सुरेश बिडारी, वीरगञ्ज
पर्साका ६ वटा पालिकाले बालबालिकाको नियमित खोप अभियानमा लापरबाही गरेको पाईएको छ । यसरी लापरबाही गर्नेमा एक नगरपालिका र पाँच गाउँपालिका छन् । बहुदरमाई नगरपालिका, जगरनाथपुर, बिन्दवासिनी, पकाहामैनपुर, कालिकामाई र जिराभवानी गाउँपालिकामा नियमित खोप अभियानमा समस्या देखिएको हो । राष्ट्रिय नियमित खोप तालिका अनुसारबच्चा जन्मिएको १५ महिना भित्र ९ वटा खोप लगाइसक्नुपर्ने हुन्छ, त्यसका लागि अभिभावकले बच्चालाई ७ पटक खोप केन्द्र लैजानुपर्ने हुन्छ ।
वीरगञ्जमा सम्पन्न राष्ट्रिय खोप कार्यक्रम, सरसफाई प्रवर्ध्दनको समिक्षा तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठीमा यो तथ्य बाहिर आएको हो । गाभी, विश्व स्वास्थ्य संगठन र युनिसेफको सहयोगमा क्लासिक बैंक्वेटमा दुई दिनसम्म गोष्ठी चलेको थियो । गोष्ठीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि सुक्ष्म योजना अध्यावधिक गर्नका लागि छलफल गरिएको थियो ।
ती ६ वटा पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि सुक्ष्म योजना प्रभावकारी ढंगले बनाउँदैनन् । खोप फिर्ता ल्याउँदा पनि सही तरिकाले नल्याउने गरेका छन् ।
गोष्ठीमा पालिकाले फिर्ता पठाएको खोपको दृश्य देखाउँदै सहभागीलाई के यसरी खोप फिर्ता गर्नु सही हो ? भनि सोधिएको थियो ।
पर्साको ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेश थिङले खोप धेरै फिर्ता हुनु गलत भएको बताए । उनले खोप फिर्ता गर्ने पालिकाले ‘माइक्रो प्लानिङ’ (सुक्ष्म योजना) सही ढंगले नबनाएको हुनसक्ने टिप्पणी गरे । ‘ठूलो मात्रामा भ्याक्सिन फिर्ता हुनु त्रुटी हो, माइक्रो प्लानिङ सही छैन, यसले खोप अभियानको बारेमा गलत सन्देश जान्छ, यसलाई सच्याउनुपर्छ ।’ उनले भने ।
सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश रौनियारले हचुवाको तालमा माग गर्दा मात्रै धेरै खोप फिर्ता हुने बताए । ‘एक दुई भायल फिर्ता आउनु स्वभाविक हो, तर धेरै फिर्ता आउनु भनेको माइक्रो प्लानिङ हचुवाको भरमा गरिएको कारणले मात्रै हुने हो ।’ उनले भने, ‘ फिर्ता गर्दा पनि कोल्ड चेन विधिलाई पालना गर्नुपर्छ ।’
बहुदरमाई नगरपालिका स्थित विश्रामपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रमोद पटेलले पालिकामा गएको खोप मध्ये ४० प्रतिशतको हाराहारीमा मात्रै खोप प्रयोग हुने गरेको बताए । ‘ भ्याक्सिन बढी फिर्ता भइरहेको सत्य हो, आगामी दिनमा यसलाई सच्याउनेछौं ।’ उनले भने ।
वीरगञ्ज महानगरपालिका र पोखरियामा खोप भण्डारणका लागि ‘सब सेन्टर’ छ । यसअघि जिराभवानीमा पनि ‘सब सेन्टर’ रहेकोमा अहिले बन्द गरिएको छ ।
ठोरी, सखुवा प्रसौनी, छिपहरमाई, धोविनी, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी नगरपालिकाबाट भने एकदमै कम मात्रामा खोप फिर्ता आउने गरेको स्वास्थ्य कार्यालय पर्सामा कार्यरत खोप सहायक हेल्थ असिस्टेन्ट सीमा यादवले जानकारी दिइन् । चालु आर्थिक वर्षमा सखुवा प्रसौनी गाउँपालिकाले खोप कार्यक्रमका लागि वीरगञ्ज महानगरपालिकाले भन्दा बढी बजेट राखेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार विभिन्न पालिकाबाट हरेक महिना २५–३० प्रतिशत खोप फिर्ता हुने गरेको छ । ‘ खोप कार्यक्रमको समिक्षा गर्न मासिक बैठकको भत्ता गएको छ, तर काम प्रभावकारी हुन सकेको छैन ।’ उनले भने, ‘ काम गर्ने हामीले नै हो, बाहिरका मानिस आएर गरिदिने हैनन्, जिम्मेवार हुनुस भनेर स्वास्थ्यकर्मी साथीहरुलाई आग्रह गरेका छौं ।’
महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेर घरधुरी सर्वेक्षण गर्दा सुक्ष्म योजना प्रभावकारी बन्ने उनको भनाई छ । गोष्ठीमा १४ वटै पालिकाको सूक्ष्म योजना अध्यावधिक समेत गरिएको उनले बताए ।
सहभागीलाई गोष्ठीमा राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, रणनीति, उपलब्धी र चुनौति, उपलब्ध खोपहरु, तालिका, प्रयोग बिधि र खोपबाट बचाउन सकिने रोगहरु, खोप कोल्डचेन व्यवस्थापन, खोप सामाग्री र सेसन व्यवस्थापन एवं गुणस्तरीय खोप सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुको भूमिका र जिम्मेवारी, खोप सेवा सुदृढीकरणमा सुक्ष्म योजनाको महत्व, योजनाको प्रकृया, खोप लगाउन छुटेका नानीबाबुहरुको पहिचान, पूर्णखोप घोषणा र दिगोपना, यसको प्रक्रिया तथा भूमिका, नियमित खोप कार्यक्रमसँगै सरसफाई प्रवर्ध्दन कार्यक्रमको महत्व, ए.ई.एफ.आई र सो को व्यवस्थापन, भि.पि.डी.सर्भिलेन्स, खोप ऐन र नियमावली सम्बन्धमा समेत जानकारी गराइएको थियो ।
समाचारको आधारमा एआईको प्रयोगले तयार पारिएको अडियो सामाग्री
Discussion about this post