esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

जलवायु परिवर्तनका कारण साम्जोङले व्यहोरेको गैरआर्थिक क्षति : गाउँ नै बन्यो शरणार्थी

ईसनेश ईसनेश
प्रकाशित २०८१ माघ २१, सोमबार २२:५२ बजे
जलवायु परिवर्तनका कारण साम्जोङले व्यहोरेको गैरआर्थिक क्षति : गाउँ नै बन्यो शरणार्थी
0
SHARES
0
VIEWS

Ghanshyam Khadka/NIMJN

मुस्ताङको उपल्लो थलो, माटोको सहर लोमन्थाङदेखि उत्तरी कुनो, नेपाल–चीनबीचको ३१ नम्बर सीमास्तम्भ रहेको पाङलाक्मो डाँडाको फेदीबाट बालीमम्बा र धुङ्कारो मुहान जोडिएर बग्छ, investigation-1719398034.pngपेमरा खोला । यही पेमरा खोलाको पश्चिम बगरमा समुद्र सतहदेखि करिव ३८०० मिटर उचाइमा अवस्थित छ, साम्जोङ ।

लोमन्थाङ गाउँपालिका–१ छोसेरको उत्तरपूर्वमा चौंरीगोठ जाने बाटो पछ्याउँदै जाँदा विचित्रको सौन्दर्यले भरिपूर्ण तर डरलाग्दो एक्लोपना बोकेर उभिएको साम्जोङ गाउँमा पुगिन्छ ।

उर्किन री पहाड चढेर फेरि तल झरेपछि पुगिने यो सुन्दर साम्जोङमा गुचुमुच्च घरहरू छन् । तर ती घरमा मान्छे भने बस्दैनन् । गाउँ सुनसान छ, घर खण्डहर बन्दै छन्, खेतबारी बाँझो छ ।

यो गाउँ दुई दशक अघिसम्म यस्तो थिएन । बालुवाको पहाडले घेरिएको साम्जोङमा रमाइलो बस्ती थियो । कात्तिकको पहिलो हप्ता मोटरसाइकलमा उर्किन री पहाड चढेर आफ्नो जन्मस्थान उक्लिएका साम्जोङ पुगेका छिरिङ ढिन्ढु गुरुङ (२५) का अनुसार पेतो, नापिङजुङ र सेन्जा फाँटमा फल्ने उवा, फापर, आलु, तोरीको उत्पादनले गाउँले सबैलाई खान पुग्थ्यो । गाउँलेका गोठभरी चौंरी र च्याङ्ग्रा हुन्थे ।

तर जलवायु परिवर्तनका कारण हिउँ पर्ने क्रम घटेको र तापक्रम बढ्दै गएकाले पेमरा खोला सुक्दै गयो । हिउँ पग्लेर आउने खोला नै सुकेपछि खेतीयोग्य फाँटमा पानी पुग्न छाड्यो । हुँदाहुँदै पिउने पानी नै नपाउने स्थिति भयो । काकाकुल बनेर कति दिन बस्न सकिन्थ्यो र ? अति भएपछि १८ घरपरिवारका ८५ जनाको बसोबास रहेको यो बस्ती ९ वर्षअघि उत्तम साइत पारेर मे १९, २०१५ मा बसाइँ हिँड्यो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठ हिउँ विस्तारै पग्लिएर जमिनको पानी भण्डारण भरिनुपर्नेमा हिउँ नै कम भई भण्डारण रित्तो बनेपछि स्वाभाविक रूपमा पानीका मुहान सुक्न थालेको बताउँछन् । “जलवायु परिवर्तनका कारणले हिमालय क्षेत्रमा हिमपात हुने र पानी पर्ने शैली परिवर्तन भएको छ,” श्रेष्ठले भने, “हिउँ पर्ने स्थानमा पानी पर्न थालेपछि हिउँले ढाकेको क्षेत्र माथि माथि सर्दै गएको छ ।”

