काठमाडौं
देशको समृद्धिका लािग लघु, घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नागरिकलाई स्वरोजगार बनाउन, स्थानीय स्तरमा रोजगारीको अवसर सृजना गर्न र स्वदेशी एवं स्थानीय उत्पादनको प्रवद्र्धन गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाई छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको ३६ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्ने सरोकारवालाले त्यस्तो बताएका हुन् । माइतीघरस्थित महासंघको सचिवालयमा स्थापना दिवसको कार्यक्रम आयोजना गरिएको थियो । लघु, घरेलु तथा साना उद्यमीहरुको हकहितको पैरवी गर्न स्थापना गरिएको महासंघ लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था हो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योग नेपालको वास्तविक आर्थिक संरचना र सम्भावनाको प्रतिबिम्ब भएको बताए । उनले यस्ता उद्योग बिना दिगो, समावेशी र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताए ।
‘राज्यले नीतिगत, वित्तीय र प्रविधिगत सहयोग दिनुपर्छ, लघु, घरेलु तथा साना उद्योगले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्छ ।’ उनले भने, ‘ आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सहयोग गर्छ ।’ लघु, घरेलु तथा साना उद्योगहरुले ग्रामीण र विकट क्षेत्रको आर्थिक उत्थान गर्ने उनको भनाई छ ।
‘साना उद्योगहरू गाउँगाउँमा खोल्न सकिन्छ, यसले क्षेत्रीय असमानता घटाउँछ ।’ अध्यक्ष सिँहले भने ।
लघु, घरेलु तथा साना उद्योगका कारण स्थानीय स्रोतसाधन र सीपको उपयोग भएको, महिलाहरू, युवा र विपन्न समुदायको सशक्तीकरणमा सहयोग पुगेको उनको भनाई छ ।
‘ठूला उद्योगको तुलनामा कम लगानी, कम जोखिम र अधिक लचिलोपना हुन्छ ।’ उनले भने, ‘ ठूला हामीकहाँ उद्योग सञ्चालनका लागि भौगोलिक, पूँजीगत र पूर्वाधार सम्बन्धी सीमितता छन् । तसर्थ लघु, घरेलु तथा साना उद्योग नै आर्थिक गतिशीलताको मेरुदण्ड बन्न सक्छन् ।’
सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनरकर्जा बारेमा आगामी आर्थिक वर्षको बजेट मौन देखिएकोमा भने लघु, घरेलु तथा साना उद्योगीले असन्तुष्टी जनाएका छन् ।
महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले लघु, घरेलु तथा साना उद्योगहरुलाई ‘अर्थतन्त्रको इञ्जिन’ भन्ने गरिएपनि व्यवहारमा देख्न नसकिएको टिप्पणी गरे ।
सन् १९९० मा स्थापना भएको महासंघले नेपालमा लघु घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन र विकासका लागि काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवराज खत्रीले जानकारी दिए । उनका अनुसार ७४ जिल्लामा यसको सञ्जाल छ र देशभरबाट ३० हजार वटा उद्यमहरू सदस्य छन् । महासंघले २० भन्दा बढी उच्च–स्तरीय सरकारी निकायहरू र गैर–सरकारी संस्थाहरूमा प्रतिनिधित्व गर्दै आएको छ ।
Discussion about this post