राक्सिराङ्ग
राक्सिराङ्ग गाउँपालिकाले वडा नं ९ खैराङ्गलाई ‘एकीकृत पर्यटकीय क्षेत्र’ घोषणा गर्ने तयारी थालेको छ । गाउँपालिकाले साविकको खैराङ्ग गाविसमा भएका धार्मिक एवं पर्यटकीय स्थल तथा नयाँ संभावनाहरुको पहिचान गरी बृहत गुरु योजना (डिपिआर) तयार गरेको हो ।
प्राविधिक टोलीले स्थलगत अध्ययन पछि डिपिआर तयार गरेर गाउँपालिकामा बुझाइसकेको छ । वडा नं ९ मा पालिकाको सहयोगमा कोखारी पार्सिवाङ चेपाङ सामुदायिक होम स्टे निर्माण भइ सञ्चालनमा आइसकेको छ ।

खैराङ्ग बृहत पर्यटकीय गुरु योजनामा जलाशय बनाउने, पैदल मार्ग बनाउने, डाँडाहरुलाई रमणीय क्षेत्रको रुपमा विकास गर्ने लगायत कुराहरु समेटिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

‘खैराङ्गमा बाटो, बिजुली पुग्यो, अब आय आर्जनमा सहयोग गर्न पालिकाले काम थालेको छ ।’ उनले भने । रोजगारी सृजना र पर्यटनको विकास गर्ने उद्देश्यले गुरुयोजना तयार गरिएको अध्यक्ष मल्ल बताउँछन् । ‘जलाशय निर्माण गर्ने लगायत कुरा समेटेर डिपिआर तयार भएको छ, अब पैसाको खोजीमा छौं ।’ उनले भने, ‘प्रदेश र संघ सरकारसँग बजेट माग गर्ने तयारी गरेका छौं ।’
मौलिक परम्परागत ज्ञान, सँस्कृति पाहुनालाई देखाउने वातावरण पालिकाले बनाउने उनको भनाई छ । काठमाडौंबाट धादिङको मलेखु हुँदै खैराङ्ग आउन सकिने हुँदा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेको अवस्थामा पाहुना आउने विश्वास अध्यक्ष मल्लको छ ।

गंगटा, असला माछा, कोदो, फापरका परिकार पाहुनालाई खुवाउन सकिने उनी बताउँछन् । स्थानीय सुर्य बहादुर अधिकारी कालिका मन्दिर र पशुपतिको संरक्षण गरेर पर्यटकलाई आर्कषित गर्न सकिने बताउँछन् । तटबन्ध बनाएर मन्दिरलाई जोगाउन सके पाहुनालाई दर्शन गराउन सकिने उनको भनाई छ । त्यसैगरि कुसुनी देवी रहेको क्षेत्रमा घेराबार लगाउन आवश्यक देखिएको उनले बताए ।
केराखेती, एभोकाडो, भूँईकटहर, रुख कटहर लगाएर पाहुनालाई आकर्षण गर्न सकिने, अकबरे खोर्सानीको हब बनाउने योजना समेत गाउँपालिकाको छ । काफलको बगैचा बनाउने, ट्याङ्ग्रे खोलाको पानी रोकेर माछा हाल्ने, डुंगा चलाउने सोच पालिकाको छ ।
पालिकाले यसअघि वडा नं ७ लाई ‘चेपाङ साँस्कृतिक एवं पर्यटकीय क्षेत्र’ घोषणा गरिसकेको छ ।
Discussion about this post