हिमपात र पानी पर्ने शैलीमा परिवर्तन आएकै कारण स्थानीय बासिन्दाले विभिन्न खालका आर्थिक र गैरआर्थिक क्षति भोग्नुपरेको छ । पानीको अभावमा थातथलो छाडेर हिँड्नुपर्ने स्थिति आउनु नै सबैभन्दा ठूलो गैरआर्थिक क्षति हो भन्छिन् पर्यावरणविज्ञ सिलसिला आचार्य । “जलवायु परिवर्तनका कारण वर्षा र हिमपात कम भई पानीको स्रोत सुक्न थालेपछि पानी खोज्न पुर्ख्यौली थलो छाडेर निक्लनु भनेको सामाजिक न्यायका हिसाबले क्लाइमेट रिफ्युजी (जलवायु शरणार्थी) बन्नु हो,” बीबीसी १०० महिलाको सूचीमा परेकी आचार्यले भनिन् ।

साम्जोङका बासिन्दाले प्रयोग गर्ने पानीका मूल एक्कासि सुकेका होइनन् । २०६१/६२ सालमै सिँचाइ गर्ने पानीको स्रोत मूल सानो भएकाले गाउँलेले बस्तीमाथिको पेतो फाँटमा खेती गर्न छोडिसकेका थिए । त्यसपछि पनि पानीको बहाव झन्झन् घट्यो, गाउँलेले खेती गर्ने तल्लो सेन्जा फाँट पनि बाँझियो, अनि जेठ, २०७२ सम्ममा त बस्ती छेउको नापिङ्जुङ फाँटमै पानी पुर्‍याउन सकिएन । त्यसपछि गाउँलेहरू पुर्ख्यौली थातथलो छोडेर बसाइँ हिँडेको छिरिङले बताए ।

९ वर्षअघि बसाइँ हिँड्दा छिरिङ मात्र १६ वर्षका थिए । विश्वमा भएको विकास र सुखभोगको सजाय दुर्गम गाउँका आफूहरूजस्ताले भोग्नुपरेको छिरिङ बताउँछन् । हुन पनि उपल्लो मुस्ताङको आकाशमा कुनै धूवाँधूलो छैन । न त ग्लोबल वार्मिङको कारक कुनै कार्बन उत्सर्जन नै हुन्छ । तर पनि ग्लोबल वार्मिङको असरले बर्खामा बाढी आउने गरी पानी पर्न थाल्यो, हिउँदमा हिउँ पर्न छाड्यो । हिउँमा ढाकिने बलौटे माटोले बर्खाको ठूलो पानी सहने कुरै भएन । बर्खामा नचाहिएको बाढी आयो, हिउँदमा रसाउने पानीको मूल सुक्यो ।

Samjong-land-1738569045.jpg
साम्जोङका बासिन्दा बसाइँ सरेपछि उनीहरूको जमिन अहिले चरण बनेको छ । तस्बिर : घनश्याम खड्का/निमजिन

उपल्लो मुस्ताङमा साम्जोङ मात्र होइन, छिमेकी लोघेकर–दामोदरकुण्ड गाउँपालिका– ५ को ध्ये गाउँको बस्ती पनि पानीकै कारण विस्थापित भएको छ । खानेपानी र सिँचाइ गर्ने पानीको मूल सुकेपछि ध्ये गाउँका बासिन्दा सन् २००७ मा २ घण्टा तल ३७०० मिटर उचाइमा अवस्थित कालीगण्डकी नदी किनाराको थामजुङमा बसाइँ सरेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोप्पेल विष्टले जानकारी दिए ।

यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, मा पर्ने तेताङमा पनि पानी सुक्दै गएको छ । यहाँ सिँचाइका लागि बस्तीदेखि माथि पैदल चार घण्टा हिँडेर पुगिने मनाङ जिल्लाको सीमामा पर्ने को र याचो मूलको पानी ल्याइएको छ । तर हिउँ पर्न कम भएपछि मूल सुक्दै गएकाले सिँचाइका लागि पानी अपुग छ । पानीको समस्या भागेका उपल्लो मुस्ताङका यी तीनवटै बस्ती कालीगण्डकी नदीको पूर्वमा अवस्थित छन् । “पहिला कुलोमा ठूलो पानी बगाउँदा सोसिएर बग्दा पनि खेतबारीमा सिँचाइ गर्न पुग्ने पानी पुग्थ्यो,” वारागुङमुक्तिक्षेत्र गाउँपालिका–३ का वडासदस्य धर्पो गुरुङले भने, “अहिले मूलमै पानी घटेपछि कुलोबाट बगाएर खेतबारीमा पुर्‍याउँदा पानी नै सानो बनेको हो ।”

जोमसोम–कोरला सडक खण्डको छुक्साङदेखि पश्चिम नरसिङखोलास्थित भोटको नुनखानी नजिकैको तेताङमा पोखरी बनाएर आलोपालो सिँचाइ गर्न थालिएको छ ।

पानीबिना जीवनको कल्पना नै गर्न नसकिने भएकाले पानी जीवन हो भनिन्छ । कुनै पनि ठाउँको पारिस्थितिक प्रणाली कामय राख्न पानीको भूमिका निक्कै महत्त्वपूर्ण हुन्छ । त्यसैले पानीको स्रोत अझै सुक्यो भने साम्जोङ र ध्ये गाउँका बासिन्दाले झैँ बस्ती छाड्नुपर्ने हो कि भन्ने चिन्ता रहेको भन्दै वडासदस्य गुरुङले त्यस्तो दिन नआए हुन्थ्यो भन्ने कामना गरे ।

 साम्जोङ गाउँमा छिरिङ ढिन्ढु गुरुङ । तस्बिर : घनश्याम खड्का/निमजिन

साम्जोङका बासिन्दा माठी ह्यामो र फुच्यावालाई गाउँको जिम्मा लगाएर बसाइँ हिँडेका थिए । साम्जोङका बासिन्दाले माठी ह्यामोलाई देवी र फुच्यावालाई देवताका रूपमा पुज्छन् । गाउँका देउतालाई गाउँमै छाडे पनि घरका देउतालाई साम्जोङबाट बसाइँ सरेको दिन बिहानै क्षमापूजा गरी छिरिङले च्याङ्ग्राको ऊनबाट बुनेको बोरामा हालेर बोकेका थिए ।

“केही घरायसी सामान र अन्नपातलाई घोडामा बोकाइएको थियो, ओढ्ने–ओछ्याउने बाबाले बोक्नुभएको थियो,” उनी स्मरण गर्छन् । छिरिङकाका अनुसार अघिअघि घोडा, त्यसपछि ११ वर्षका भाइ, ९ र ६ वर्षका बहिनीहरू, आफू र बुबा तोप्के गुरुङ लस्करै बसाइँ हिँड्ने गाउँको टोलीमा मिसिएका थिए । छिरिङकी आमा पहिल्यै बितेकी थिइन् ।

साम्जोङबाट हिँडेको ताँती कालीगण्डकी करिडोर सडकअन्तर्गत लोमन्थाङ–कोरला खण्डको छोसेरपारि कालीगण्डकी नदी किनाराको नाम्सुङमा झरेर रोकिएको थियो । जहाँ अहिले उस्तै रङ, स्वरूप र आकारका घर लस्करै देखिन्छन् । बसाइँ सरेर आएकाहरूले बसाएको यो ‘मुस्ताङ्गी कान्छो गाउँ’ को बस्ती बाहिरबाट हेर्दा सुन्दर देखिए पनि बस्तीका बासिन्दाको मनभित्र थातथलो छाड्नुपर्दाको दुःखपीडा उस्तै छन् ।

