काठमाडौं
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले १६ करोड ४५ लाख रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ गरेको छ । २ सय ३५ जना सदस्य तथा सल्लाहाकारहरु समेतको प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गरिएको हो ।
बुधबार दुई वटा निर्जीवन बीमा कम्पनीसँग सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता गरिएको नाफिजको उप निर्देशक सन्तोषी शिवाकोटीले जानकारी दिइन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँग सामूहिक दुर्घटना बीमाका लागि सम्झौता भएको उनले बताइन् ।
सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र बहादुर वैदावर र नाफिजको तर्फबाट अध्यक्ष मेनुका कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नाफिज अध्यक्ष कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकार विभिन्न किसिमका दुर्घटनाको जोखिममा रहने भएकाले त्यस्तो जोखिम बहन गर्न सामूहिक दुर्घटना बीमा गरिएको बताइन् ।
‘फिल्डमा काम गर्दा दुर्घटनाका विभिन्न जोखिम आउँछन्, पत्रकार जोखिम मोलेरै काममा खटिएका हुन्छन्’ अध्यक्ष कार्कीले भनिन्, ‘दुर्घटना नै नहोस भन्ने हाम्रो चाहना हो, कथम्कदाचित कुनै दुर्घटनामा परिहालेको खण्डमा पत्रकारले भार पर्दैन, बीमाले बहन गर्छ ।’
नाफिजको लागि ऐतिहासिक र गौरवको काम भएको उनी बताउँछिन् ।
नाफिज आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका साथै स्वास्थ्य प्रति समेत सचेत रहेको अध्यक्ष कार्कीको भनाई छ ।
बीमा सम्बन्धि सम्झौतापत्र आदान प्रदान कार्यक्रममा बोल्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बीमाले पत्रकारको सुरक्षामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारको बीमा गराएर पत्रकारलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताए ।
Discussion about this post