वीरगञ्ज
‘सेफर वीरगञ्ज’ अभियान अन्तर्गत सिसिटिभी क्यामेरा जडानका लागि १६ वटा बैंकले १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । नगर क्षेत्रको सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसिटिभी क्यामेराको सञ्जाल विस्तारका लागि सहयोग गरिएको हो ।
सबैभन्दा बढी नबिल बैंकले ३ लाख रुपैया सहयोग गरेको छ । नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगञ्ज शाखाका प्रमुख रोहिणी आचार्यको समन्वयमा सहयोग रकम संकलन गरिएको थियो । बाँकी बैंकहरुले चाँडै सहयोग रकम उपलब्ध गराउने संयोजक आचार्यले बताए ।
संकलित रकमबाट महानगरपालिका र सेफर वीरगञ्ज अभियानले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा नगरका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिनेछ ।
सिसिटिभी क्यामेराले शहरी क्षेत्रको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
‘ अपराधिक गतिविधि नियन्त्रण र अनुसन्धानमा सिसिटिभी क्यामेरा महत्वपूर्ण हुन्छ ।’ उनले भने, ‘ महानगरका हरेक चोक तथा सडकमा यसको संजाल विस्तार गर्नु आवश्यक छ ।’
बैंकहरुले उपलब्ध गराएको सहयोग रकम सोमबार नै सेफर वीरगञ्ज अभियानलाई हस्तान्तरण गरिएको छ ।
प्रविधिको प्रयोगद्वारा वीरगञ्जलाई सुरक्षित र व्यवस्थित शहर बनाउने प्रयासमा बैंकहरूको योगदान प्रेरणादायक भएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए ।
Discussion about this post