कक्षा चेपाङ भाषामा सञ्चालन हुन्छ । चेपाङ समुदायको परम्परागत ज्ञान, सिप, कला, भाषा, सँस्कृति, संस्कार र परम्पराका बारेमा सिकाइन्छ । आमाहरुलाई परम्परा, रिति रिवाज भूल्न हुँदैन भनेर सिकाउने गरिन्छ । सहभागीहरुबीच आफूले जानेको सिप अरुलाई सिकाउन प्रोत्साहन गरिन्छ । कतिपय महिलाले कक्षाबाटै डोको, चकटी, जाबी, डेली बुन्न सिकेका छन् ।
राक्सिराङ्ग,
राक्सिराङ्ग गाउँपालिका–८ कुनाले कि माईली माया प्रजा (५४) ले लेखपढ गर्न पाइनन् । हस्ताक्षर मात्रै गर्न सके हुन्थ्यो भन्ने उनको धोको थियो । त्यो धोको राष्ट्रिय जनवकालत मञ्च (नाफान) संस्थाले पुरा गरिदियो । अक्षर नचिन्ने आमा, विद्यालय जाने उमेर नपुगेका र विद्यालय छोडका बालबालिकाका लागि लक्षित गरेर संस्थाले अनौपचारिक कक्षा सञ्चालन गयो । अचेल माईली माया नाम लेख्न सक्छिन् ।
‘स–साना भूराहरुलाई नाम लेख्न आउँदा, मलाई आउँदैनथ्यो, जे काम गर्दा पनि औंठा छाप लगाउनुपर्नेे, तर कामना बहिनीले सिकाएपछि अहिले जानेको छु ।’ उनले भनिन् ।
कामना प्रजा राक्सिराङ्ग–८ कुनालेमा सञ्चालित अनौपचारिक कक्षाको सहजकर्ता हुन् । स्थानीय शान्तमाया चेपाङ (४०)ले अनौपचारिक कक्षाबाट जाबी (एक प्रकारको झोला) र चकटी बुन्न सिकेकी छन् । भोर्लाको बोक्राबाट रेसा निकालेर खरानी पानीमा पकाएर पाट बनाई जाबी बुन्ने गरिन्छ । जाबी सामान राख्न प्रयोग गरिन्छ ।
अनौपचारिक कक्षामा आमालाई बच्चालाई कसरी सफा राख्ने ? आफ्नो र बच्चाको स्वास्थ्यको ख्याल कसरी गर्ने ? परिवार नियोजनको साधन, महिनावारी लगायत विषयमा जानकारी गराइन्छ । संस्थाले अनौपचारिक कक्षाका सहभागीलाई सरसफाई सामाग्री समेत दिएको थियो ।
कुनालेमा आमा समूहका ४ जना सदस्यले पैसा बचत समेत गर्ने गरेका छन् । तर त्यो नियमित भने छैन । ‘हातमुख जोर्न त गाह्रो छ, कहाँबाट बचत गर्नु ?’ उनीहरु भन्छन् ।
मनिषा माया प्रजा (४०) अनौपचारिक कक्षामा बसेपछि अरुसँग धक फुकाएर बोल्न सक्ने भएको बताउँछिन् । ‘पहिला मानिसहरुसँग बोल्न डर लाग्थ्यो, अहिले त्यो डर हटेको छ, नाम लेख्न सक्ने भएको छु ।’ उनले भनिन्, ‘छोरा छोरीहरुले पनि पढ्न लेख्न सिकेका छन् ।’
नफानले सबैको लागि शिक्षा (सिमान्तकृत समुदायको सशक्तीकरणका लागि शिक्षा सम्बन्धी परियोजना) अन्तर्गत वडा नं ७ को हेम्राङ र दाराङ, वडा नं ८ को कुनाले र हात्ती खोलामा अनौपचारिक कक्षा सञ्चालन गरिरहेको छ । कक्षा सञ्चालन गर्न सहजकर्ताका लागि पुस्तिका तयार पारिएको छ । त्यसै अनुसार उनीहरुले कक्षा चलाउँछन् ।
महिला तथा बालबालिका लक्षित अनौपचारिक कक्षामा अक्षर चिनाउने, लेख्न सिकाउने, व्यक्तिगत सरसफाई बारे बताउने गरिन्छ ।
