प्रणय साह/सुरेश बिडारी
वीरगञ्ज स्थित नेशनल इन्फोटेक कलेजले विद्यार्थीहरुलाई परीक्षा दिनबाट बञ्चित गरेको छ । शुल्क (फि) नतिरको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरिएको हो ।
परीक्षा दिनबाट वञ्चित भएका विद्यार्थीको संख्या अहिले यकिन हुन सकेको छैन । कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले परीक्षा दिन गएको तर फर्किनु परेको गुनासो गरे ।
‘कम्प्युटरको अभ्यास परीक्षा दिनका लागि तयारी गरेर गएको थिँए । १ हजार २ सय २५ रुपैयाँ फि तिर्न बाँकी छ, लेखा विभागका एक कर्मचारीले बाँकी पैसा बुझाउ अनि मात्रै परीक्षा दिन पाउँछ भनेर फर्काए ।’ उनले भने ।
नेशनल इन्फोटेकमा कक्षा १२ को ‘फाइनल प्राक्टिकल एक्जाम’ चलिरहेको छ ।
नेशनल इन्फोटेक कलेजका प्रिन्सिपल मनिष सिंहले विद्यार्थी परीक्षाबाट वञ्चित भएको विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । हामीले फि नतिरेका कारण केहि विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको जानकारी गराउँदा कार्यालयमा आउन नभ्याउने फोनबाट प्रतिक्रिया माग्दा उनले क्याम्पसमै आएर बुझ्न आग्रह गरे ।
उनीसँग प्रतिक्रियाका लागि लिइएको अन्र्तवार्ता तल प्रस्तुत गरिएको छ ।
पत्रकार : केहि विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका रहेछन नी के कारण रहेछ ?
मनिष सिंह : त्यो मलाई थाहा भएन, क्याम्पसमै एकचोटी आएर बुझ्नुहोला नी,
पत्रकार : हजुर हजुर
मनिष सिंह : क्याम्पसमै आएर बुझ्नु होला नी, के रहेछ बच्चाहरुसँग सोध्नुभएन, के कारणले उ भएको भनेर ?
पत्रकार : थोरै थोरै फि बाँकी रहेछ, तर फि बाँकी भयो भनेर परीक्षाबाट वञ्चित गर्न मिल्छ त सर ?

मनिष सिंह : आउनुस न यहाँ बसेर कुरा गरौंला, के गर्न मिल्छ के गर्न मिल्दैन, हुन्छ हजुर
पत्रकार : आउनै पर्ने हो र ? भनिदिनु न ।
मनिष सिंह : त्यो मलाई जानकारी भएन, के छ छैन, फि उठाउन पाउने त हाम्रो अधिकार होला नी । कि त्यो पनि छैन ।
पत्रकार : हैन मैले फि उठाउन नपाउने भनेर भने र ?
मनिष सिंह : हजुर
पत्रकार : फि त उठाउन पाइन्छ होला, तर त्यसको उपाय अरु पनि होला नी त ? परीक्षाबाट वञ्चित गरिदिने ?
मनिष सिंह : छ त्यसका लागि विद्यार्थीलाई केहि भनेको छैन, त्यसकारणले मलाई एक्ज्याटली जानकारी भएन । त्यसैले चैनी पठाउनु उनीहरुलाई म बुझेर त्यसपछाडि बुझेर एक्ज्याक्ली भन्न सकौंला । हुन्छ हजुर
पत्रकार : फि को छोडौं, अहिलेको प्राक्टिकल कत्तिको महत्वपूर्ण त्यो चाँही भनिदिनुस न । फाइनल इक्जाममा जोडिने हो कि होइन त ?
मनिष सिंह : जोडिने हो, विल्कुल जोडिने हो ।
पत्रकार : अहिलेको प्राक्टिकल पछाडि दिन पाएन भने । (प्रश्न पुरा नहुँदै उनी बोल्न थाले )
मनिष सिंह : प्राक्टिकल एकदिन हुँदैन, आठ दिनको समय हुन्छ । त्यसकारणले यो सिफ्टमा भ्याएन भने अर्को सिफ्टमा दिन पाउँछ, त्यो हाम्रो जिम्मा हो, त्यसका लागि टेनसन नगर्नु । बच्चाको कसैको पनि छुट्दैन, त्यो ढुक्क हुनुहोस । एनआइले कहिलेपनि गरेको छैन, हामी गर्दैनौं ।
पत्रकार : धेरै विद्यार्थी परीक्षा दिन गएको रहेछन, फिर्ता हुनु प¥यो रे ।
मनिष सिंह : हामीले गार्जिएन (अभिभावक) लाई, कमसेकम गार्जिएनलाई लिएर आउने, गार्जिएनसँग चैनी हामी कुरा गरेर गराउँछौं भन्ने किसिमको म्यासेज गरिएको हो ।
पत्रकार : तर बच्चा (विद्यार्थी) लाई फि तैलें तिरेको छैनस भनेर भन्न मिल्दैन नी तपाईहरुले ?
मनिष सिंह : हैन भन्न त पाईयो नी त्यस्तो भन्न नै नपाइने भन्ने चैनी छैन ।
पत्रकार : बच्चालाई परेसान गर्न नि पाइन्छ त ?
मनिष सिंह : हैन, के गर्नुपर्छ त्यो हामी माथि छोड्नुस न, मैले भने नी जुन दिन तपाईको चैनी प्राक्टिकलमा सकिन्छ, त्यो दिन एक जना पनि विद्यार्थी छुटेको भेट्नुभयो भने म निर आउनुहोला र भन्नुहोला ।
नोट : अन्तर्वार्ताका क्रममा परिचय आदान प्रदान र धन्यवाद ज्ञापन गरिएको बाहेक सम्पूर्ण कुरा यहाँ जस्ताको त्यस्तै समावेश गरिएको छ । सम्पादक
आकर्षक विज्ञापन गरेर विद्यार्थी तान्ने त्यसपछि फि नतिरेको भन्दै हैरान पार्ने प्रवृत्ति वीरगञ्जका अन्य कलेजमा पनि देखिने गरेको छ । तर नियामक निकाय बेखबर रहने गरेका छन् ।
विद्यार्थी तथा आभिभावकबाट अहिलेसम्म गुनासो नआएको सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिए । ‘यो विषयमा हामीकहाँ कुनै गुनासो आएको छैन, तपाईले नै पहिलोपटक जानकारी गराउनुभयो, परीक्षा दिनबाट वञ्चित गरिएको गुनासो विद्यार्थी र अभिभावकबाट आएमा आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
Discussion about this post