जन्मेहुर्केको पुर्ख्यौली थातथलो र देवीदेउता छोडेर अर्कैको ठाउँमा बसाइँ हिँड्दा छिङ्जु गुरुङ (६०) का आँखा रसाएका थिए ।  उनका अनुसार हिउँदमा हिउँ परेन । एक बाली मात्र खेती हुने यो ठाउँमा फागुन मध्यदेखि चैतभित्र खेती लगाइसक्नुपर्ने थियो । हिउँ नपरेपछि बलौटे माटो सुक्खा भयो, पानीको मुहान पनि सुकेकाले बस्ती छेउको खोलामा पानी आएन, सिँचाइ गर्न समस्या भयो । “उब्जाउ नभएपछि गाउँमा अनिकाल पर्‍यो, त्यसैले जन्मथलो छोडेर लालावाला च्यापेर नाम्सुङ झरेका हौँ,” छिङ्जुले विगत सुनाइन् ।

पानीको स्रोत सुकेपछि अन्नबाली उत्पादन नभएर भोकमरीको स्थिति आउने हुँदा बसाइँसराइको विकल्प नै नहुने पर्यावरणविज्ञ आचार्य बताउँछिन् । पानीको संकट भएर पानी नपाउँदा मानव जातिका लागि मात्र नभएर समग्र पारिस्थितिक प्रणालीमा भयावह स्थिति आउने खतरासमेत हुुने उनी बताउँछिन् ।

साम्जोङ गाउँ र उर्किन री पहाड । तस्बिर : घनश्याम खड्का/निमजिन

साम्जोङको पछाडि छियाछिया परेको रातो ठाडो पाखो छ, उर्किन री । मनसुनमा अति न्यून वर्षा हुन्थ्यो । वर्षाको पानी त्यहीँ बालुवाको पाखामा सोसिन्थ्यो । बगेर तल आउँथेन । पछिल्ला दुई दशकयता मनसुन सिजन (साउन–भदौ–असोज) मा बाक्लो वर्षा हुने क्रम बढेको छ । बाक्लो वर्षा हुँदा पहाडबाट बालुवा सललल बग्न थालेको छ । बस्तीका घरहरू त्यो बालुवाले पुर्न थालेपछि अर्को असुरक्षा थपियो ।

“पहिला पहिला त पानी नै अलिअलि मात्र पथ्र्यो रे । अहिले त भदौ, असोजमै ठूलो पानी पर्छ । पहिला पनि यस्तै पानी पर्ने र बाढी आउने गरेको भए पुर्खाले किन यो भीरको जरोमा गाउँ बसाउँँथ्यो होला र ?” छिरिङ प्रश्न गर्छन् । उनका अनुसार गाउँ छाड्नुभन्दा अघिका केही वर्षमा बर्सेनि बाढी आएको थियो ।

“पानी परेका बेला गाउँभरिका मान्छे रातभर सुत्नै सक्दैनथ्यौं,” साम्जोङ छोड्नुअघिका दिन सम्झँदै छिरिङले थपे, “फेरि समयमा हिउँ परेन, खेती रोप्ने चैत/वैशाखमा हिउँ पर्‍यो, बाली भित्र्याउनुअघि  पानी परेर बाली पाक्न पाएन ।”

कुनै वर्ष त खडेरीले अनिकाल नै सामना गर्नुपर्‍यो । हिउँदमा हिउँ पर्न छोडेपछि गर्मी बढ्न थाल्यो । छेउको पेमरा खोलामा पानी सुक्यो, सिँचाइ गर्ने पानीको स्रोत भएन । गाउँमा ल्याएको खानेपानीको मूल पनि घट्दै गयो । साम्जोङका बासिन्दाले पिउने पानीको धुङ्कारो मूल त पूरै सुकेन तर सानो भयो । मान्छे र गाउँभरिका ३ सयभन्दा बढी घोडा, चौंरी र च्याङ्ग्रालाई खुवाउन पानी अपुग हुन थाल्यो । हिउँ पातलियो, पानीका मुहान र खोला सुक्यो अनि बस्तीको अस्तित्व नै मेटियो ।