परिवार नियोजनका साधनको बारेमा जानकारी गराएपछि कतिपय महिलाले त्यसको प्रयोग गर्न थालेका छन् । स्वास्थ्य चौकीमा गर्भ जाँच र प्रसुती गराउन जाने क्रम बढेको छ ।
बालबालिकालाई विद्यालय शिक्षा तर्फ आर्कषित गर्न नेपाली र अंग्रजी वर्णमालाका अक्षर चिनाइन्छ । प्रारम्भिक बाल विकास केन्द्र (इसिडी)मा जसरी अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिन्छ ।
कुनालेको कक्षामा विद्यालय बाहिर रहेका १५ जना बालबालिका र १८ जना आमाहरु आउँछन् । सामान्यतः कक्षा बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म सञ्चालन हुन्छ । कहिलेकाँही दिउँसो १/२ बजेसम्म चल्ने गरेको कामना बताउँछिन् । ‘वडा नं ८ स्थित चामन्तीमा इसिडी छ, त्यो भन्दा माथिल्लो कक्षा पढ्नका लागि साढे २ घण्टा हिँडेर श्री देविटार माध्यमिक विद्यालय जानुपर्छ । तैपनि यता पढेका १२ जना भाईबहिनीहरुले विद्यालयमा पढ्न थालेका छन् ।’ उनी भन्छिन्, ‘आमाहरुमा छोरा छोरीलाई पढाउनुपर्छ, नियमित विद्यालय पठाउनुपर्छ । भन्ने चेतनाको विकास भएको छ ।’
कक्षा चेपाङ भाषामा सञ्चालन हुन्छ । चेपाङ समुदायको परम्परागत ज्ञान, सिप, कला, भाषा, सँस्कृति, संस्कार र परम्पराका बारेमा सिकाइन्छ । आमाहरुलाई परम्परा, रिति रिवाज भूल्न हुँदैन भनेर सिकाउने गरिन्छ । सहभागीहरुबीच आफूले जानेको सिप अरुलाई सिकाउन प्रोत्साहन गरिन्छ । कतिपय महिलाले कक्षाबाटै डोको, चकटी, जाबी, डेली बुन्न सिकेका छन् ।
अनौपचारिक कक्षामा सहभागी भएका मध्ये ४ जनाले परिवारको नियोजनको अस्थायी साधन तीन महिने सुई प्रयोग गर्न थालेको उनले बताइन् । राक्सिराङ्गमा प्रायः घरमै सुत्केरी गराउने गरिन्छ । तर अनौपचारिक कक्षामा घरमा सुत्केरी गराउँदा आमा र बच्चालाई आउन सक्ने जोखिमको बारेमा बताएपछि एउटी महिलाले हेटौंडा अस्पतालमा गएर बच्चा जन्माएको कामनाले सुनाइन् ।
सामाजिक परिचालक कामना सुरुका दिनमा भन्दा अहिले कक्षामा सहभागीको व्यक्तिगत सरसफाइमा निकै सुधार आएको बताउँछिन् । ‘घर आँगन सफा राख्नुहुन्छ, आफूहरु सफा बस्नुहुन्छ, बालबालिकाको सरसफाईमा ध्यान दिनुहुन्छ ।’ उनले भनिन्, ‘ विद्यालय जाने बालबालिकालाई पनि सफा बनाएर पठाएको देख्छु ।’
राक्सिराङ–७ दाराङमा अर्को अनौपचारिक कक्षा सञ्चालनमा छ । ३ देखि १३ वर्षका ३० जना बालबालिका कक्षामा आउँछन् । सामाजिक परिचालक सशिता चेपाङले कक्षा सञ्चालनको जिम्मा पाएकी छन् । ‘सक्नेलाई जाबी, चकटी बुन्न सिकाउँछौं, नसक्नेलाई अंग्रेजी र नेपाली वर्णमालाका अक्षर चिनाउँछौं ।’ सशिता भन्छिन्, ‘परम्परागत ज्ञान सिपका कुरा जान्ने मानिसलाई बोलाएर सिक्ने सिकाउने वातावरण बनाउँछौं ।’
