काठमाडौं
काठमाडौं महानगरपालिकाले शुक्रबार आधारभूत तह अर्थात कक्षा ८ को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा सहितको बैठकमा परीक्षा समितिले नतिजा सार्वजनिक गरेको हो । बैठकमा प्रस्तुतीकरण गर्दै परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सार्वजनिक गरेका थिए ।
उनले सार्वजनिक गरेको विवरण अनुसार २ हजार ७ सय ३० जना विद्यार्थीले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् । यस्तै ६ हजार ४ सय ५५ जनाले ३.२ देखि ३.५, ३ हजार ९७ जनाले २.८ देखि ३.२, २८ जनाले २.० देखि २.४ जिपिए प्राप्त गरेका छन् । ५ हजार १ सय ७४ जनाले ० देखि १.६ सम्म जिपिए ल्याएका छन् ।
विषयगत रुपमा हेर्दा गणित विषयमा सबैभन्दा धेरै ३ हजार ९५६ जना विद्यार्थी नन ग्रेडेड छन् । ३६ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थीहरु नन ग्रेडेडमा पर्छन् । दोस्रोमा सामाजिक तथा मानव मूल्य शिक्षामा १ हजार ९ सय ८२ जना, विज्ञान तथा प्रविधिमा १ हजार ७ सय ९६ जना, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा १ हजार २ सय १२ जना, नेपाली विषयमा १ हजार ४ सय ४४ जना, अंग्रेजीमा १ हजार १ सय १७ जना र नेपाल भाषामा ६ सय ६७ जना विद्यार्थी नन ग्रेडेड छन् ।
नतिजामा कसैलाई ग्रेस मार्क दिइएको छैन । विषयगत नन ग्रेडेड विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
प्रवक्ता मानन्धरले विषयगत रुपमा सिकाइमा कमजोरी देखाएकोले सुधार गर्न आवश्यक देखिएको बताए । आयोगका सदस्य झाले नतिजाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षलाई थप जिम्मेवार हुनुपर्ने संकेत गरेको बताए । महानगरको शिक्षा विभागले अझ काम गर्नु पर्ने देखिएको बताउँदै उनले पठन संस्कार विकास गरेर समग्र नतिजामा सकारात्मक प्रभाव ल्याउन सकिने बताए ।
विद्यार्थीले आफूले प्राप्त गरेको अङ्क चित्त नबुझेमा पुनर्योग गर्न सक्छन् । त्यसका लागि बैशाख ४ गतेसम्म विद्यालयमा आवेदन दिइसक्नुपर्ने महानगरको शिक्षा विभागले जनाएको छ । विद्यालयहरुले बैशाख ५ गतेभित्र सोको जानकारी शिक्षा विभागमा पठाइसक्नुपर्नेछ ।
विषयगत रुपमा सैद्धान्तिकतर्फ नन ग्रेडेड विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । बैशाख ८ गतेदेखि १४ गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन हुनेछ ।
यो परीक्षामा सहभागी हुन पुन फाराम भर्नु नपर्ने र थप शुल्क पनि तिर्नु नपर्ने महानगरले जनाएको छ । यसरी सञ्चालन गरिने परीक्षामा साधारणतर्फ पहिलो अर्थात् ८ गते गणित, ९ गते अंग्रेजी, संस्कृत रचना, १० गते नेपाली, ११ गते विज्ञान तथा प्रविधि, १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, १३ गते स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला र १४ गते नेपाल भाषा तामाङ् भाषाको परीक्षा हुनेछ । परीक्षा केन्द्र विभागले तोक्नेछ ।
चैत ७ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । महानगरले परीक्षाका लागि १ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको थियो । होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । परीक्षाका लागि १८ हजार २ सय ९४ जना विद्यार्थीले आवेदन दिएका थिए । वडा नं. ४ सुकेधारामा सञ्चालित ग्राण्ड एकेडेमी र वडा नम्बर ४ कै महाराजगञ्जमा रहेको स्किम पब्लिक स्कूलबाट कुनै पनि विद्यार्थी परीक्षामा सहभागी भएनन् ।
परीक्षा समितिका सदस्य सचिव ओमप्रसाद गौत्तमका अनुसार यस वर्ष १ सय २४ जना विद्यार्थी परीषामा उपस्थित भएनन् ।
महानगरपालिकाभित्र आधारभूत तहसम्म ७४ वटा सामुदायिक, २० वटा वैकल्पिक र ४०८ वटा संस्थागत गरी ५ सय ४ वटा विद्यालय सञ्चालनमा छन् । जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट ३२ जना विद्यार्थी र केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । विशेष अवस्थाका विद्यार्थीलाई अध्ययनरत विद्यालयमै परीक्षा केन्द्र तोकिएको थियो ।
Discussion about this post