साम्जोङकी जेठीमध्येकी एक छिङ्जु त्यो वर्षलाई सम्झन्छिन्, जुन वर्ष हिउँदका चिसा दिनमा पनि हिउँ चाँडै पग्लिएको थियो । “त्यही वर्षको बर्खायामको एक दिन छेउको पेमरा खोला शान्त रहेन, बौलाह रूप धारण गर्‍यो । ऊर्वर खेती बगायो । बस्तीमाथिको उर्किन री पहाडबाट पनि बौलाह भल बस्तीमा पस्यो ।” यसपालि पनि असोजमा दुई दिन लगातार झरी परेको थियो । न्यूनवृष्टि (अल्पवृष्टि) हुने मुस्ताङका लागि दुई दिने झरी अनौठो वर्षा हो ।

हिमाल हेर्न दक्षिणतिर फर्कनुपर्ने मुस्ताङ हिमालय शृंखलाको वृष्टिछाया हो । अग्ला हिमालले जलवाष्पयुक्त वायुलाई रोक्ने भएकाले मनसुनी वर्षा न्यून हुने यो क्षेत्रमा हिउँदमा गज्जबले हिउँ पथ्र्यो । तर जलवायु परिवर्तनका कारण दुई दशक अघिदेखि यहाँको मौसममा परिवर्तन देखिन थाल्यो । हिउँदमा हिउँ कम पर्ने र वर्षामा पहिलाको भन्दा धेरै वर्षा हुने ।

हिमाली भेगको पानीको स्रोत नै हिउँ हो । हिउँदमा बाक्लो हिउँ परेपछि बिल्दै पहाडमा सोसिएर पानीको मूल फुट्नुपर्नेमा हिउँ नै कम परेपछि समस्या आएको हो ।  सन् २०१५ मा इसिमोडले गरेको ‘हिमालयन पानी: जटिल चुनौती र क्षेत्रीय समाधान’ शीर्षकको अध्ययनमा हिमाली क्षेत्रको हिउँ र बरफ छिटोछिटो पग्लिरहेको उल्लेख छ । हिमालय क्षेत्रमा जलवायु संकटका रूपमा पानी संकट बढ्ने र यसले सबैलाई असर गर्ने अध्ययनमा उल्लेख छ ।

लोमन्थाङ गाउँपालिका–२ का वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङ हिउँदमा हिउँ नपर्ने र बर्खामा अस्वाभाविक वर्षा हुँदा आफूहरूको खेती प्रणाली, पशुपालन र जीवन पद्धतिमै प्रभाव परेको बताउँछन् ।

हराउँदै रैथाने पेसा

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमन्थाङ कार्यालयका प्रमुख उमेश पौडेलका अनुसार हिउँ कम पर्ने र हिमरेखा माथि सर्ने गर्दा घाँस उम्रने तह पनि माथि सरेको छ । घाँस उम्रने रेखा पनि माथि सर्दै गएपछि चरन खुम्चिन थालेको छ ।

बस्तीनजिक चरन नभएपछि च्याङ्ग्रा, चौंरी चराउन धेरै माथि पुर्‍याउनुपरेको छ । चरन अभावमा पशुपालन पेसा पनि घट्दो छ । “जलवायु परिवर्तनले हुने अनियमित हिमपात र वर्षाका कारण हिमाली चरनमा असर गरेको छ,” पौडेल भन्छन्, “चरन क्षेत्र माथि खुम्चिन थालेपछि च्याङ्ग्राका गोठ माथि जाने र हिमचितुवाको आक्रमण बढेको देखिन्छ ।”

बालुवाले छोपेको पहाडमा फाट्टफुट्ट पलाउने टुक्यह्मा, म्ह्याँ, तालाङ, छेम्मा र तोरा रैथाने नामका काँडेदार झाडी उम्रिन्छ । छेम्मा र तोरा जातका झाडीमा स–साना अमिलो स्वादका फल लाग्छन् ।

