जनका क्रियाकलापसँग जोड्नुपर्छ ।’

पालिका परिचय पत्र वितरण र सिमित व्यक्तिलाई सहयोगी सामाग्री वितरणमा केन्द्रित हुन नहुने उनको भनाई छ ।
‘जसको सवाल, उसकै नेतृत्व’ हुनुपर्ने बताउँदै उनले छिट्टै भेला आयोजना गरी संस्था गठन गरेर अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि आवाज उठाउने तयारीमा लागेको बताए ।

परिचय पत्र वितरण पछि विशेष योजना

पालिकाले गरेको पछिल्लो घरधुरी सर्वेक्षणमा अपाङ्गता भएका व्यक्तिको संख्या ३ सय ७ जना देखिएको छ । तर परिचयपत्र बनाउनेको संख्या भने २ सय १३ जना मात्रै पुगेको छ । ९४ जनाको परिचय पत्र बनाउन बाँकी छ ।

राक्सिराङ्ग गाउँपालिकाले अपाङ्गगता भएका नागरिकलाई विभिन्न सेवा सुविधा दिँदै आएको छ । त्यसका लागि पालिकाले अपाङ्गगता भएका व्यक्तिको परिचउय पत्र वितरण कार्यविधि २०७५ जारी गरेको छ । विभिन्न प्रकारका अपाङ्गगता भएका व्यक्तिको पहिचान गरी उनीहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, पालिकामा लगत राखी सेवा सुविधाहरुको लागि योजना निर्माण गर्न कार्यविधि बनाइएको गाउँपालिकाले जनाएको छ ।

घरधुरी सर्वेक्षण गर्दा परिचय पत्र नपाएका अपाङ्गता भएका व्यक्तिको संख्या बढी देखिएपछि हालै वडा नं ६ र ७ मा घुम्ति शिविर मार्फत परिचय पत्र वितरण गरेको छ । स्वास्थ्यको टोली सहितको घुम्ति शिविरमा ६० जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक गोमा पन्थीले जानकारी दिइन् ।

उनका अनुसार पूर्ण अशक्त अपाङ्गता भएका ‘क’ वर्गका ९ जना, अति अशक्त अपाङ्गता ‘ख’ वर्गका १९ जना, मध्यम अपाङ्गता ‘ग’ वर्गका १४ जना र सामान्य अपांगता भएका ‘घ’ वर्गका १८ जनालाई क्रमशः रातो, निलो, पहेँलो र सेतो परिचयपत्र वितरण गरिएको थियो ।

सहायक महिला विकास निरीक्षक पन्थीले पालिकाले नियमित रुपमा अपाङ्गता परिचय पत्र वितरण गर्नुको साथै ह्विल चियर, बैशाखी, कृतिम हात खुट्टा लगायत सहायक सामाग्री वितरण गर्दै आएको जानकारी दिइन् । पालिकाको हिउँदे अधिवेशन पछि अन्य वडामा पनि घुम्ति शिविर सञ्चालन गरेर परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको उनको भनाई छ ।

पालिकाले गरेको पछिल्लो घरधुरी सर्वेक्षणमा अपाङ्गता भएका व्यक्तिको संख्या ३ सय ७ जना देखिएको छ । तर परिचयपत्र बनाउनेको संख्या भने २ सय १३ जना मात्रै पुगेको छ । ९४ जनाको परिचय पत्र बनाउन बाँकी छ ।

तर पहेँलो र निलो परिचयपत्र भएकालाई सरकारले भत्ता नदिने हुँदा त्यसप्रतिको आकर्षण खासै नरहेको पाइएको छ । सम्बन्धित व्यक्ति लिन नआउँदा पालिकामा एक दर्जन परिचय पत्र दराजमा थन्क्याइएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पहिचानको परिचय पत्र नपाउँदा अपाङ्गगता भएका व्यक्ति राज्यबाट प्रदान हुने सेवा सुविधबाट वञ्चित रहेकोले त्यसलाई प्राथमिकतामा राखिएको बताए ।

‘पहिला त अपाङ्गता भएका व्यक्तिको पहिचान गरेर परिचय पत्र वितरण गर्नुपर्छ, त्यसले उनीहरुलाई संघ सरकारबाट पाउने सेवा सुविधासँग जोड्छ । घरधुरी सर्वेक्षणबाट पहिचान र घुम्ति शिविर मार्फत परिचय पत्र वितरण गरिरहेका छौं ।’ उनले भने, ‘ अब राहत प्याकेज लिएर घर घरमा जाने, आवश्यकता अनुसार ह्विल चियर लगायत सहयोगी सामाग्री वितरण गर्ने र क्षमता अनुसार सिप सिकाएर आय आर्जनका क्रियाकलापसँग जोड्ने लक्ष्य छ ।’

परिचय पत्र वितरण गरिसकेपछि ‘विशेष योजना’ बनाएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता उनको छ ।

यो पनि पढ्नुहोस

‘ड्यू कल्चर’को दलदलमा चेपाङ समुदाय

 

 

Tags: अपाङ्गता भएका व्यक्तिनाफानराक्सिराङ्ग गाउँपालिका
Previous Post

‘ड्यू कल्चर’को दलदलमा चेपाङ समुदाय

Next Post

नाफिजद्वारा सदस्यहरुका लागि ७ लाखको दुर्घटना बीमा

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.