पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।
काठमाडौं,
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गरिने भएको छ ।
‘आन्तरिक र अन्य श्रोतबाट मुटु उपचार निःशुल्क गराउने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका २ लाख ५० हजार सहायता दिने गरेको छ ।
उपचार लिनेको संख्या बढिरहेको सन्दर्भमा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको कार्यकारी निर्देशक मल्लले जानकारी दिए ।
यस वर्षको पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । ‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने अभिप्रायले काम अघि बढाईएको स्वास्थ्य तथ जनसंख्या मन्त्री प्रदिप पौडेलले जानकारी दिए ।
केन्द्रको सञ्चालक समिति अध्यक्ष स्वास्थ्यमन्त्री नै हुने व्यवस्था छ । बैठकले बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न स्थानीय तहहरुसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य डा. विकास सापकोटालाई जिम्मेवारी समेत तोकेको छ ।
‘स्थानीय तहहरुसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चालक समिति सदस्य सापकोटाले भने, ‘सहकार्य गर्ने गरी गृहकार्य शुरु गरेका छौं ।’
नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Discussion about this post