स्थानीय बासिन्दाले यी फलबाट चुक अमिलो बनाई, घरायसी प्रयोग र औषधिको रूपमा प्रयोग गर्छन् । यी काँडेदार झाडी नै पशुचौपायाको चरन हो । च्याङ्ग्रा, चौंरी, झोपा र घोडा साम्जोङका बासिन्दाको मात्र होइन, उपल्लो भेगकै मुख्य पशुपालन हो ।

“हिउँदमा धेरै हिउँ पर्‍यो भने च्याङ्ग्रा र चौंरीगोठ राम्रो हुन्छ, गाउँको नजिक–नजिकमा धेरै घाँस उम्रिन्छ, च्याङ्ग्रा र चौंरी चराउन टाढा जानु पर्दैन । पशु पनि चरेर अघाउँछन् । तर अहिले चरन अपुग हुन थालेको छ,” ४५ वर्षसम्म च्याङ्ग्राको गोठालो गरेका लोमन्थाङ–२ नाम्सुङका ६५ वर्षीय छिमी दोर्जे गुरुङले भने, “अहिले त हिउँदमा हिउँ पर्न छोड्यो, परे पनि अलिअलि मात्र पर्छ, हिउँ एकै दिनमा पग्लिन्छ । पानी नपुगेर घाँस उम्रिन छोड्यो । चरन नहुँदा च्याङ्ग्रा पनि घटे ।”

एक बाली मात्र हुने उपल्लो मुस्ताङमा हिउँदमा भएको बाक्लो हिमपात पग्लेपछि फागुन अन्तिमदेखि चैतमा उवा, फापर, तोरी र आलु रोप्ने गरिन्थ्यो । असोज अन्तिमदेखि कात्तिक पहिलो सातामा त्यो बाली भित्र्याएर जाडो छल्न बेँसी झर्ने मुस्ताङ्गीको जीवन शैली थियो । अहिले हिउँ र वर्षाको समय पछि सरेकाले बाली पाक्ने समय पनि पछि धकेलिँदै गएको छ । जसले उनीहरूको ‘क्यालेन्डर’ बिग्रिएको छ । जीवनशैलीमा यस्तो परिवर्तन र समस्या आउनु पनि मुस्ताङ्गीले भोगेको गैरआर्थिक क्षति हो ।

कान्छो गाउँमा पनि समस्या उस्तै 

सिँचाइ र पिउने पानीको सुविस्ता भएको नाम्सुङको बसाइँ झट्ट हेर्दा साम्जोङमा भन्दा सहज देखिन्छ । दैलो नजिकै चीनसँग जोडिएको सडक छ । बस्तीसम्मै गाडी पुग्छ । तर पनि नाम्सुङमा बसाइँ झरेकाहरू यौ भौतिक सुविधासँग खुसी छैनन् ।

Samjong-and-Namsung-1738578254.jpg
गुगल म्यापमा पुरानो बस्ती साम्जोङ र नयाँ बस्ती नाम्सुङ ।

उनीहरूको तन ‘मुस्ताङ्गी कान्छो गाउँ’ को परिचय बनाएको नाम्सुङमा रहे पनि मन भने जन्मेहुर्केको साम्जोङमै पुगेको हुन्छ । ४१ वर्षीया युक गुरुङले भनिन्, “हाम्रो थलो पानी नभएर उता बाँझो छ । यहाँ पानी त छ, तर आफ्नो जमिन छैन । बसेको थलोकै लालपुर्जा हाम्रो हैन ।”

मुस्ताङ्गी पूर्वराजा जिग्मे पलवर विष्ट, लामा नवाङ कुङ्गा विष्ट र स्विस फोटोपत्रकार म्यानुअल वाउरको समन्वयमा बसेको यो बस्तीका बासिन्दासँग जमिनको लालपुर्जा छैन । उनीहरूले मुस्ताङ्गी पूर्वराजाको जमिनमा शरण लिएका हुन् । यहाँ केही सरकारी पर्ती जग्गा पनि छ ।

