वीरगञ्ज । नेपाल पुलिस क्लब वीरगञ्जमा जारी ‘प्रथम वीरगञ्ज गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले सोमबार भएको खेलमा सीलाईभ हाउस डम–डम कलकत्तालाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो ।
आदर्शनगर मैदानमा भएको खेलमा शुरुदेखि नै पुलिसले डम–डमलाई दवावमा राख्यो । पहिलो हाफमा जर्सी नं ८ का खेलाडी प्रताप गुरुङले सानदार प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनले खेलको २३ औं, ३१ औं र ३३ औं मिनेटमा लगातार गोल हानेका थिए ।
पुलिसकै २४ नं जर्सीका खेलाडी विवेक सन्तेषीले ३५ औं र १४ नं का प्रविण थापाले ४५ औं मिनेटमा गोल गरेर टीमलाई ५–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि पुलिस नै हावी देखियो । डम–डमले गोल भने गर्न सकेन । डम डमका जर्सी नं १० ले गरेको प्रहार पुलिसका किपरले समातेर गोल हुनबाट बचाएका थिए ।
पुलिसका प्रताप गुरुङले ६१ र ६२ औं मिनेटमा थप दुई गोल गरेर व्यक्तिगत गोल पाँच बनाए । ३९ औं मिनेटमा पुलिसका खेलाडीले डि एरियामा फल गरेपछि डम–डमले पेनाल्टी पाएको थियो । पेनाल्टीको अवसरलाई गोलमा परिवर्तन गर्दै डम–डमका जर्सी नं ७ का अमन मुन्सीले सान्त्वना गोल फर्काए । म्यान अफ दी म्याच प्रतापले नगद १० हजार पुरस्कार प्राप्त गरे ।
Discussion about this post