काठमाडौं,
सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा सोमबारदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ । राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रधान सेनापति महारथी अशोक राज सिग्देलले राष्ट्रिय सुरक्षाका चुनौती, खतरा तथा विविध पक्षहरूबारे सम्बन्धित सबै सरकारी तथा गैह्र सरकारी पदाधिकारीहरू बिच साझा बुझाई, आपसी साझेदारी र सहयोग तथा समन्वयका क्षेत्रहरू फराकिलो बनाउन तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । आफ्नो जमिनी परिस्थिति, देशको अवस्थिति र सामाजिक वातावरण अनुसार सुरक्षा अवधारणाहरू तय गर्नुपर्नेमा उनको जोड छ ।
रक्षा सचिव रामेश्वर दंगालले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्व, आवश्यकता र उपादेयता बारे प्रकाश पारे । उनले विश्व रणनीतिक वातावरणमा देखिएका विभिन्न किसिमका सुरक्षा चुनौतीहरूको प्रभावलाई विश्लेषण गरी राष्ट्रिय हितहरूलाई प्रवद्र्धन गर्न देशका सबै शक्तिहरूको सर्वोपरि प्रयास र भूमिका आवश्यक रहेको बताए ।
रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको तालिमको दशौँ संस्करण चैत्र १८ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट गरी जम्मा २९ जना सहभागी छन् । वि.सं.२०७२ सालबाट सुरु भएको तालिमबाट हालसम्म २२३ जना प्रशिक्षित भई सकेको बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले जानकारी दिए ।
Discussion about this post