मुस्ताङका पूर्वराजा जिग्मे परवल विष्टको खेतीयोग्य जग्गा सन् १९८४ मा छोन्हुपदेखि माथिको हिमताल फुटेर आएको बाढीले पुरेको थियो । जलवायु परिवर्तनबाट शरणार्थी बनेकाहरू अहिले त्यही बगरमा बसेका छन् । उनीहरू नाम्सुङको यो बस्ती पूर्ण सुरक्षित ठान्दैनन् ।

“अहिले पनि नाम्सुङको बस्ती सुरक्षित छैन । कालीगण्डकीको कटानबाट बस्ती र खुला चरीचरनबाट खेतीबाली असुरक्षित छ,” ५१ वर्षीया थाक्युङ गुरुङले भने, ‘ओत त पायौँ, पिउने पानी पनि, तर त्योबाहेक हाम्रो यहाँ अरू केही छैन ।” आफू विवाह गरेर साम्जोङमा भित्रिएको दुई वर्षमै बसाइँ हिँड्नुपरेकाले उनी आफूलाई अभागी ठान्छिन् ।

नाम्सुङको एउटा छाप्रोमा जीवन कटाइरहेका पूर्व मुखिया तोप्के गुरुङलाई जस्तै दुःख भए पनि पुर्ख्यौली थलो छोड्न मन थिएन । “परिस्थितिले नहिँडी भएन,” उनी भन्छन्, “हाम्रा देवता खुसी भए, हामी पनि खुसी नै हुनेछौँ ।”

Namsung_Mustang-1738570775.jpg
नाम्सुङको बस्ती । तस्बिर : घनश्याम खड्का/निमजिन

वातावरण स्थिरताका लागि अवनी भेन्चर्स प्रालिकी सह–संस्थापक एवं निर्देशकसमेत रहेकी पर्यावरणविज्ञ आचार्य पुर्ख्यौली थलोमा भावनात्मक सम्बन्ध जोडिएको हुने तर त्यो ठाउँ छाडेर अन्तै हिँड्नुपरेपछि पुर्ख्यौली थलोको पहिचान र सांस्कृतिक मूल्य मान्यता नै नष्ट हुने गरेको बताउँछिन् ।

आचार्यका अनुसार कुनै ठाउँमा भएको समस्याबाट बसाइँसराइ गर्नेहरूलाई नयाँ ठाउँमा झनै समस्या हुने गरेको पाइएको छ । साम्जोङबाट बसाइँ सरेर आएकाहरूले नयाँ ठाउँमा बस्ती बसाएकाले यहाँ पहिलादेखि नै बस्दै आएका स्थानीय बासिन्दासँग तत्काल देखिने द्वन्द्व त छैन । तर बसाइँसराइ भएको ठाउँमा पुराना र नयाँ बासिन्दाबीच प्राकृतिक स्रोतका लागि द्वन्द्व बढ्ने जोखिमसमेत रहने आचार्य बताउँछिन् । नयाँ ठाउँमा हुने यस्ता समस्या र द्वन्द्व पनि गैरआर्थिक क्षति हुन् ।

समस्या समाधानको उपाय के ?

साम्जोङका बासिन्दा विस्थापित हुनुमा उनीहरूको कुनै दोष र जिम्मेवारी छैन । विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनको प्रभाव उनीहरूमा परेको हो । यो प्रभावसँग जुध्न सहज छैन र नेपालजस्ता विकासोन्मुख देश एक्लैले गरेर जलवायु परिवर्तनको प्रभाव रोक्न पनि सकिँदैन । तर अनुकूलन र न्यूनीकरणका लागि भने काम गर्न सकिन्छ ।