बालबालिकालाई अनौपचारिक कक्षामा गीत गाउन, नाच्न समेत लगाइन्छ । यसो गर्दा उनीहरु रमाउने गरेको सशिताको अनुभव छ । उनका अनुसार सिप जानेका महिलाले नजानेकालाई सिकाउँछन् । कक्षामा बसेका महिला सामान्य लेखपढ गर्न र आफ्नो नाम लेख्न जान्ने भइसकेका छन् ।
‘स–साना भाइबहिनीलाई प्रारम्भिक बाल विकास केन्द्रमा जान समेत साढे २ घण्टा हिँडेर धिराङ जानुपर्छ । ५/६ कक्षा पढ्नेहरुलाई नै डेढ घण्टा लाग्छ होला ।’ उनले भनिन्, ‘बिहान अनौपचारिक कक्षामा आउँछन्, राक्सिराङ गान, राष्ट्रिय ज्ञान सिकाउँछु, परम्परागत ज्ञान सिपसँगै नेपाली र अंग्रजी वर्णमालाका अक्षर चिनाउँछु । दिउँसो विद्यालय जान्छन् ।’
अनौपचारिक कक्षा सञ्चालन हुनुअघि गाउँका बालबालिका विद्यालय नजाने गरेकोमा हिजोआज सबै विद्यालय जान थालेको उनले बताइन् ।
‘अभिभावकले बालबालिकाको सरसफाईमा खासै ध्यान दिँदैनथे, सुरुमा कक्षामा नै नुहाउने, कपाल काट्ने गरिदियौं, अहिले अभिभावकले आफैं सफा बनाएर पठाउँछन् ।’ सशिताले भनिन्, ‘कलम समाउन नजान्ने बालबालिका र आमाहरु नाम लेख्न अनि अक्षर चिन्न सक्ने भएका छन् । आफूले नपढेपनि बालबालिकालाई पढाउनुपर्ने रहेछ । नपढेपछि धेरै कुरा नबुझेर पछाडि पर्ने रहेछ भनेर चेतना जागेको छ ।’
सुरुका दिनमा २० जना मात्रै आउने गरेकामा राम्रोसँग कक्षा सञ्चालन भएपछि तीन जना थपिएका छन् । डोको, नाम्लो, डालो, नाङ्ग्लो, माण्डो, जाबी, सिपरिङ, चाल्नो, चिउरीको दाना राख्ने बेसिङ बनाउने जस्ता सिप एक अर्कालाई सिकाउँछन् ।
पछिल्ला दिनमा चेपाङ समुदायको कला, भाषा, सँस्कृति, परम्परागत ज्ञान सिप लोप हुँदै गईरहेको छ । अनौपचारिक कक्षा सञ्चालनको मुख्य उद्द्ेश्य बालबालिका र महिलालाई साक्षर बनाउनुको साथै शक्षासँगै चेपाङ समुदायमा लोप हुँदै गएको कला, सँस्कृति र परम्परा जोगाउनु नै रहेको नाफानले जनाएको छ ।
राक्सिराङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत पंकस थारु नाफान संस्थाले अनौपचारिक कक्षा मार्फत महिला र बालबालिकालाई व्यवहार परिवर्तन र जीवन उपयोगी सिप सिकाइरहेको बताउँछन् । उनका अनुसार नाफानले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय शिक्षामा लैजान र बीचमै पढाई छोडेका विद्यार्थीलाई पूनः विद्यालय फर्काउन मद्दत गरिरहेको छ ।
‘पाँच कक्षा पढेर छोडेकालाई उमेर बढी भएका कारण पूनः पाँचमा पढ्न मन नलाग्ने रहेछ, एक वर्षमा पढेर ८ कक्षामा भर्ना गर्न सकिन्छ ।’ उनले भने, ‘भौगोलिक विकटता रहेको पालिकामा स–साना बालबालिकालाई विद्यालय जान तीन घण्टासम्म हिँड्नुपर्छ । अनौपचारिक कक्षाले पालिकाको शैक्षिक अवस्था सुधार गर्न सघाउ पुगेको छ ।’
