हरेक महिना हुने संस्थाको बैठकमा टोलका विभिन्न समस्या बारे छलफल हुन्छ । बैठकपछि उनीहरु टोलको अनुगमनमा निस्कन्छन् । जथभावि फोहोर देखिएको खण्डमा नजिकैको घरधनीलाई सरसफाईका लागि अनुरोध गर्छन् ।
राक्सिराङ्ग
स्थानीयको सामुहिक प्रयासले राक्सिराङ्ग गाउँपालिका वडा नं ५ ठाडेचुरीको मुहार फेरिएको छ । दुई वर्ष पहिला जताततै प्लाष्टिक, चाउचाउ, विष्कुटका खोल, ड्यूका बोतलले फोहोर देखिने टोल हिजोआज सफा देखिन्छ ।
ठाडेचुरी टोलका बासिन्दा घर आँगन मात्रै हैन, टोलबासी मिलेर सडक र सार्वजनिक ठाउँको सरसफाई गर्छन् । यो कामको नेतृत्व ठाडे टोल विकास संस्थाले गरिरहेको छ ।
मुलुकमा संघियता लागु भएपछि ०७४ मा स्थानीय सरकारको निर्वाचन भयो । त्यसपछि टोल विकास संस्थाको गठन भएको हो । हालका वडा अध्यक्ष हरि बहादुर प्रजा संस्थाको अध्यक्ष थिए ।
०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएपछि हरिले त्यो जिम्मेवारी उपाध्यक्ष सुदिप प्रजाले पाए । युवाको काँधमा जिम्मेवारी आएपछि टोलको मुहार झनै बदलियो । सुदिप अध्यक्ष रहेको टोल विकास संस्थामा ९ जना सदस्य छन् ।
हरेक महिना हुने संस्थाको बैठकमा टोलका विभिन्न समस्या बारे छलफल हुन्छ । बैठकपछि उनीहरु टोलको अनुगमनमा निस्कन्छन् । जथभावि फोहोर देखिएको खण्डमा नजिकैको घरधनीलाई सरसफाईका लागि अनुरोध गर्छन् ।
५७ वर्षीया सानीमाया प्रजाका अनुसार पछिल्ला वर्षमा टोलको मुहार फेरिएको छ । ‘टोलमा नियमित सरसफाई गर्ने गरेका छौं । पात पतिंगर, प्लाष्टिक, बोतल सबै फोहोर संकलन गर्छौ, कुहिने र नकुहिने छुट्याएर राख्छौं । कुहिने फोहोरलाई खाल्डो खनेर गाड्छौं ।’ उनले भनिन्, ‘पहिला घर आँगन सफा गरेपनि सडक टोल सफा गर्ने गरेका थिएनौं, सडकको किनारमा धेरै फोहोर हुन्थ्यो ।’
गाउँमा आएको यो परिवर्तनको जस राष्ट्रिय वकालत मञ्च (नाफान) संस्थालाई दिनुपर्ने स्थानीय सुन्तली प्रजा बताउँछिन् ।
‘घर वरपर बढार्ने गरेपनि टोलमा जताततै फोहोर हुन्थ्यो, जताजतै चाउचाउ विष्कुट, ड्युका बोतल फाल्ने गरेका थियौं । नाफान संस्था आएर सरसफाईमा ध्यान दिनुपर्छ डष्टविन प्रयोग गर्नुपर्छ भनेर सिकायो ।’ उनले भनिन्, ‘ अहिले टोलका सबैले सरसफाईमा ध्यान दिन थालेका छन् । जथाभावी फोहोर फाल्न नहुने रहेछ भन्ने बुझेका छन् ।’
बाहिरबाट टोलमा आउने मानिसलाई पनि जथाभावि फोहोर नफाल्न आग्रह गर्ने गरेको उनी बताउँछिन् । सरसफाईलाई लिएर टोलमा विगतको तुलनामा निकै परिवर्तन आएको उनको भनाई छ । ‘धेरै ड्यू खान्थ्यो, ड्यूको बोतल बारीभरी, सडकभरी हुन्थ्यो घरैभरी हुन्थ्यो । नाफानले ड्यू धेरै खाँदा असर गर्छ, पत्रु खानाले मानिसलाई विरामी बनाउँछ भनेपछि खान कम गरेका छौं ।’ उनले भनिन् ।
सुरुका दिनमा टोलको सरसफाई गर्दा ६ बोरासम्म फोहोर निस्कने गरेको उनी सम्झन्छिन् । टोल सडक किनारको फोहोर संकलन गरेर अस्पताल छेउको खाल्डोमा लगेर फाल्ने गरिएको उनले बताइन् ।
टोल विकास संस्थाका अध्यक्ष सुदिप प्रजा टोलमा कसैलाई जथाभावि फोहोर गर्ने छुट नरहेको बताउँछन् । ‘ कुन ठाउँमा कति फोहोर छ, अनुगमन गर्छौ, प्लाष्टिक बोतल, चाउचाउ विष्कुटको खोल देखियो भने घर छेउकै मानिसलाई सफा गर्न आग्रह गर्छौ, तपाईले गर्दा टोलको वदनाम हुन्छ, वातावरणमा असर पर्छ भनेर सम्झाउँछौं ।’ उनले भने ।
टोल सरसफाईसँगै टोल विकास संस्था मार्फत महिलाको नेतृत्व विकास पनि भईरहेको छ । टोल विकास संस्थामा अध्यक्ष सुदिप बाहेक उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत सबै पदाधिकारी महिला नै छन् । टोल विकास संस्था मार्फत महिलाको नेतृत्व विकासलाई प्राथमिकतामा राखिएको अध्यक्ष सुदिप बताउँछन् ।
‘पिछडिएको चेपाङ जातिमा महिला दिदिबहिनीहरु नयाँ मानिस देखेपछि बोल्न डराउने, परिचय दिन नसक्ने अवस्था थियो । पुरुष मात्रै अघि बढेर हुँदैन, महिला दिदिबहिनी, आमा भाउजुलाई पनि अगाडि बढाउनुपर्छ, भनेर काम गरिरहेका छौं ।’ सुदिप भन्छन्, ‘विद्यालय शिक्षा लिन नपाएकाहरुलाई समेत चेतना दिने, बोल्न सिकाउने, नेतृत्व विकास गराउने गरेका छौं ।’
गरिरहेको कामलाई मेसो मिलाएर गर्न र अझ राम्रो बनाउन नाफान संस्थाको सहयोग रहेको उनी बताउँछन् । ‘नेतृत्व विकास तालिम पायौं, मिटिङ चलाउन, बोल्न सिकाउनुभयो । सर, हाकिम नबनी सामान्य भएर आउनुभयो, हामी पनि गाउँकै मानिस हौं । भन्नुभयो ।’ सुदिप भन्छन्, ‘दिदि बहिनीहरुलाई समेत बोल्न डर लागेन । भन्न नसक्ने कुरालाई भन्न सक्ने बनाउनुभयो, टोलका दिदि बहिनीहरु अहिले धेरै अगाडि छन् । प्रशिक्षण साथ सहयोगले नेतृत्व विकास हुँदैछ । ’
नाफान संस्थाका सााजिक परिचालक रमेश प्रजाका अनुसार ठाडेचुरीमा वातावरण संरक्षण, महिला नेतृत्व विकास, टोल विकास संस्थाको सबलीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । ‘उनीहरु हरेक महिना टोलको सरसफाई गर्छन्, महिलाको नेतृत्व विकासमा ध्यान दिएका छन् ।’ उनले भने ।
Discussion about this post