भूगोलअनुसार जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर र प्रभाव फरक–फरक पर्ने भएकाले सामना गर्ने विधि र नियमहरू पनि फरक हुने इसिमोडका डा. श्रेष्ठ बताउँछन् । “ठाउँको भौगालिक अवस्था अध्ययन नगरी जलवायु परिर्वनका असर कसरी सामना गर्ने भन्न सकिँदैन,” उनी भन्छन्, “उपल्लो मुस्ताङका साम्जोङ र ध्ये गाउँका समस्या सुन्दा नजिकका खोलाबाट सौर्य ऊर्जाको प्रयोग गरी लिफ्टिङ प्रविधिबाट पानी तानेर खेतीयोग्य जमिनको क्षेत्रमा पोखरी बनाई भण्डारण गर्ने उपयुक्त विधि हुन सक्छ ।”

साम्जोङ र ध्ये गाउँका बासिन्दाको जसरी गाउँलाई बसाइँसराइ हुनबाट जोगाउनका लागि स्रोतको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने पर्यावरणविज्ञ आचार्य बताउँछिन् । “हिमाली क्षेत्रमा पानीको समस्या आइरहेको छ भने त्यहाँ पानीको स्रोत जोगाउनुपर्छ,” उनी भन्छिन् ।

सम्भव भएसम्म पोखरीहरू बनाएर जमिनलाई पानी सोस्न दिने, वृक्षरोपण गरेर वन जंगल बनाउन सकिने उनको भनाइ छ । अनुकूलनका कामलाई प्रभावकारी बनाउन रैथाने अन्नबाली लगाउने, रैथाने जातका पशुहरूलाई जोगाउनुपर्नेमा पनि आचार्य जोड दिन्छिन् ।

स्थानीय बासिन्दाले जलवायु परिवर्तनको प्रभावसँग अनुकूलन भएर अघि बढ्ने हो भने असर कम गर्न सकिन्छ भनेर नै आफूहरूले आवश्यक काम गरिरहेको दाबी गर्छन्, लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ ।

जलवायु परिवर्तनको असर रोक्न नसके पनि स्थानीय बासिन्दालाई प्रभावसँग अनुकूलन हुन कृषिलाई यान्त्रिकीकरण, उन्नत विधि र खेती गर्ने परम्परागत समय तालिकालाई फेरिएको मौसमसँगै नयाँ तालिकामा मिलाउने, वृक्षरोपण गर्ने र रोजगारीका नयाँ अवसर खोज्ने प्रयास गाउँपालिकाले थालेको उनी बताउँछन् ।

हिमपात पातलो हुने, छिटो पग्लने वा खेती गर्ने समयमा हिमपात हुने भएकाले साम्जोङको जस्तै स्थिति अन्त पनि आउने हो कि भन्ने चिन्तामा रहेका उनी यो घटनाबाट पाठ सिक्नुपर्ने बताउँछन् ।

गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रधारा विष्टका अनुसार विस्थापित भएको गाउँलाई आत्मनिर्भर बनाउन संघीय तथा प्रदेश सांसद क्षेत्र विकास कोष, स्थानीय गाउँपालिकाबाट बस्तीमा तरकारी खेतीका लागि ग्रिन हाउस बनाउन तथा अरू आवश्यक पूर्वाधार बनाउने योजनाअनुसार काम सुरु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले अनि उपल्लो मुस्ताङमा अनुकूलन न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको छ । एक्याप लोमन्थाङ कार्यालयका प्रमुख पौडेल भन्छन्, “उपल्लो मुस्ताङका खेतीबालीमा कीरा देखिन थालेसँगै रैथाने बाली संरक्षण, वृक्षरोपण र हिमचितुवाको आक्रमणबाट बचाउन च्याङ्ग्राको गोठ सुधारसमेतका क्षेत्रमा काम थालेका छौं ।”

यो सामग्री निमजिन-कान्सा फेलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको हो । This story was originally published in www.nimjn.org at ‘’https://www.nimjn.org/240/samjong-suffers-non-economic-losses-due-to-climate-change”

Previous Post

बाबुराम कौशिक सहितका नेता माओवादीमै फर्किए

Next Post

मातातिर्थ–देउराली– चखेल सडक निर्माणमा ढिलासुस्ती

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.