बहुदरमाई नगरपालिकाले आज एक समारोहकाबीच आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बहुदरमाईबासीको रहर : स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर भन्ने नाराका साथ प्रस्तुत गरिएको यस नीति तथा कार्यक्रममा आगामी वर्षका लागि अनुमानित कुल ४९ करोड ५२ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ।
नगरपालिकाको बहुअरीस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर उप–प्रमुख सुस्मा कुमारी कुशवाहाले नीति तथा कार्यक्रम विस्तृत रूपमा प्रस्तुत गरेकी थिइन् ।
प्रस्तावित कुल बजेटका लागि विभिन्न स्रोतहरूबाट आय संकलन हुने अनुमान गरिएको छ। संघीय सरकारबाट समानिकरण, सर्तगत, विशेष र समपूरक अनुदान तथा राजस्व बाँडफाँडबाट उल्लेख्य रकम प्राप्त हुनेछ। त्यसैगरी, प्रदेश सरकार (मधेश प्रदेश)बाट पनि समानिकरण, सर्तगत, विशेष र समपूरक अनुदानका साथै राजस्व बाँडफाँड मार्फत बजेट जुटाइनेछ।
आन्तरिक श्रोत अन्तर्गत मालपोत रोयल्टी, बैंक मौज्दात लगायतबाट पनि नगरपालिकाले आय संकलन गर्ने लक्ष्य लिएको छ। यसका अतिरिक्त, जिल्ला समन्वय समिति, एलजीसीसिडिपी कार्यक्रम र सडकबोर्ड नेपाल कार्यक्रमबाट समेत बजेट प्राप्त हुने अनुमान गरिएको छ।
संकलित यस बजेटलाई नगरपालिकाले मुख्य पाँच विषयगत क्षेत्रहरूमा विनियोजन गर्नेछ। आर्थिक विकास, जसमा कृषि, सिँचाइ, पर्यटन, उद्योग व्यवसाय र सहकारी पर्छन्, त्यसका लागि ३ करोड २५ लाख ७५ हजार १०० रुपैयाँ छुट्याइएको छ। मानव विकास र सामाजिक न्यायमा जोड दिँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, संस्कृति प्रवर्धन, महिला तथा बालबालिका, अपांग र ज्येष्ठ नागरिकका लागि २१ करोड २५ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन यो वर्षको सबैभन्दा ठूलो विनियोजन हो।
नगरको भौतिक संरचना निर्माण तथा स्तरोन्नतिका लागि पूर्वाधार विकास, जसमा सडक, पुल, भवन, ऊर्जा, सञ्चार, जलविद्युत र अन्य भौतिक पूर्वाधार समावेश छन्, त्यसका लागि १४ करोड ८४ लाख ११ हजार १०० रुपैयाँ विनियोजन गरिएको छ। वातावरणीय सन्तुलन र विपद प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले वन, वातावरण तथा विपद व्यवस्थापनका लागि ६५ लाख रुपैयाँ छुट्याइएको छ। यसमा वन तथा भू जलाधार संरक्षण, जलवायु परिवर्तनका कार्यक्रम, जल उत्पन्न प्रकोप नियन्त्रण र फोहरमैला व्यवस्थापन जस्ता विषयहरू समेटिनेछन्।
अन्त्यमा, नगरपालिकाको आन्तरिक क्षमता अभिवृद्धि र सेवा प्रवाहमा पारदर्शिता बढाउन सुशासन तथा संस्थागत विकासका लागि ९ करोड ५१ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। यसले संगठन, मानव संसाधन, संस्थागत विकास र वित्तीय व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा राखिएको छ।
कार्यक्रममा नगर प्रमुख सिंगासन सा तेली लगायत सम्पूर्ण नगरसभा सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।
Discussion about this post