काठमाडौं,
बुधबार वीरगञ्जका दुई राजनीतिक नेतृत्व बीच चलिरहेको नागरिकता मुद्धाको पेशी स्थगित भएको छ । काँग्रेस नेता महम्मद सहाबुद्दिन र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहबीचको मुद्धाको पेशी स्थगित भएको हो ।
राजेशमान समेतको जाहेरीले तत्कालिन वीरगञ्ज उपमहानगरपालिका वडा नं ३ बस्ने मंसुर शेष भन्ने मंसुर खाँ, हमिदा बेगम, महम्मद सहाबुद्दिन भन्ने सहाबुद्दिन खाँ, महम्मद मुर्तुजा भन्ने गुड्डु खाँ र नजमा बेगम समेत विरुद्ध दिएको नागरिकता मुद्धा लगायत ७० वटा मुद्धाको पेशी चढेको थियो ।
जिल्ला अदालत पर्साको न्यायधिश मोना सिंहको एकल इजलाशले २०८० पुस २४ गते अभियोग दावी नपुग्ने फैसला गरेको थियो । उनीहरुको नेपाली नागरिकता नक्कली रहेको भनी राजेशमान सिंहले ०७६ साउन २० गते जाहेरी दिएपछि ४० पटक पेशी चढेर अन्तिम आदेश आएको थियो । फैसलाको पूर्ण पाठ यो समाचार तयार पार्दासम्म जिल्ला अदालतले वेभसाइटमा हालेको छैन ।
आदेशमा चित्त नबुझेपछि राजेशमानले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा २०८० फागुन १६ गते पुनरावेदन दिएका थिए । उच्च अदालतमा बुधबार १ नं इजलासमा पेशी चढेको थियो । न्यायधिशहरु राजन प्रसाद भट्टराई र नेत्र विकास आचार्यको संयुक्त इजलासमा परेको मुद्धा पुनारावेदकको कानून व्यवसायीले स्थगित गरेका छन् । उच्च अदालतमा पनि यो मुद्धाको २० पटक पेशी चढिसकेको छ ।
Discussion about this post