वडा नं ७ का अध्यक्ष राम बहादुर प्रजाका अनुसार पालिका र वडासँगको परामर्शमा नै नाफानले अनौपचारिक कक्षा सञ्चालन गरेको हो ।
‘बालबालिकाको हकमा स्कुल जाने वातावरण बनेको छ । समूहमा बोल्न नसक्ने महिला उठेर परिचय दिन सक्ने भएका छन्, महिला आफ्नो अधिकारको बारेमा सचेत बनेका छन् ।’ उनले भने, ‘ अहिलेको पुस्ता परम्परागत ज्ञानसिप सिक्न चाहाँदैन, आमाहरुबीच सिप आदान प्रदान हुन्छ ।’
आगामी आर्थिक वर्षदेखि पालिकाले परम्परागत सिपलाई विद्यालयमै सिकाउने तयारी गरिरहेको उनले बताए । ‘जाबी, डोको, नाम्लो बुन्ने, हलो बनाउने सिप विद्यालयमा सिकाउने तयारी गरिरहेका छौं ।’ उनले भने, ‘ आगामी आर्थिक वर्षदेखि त्यसका लागि कक्षा नै छुट्याउँछौं ।’
गाउँपालिकामा ५९ वटा इसिडी कक्षा सञ्चालनमा छ । आवश्यकता अनुसार इसिडी थप गर्ने योजना पालिकाको छ ।
टाढाको विद्यालय जान नसक्ने स–साना बालबालिकालाई लक्षित गरेर इसिडी थप गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
‘विद्यालय मर्ज (गाभ्ने) र दरबन्दी मिलानका लागि गृहकार्य गरिरहेका छौं । विद्यार्थी संख्या कम भएको विद्यालयलाई नजिकैको अर्को विद्यालयसँग मर्ज गर्छौ, विद्यार्थी संख्या पुगेकालाई राम्रो व्यवस्थापन गरिन्छ, टाढा रहेको थोरै विद्यार्थी संख्या भएको विद्यालयमा इसिडी मात्रै सञ्चालन गर्छौ’ उनले भने, ‘ टाढाको विद्यालय जान नसक्ने बालबालिकाले त्यसबाट लाभ पाउँछन् ।’
शिक्षा क्षेत्रको विकासका लागि युएसआइडीले सहयोग गर्ने आश्वासन दिएकोले १ देखि ३ कक्षासम्म राम्रो बनाउने उनले बताए । सामाजिक विकासमा काम गर्ने सोचले अघि बढेको बताउँदै उनले माग भएको खण्डमा प्रौढ शिक्षा, गृहिणी शिक्षा र किशोरी लक्षित अनौपचारिक कक्षा सञ्चालन गर्न सकिने जानकारी दिए ।
बालबालिकालाई मातृ भाषा बाहेकका भाषाबाट पढ्न कठिनाई भएको, चेपाङ र तामाङ भाषामा पाठ्यक्रम बनाउनुपर्ने आवाज उठिरहेको उनको भनाई छ ।
यी समाचारहरु पनि पढ्नुहोस ।
राक्सिराङ्ग वडा नं ७ ‘चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र’ घोषित
राक्सिराङ्ग वडा नं ७ ‘चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र’ घोषित
राक्सिराङ्ग गाउँपालिकाका प्रवक्ता भन्छन्, गाजालाई कि वैधानिकता देउ, कि विकल्प देउ
राक्सिराङ्ग गाउँपालिकाका प्रवक्ता भन्छन्, गाजालाई कि वैधानिकता देउ, कि विकल्प देउ
‘ड्यू कल्चर’को दलदलमा चेपाङ समुदाय
सहयोगले जगायो अपाङ्गता भएका व्यक्तिहरुको आत्मविश्वास
Discussion about this post