वीरगञ्ज
विभिन्न चाडपर्वलाई लक्षित गरेर विमेन्स क्रिएशनले २१ औं ग्रीष्मकालीन प्रदर्शनी गरेको छ । महिला उद्यमशीलता र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले होटल दियालोमा प्रदर्शनी गरिएको हो ।
कृष्ण जन्माष्टमी, रक्षा बन्धन र मारवाडी समुदायको सिन्धरा पर्वलाई लक्षित गरेर प्रदर्शनी आयोजना गरिएको वुमन्स क्रियसनको अध्यक्ष अन्जु रुंगटाले जानकारी दिइन् ।
नयाँ व्यापारको सोच, महिला उद्यमशीलता र महिलालाई सफल व्यापारीलाई बनेर समाजमा आफ्नो ठाउँ बनाउन सकिन्छ भनेर हौसला दिन प्रदर्शनी महत्वपूर्ण भएको उनको भनाई छ ।
प्रदर्शनीमा महिला श्रृंगार, पुजाआजाको सामग्री, कपडा, सजावटका सामग्री, खानाका विभिन्न परिकार, कष्टमेटिक तथा आभुषणका ५० वटा स्टल राखिएको थियो । प्रदर्शनीमा १ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । भारतको रक्सौल लगायत सीमावर्ती सहरका साना ठूला गाउँ र नेपालको हेटौंडा, नारायणघाट लगायत सहरबाट समेत दर्शकहरु प्रदर्शनी अवलोकनका लागि आएका थिए ।
उचित स्थान नपाएर व्यवसाय प्रवद्धन गर्न नसकेका महिला समूहलाई निःशुल्क स्टल उपलब्ध गराईएको विमेन्स क्रिएशनकी सदस्य अर्पणा पटवारीले बताइन् ।
प्रदर्शनीमा देखिएको आकर्षणले महिला उद्यमीहरुलाई हौसला मिलेको क्रिएशनको सदस्य नुतन सरावगीको भनाई छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उदघाटन गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हरि गौतम लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post