वीरगन्ज । धनतेरसको दिन हुने सुनचाँदीको विक्रीमा ३५ प्रतिशतले कमि आएको छ । पछिल्लो वर्षको तुलनामा यसपािलि कारोबार जे जति भएपनि करीब ३५ प्रतिशतले व्यवसायमा कमी आएको पर्सा सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
पछिल्लो वर्ष धनतेरसमा ५ करोड कारोबार भएको थियो भने यसवर्ष साढे ३ करोड जतिको कारोबार मात्र भएको संघका अध्यक्ष भुलन सर्राफले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक मन्दी र महँगीको कारण सुनचाँदी कारोबारमा पोहोरभन्दा यस वर्ष कमी आएको बताउनुभयो । दुई वर्ष देखि वीरगन्जमा रहेको नेपाल राष्ट्र बैंकले पनि चाँदी नदिएको उहाँले गुनासो गर्नुभयो ।
वीरगन्जमा चाँदी कै सिक्का बढी विक्री हुने गरिएपनि वीरगन्जको बैंकले चाँदीका सिक्का उपलब्ध नगराउँदा काठमाडौबाट ल्याउनु पर्ने बाध्यता रहेको संघका अध्यक्ष भुलन सरार्फले बताउनुभयो ।
पछिल्लो वर्षको तुलनामा यस वर्षको धनतेरसमा २० प्रतिशत ग्राहक कमि भएको वीरगन्जका सुनचाँदी व्यवसायी महेश सरार्फले बताउनुभयो ।
२.५ किलो सुन र १ क्यिटल चाँदी हिजो धनतेरसको दिन विक्री भएको सङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख १५ हजार दुई सयको दरमा कारोबार भएको छ भने चाँदी प्रतितोला एक हजार ४१० रुपैयामा कारोबार भएको संघले जनाएको छ ।
एक किलो सुन अथवा चाँदीमा ८७ तोला वजन हुने गर्छ । साधारण दिनभन्दा धनतेरसको दिन सुनचाँदी खरीद गर्दा शुभ हुने जनविश्वासको कारण धनतेरसको दिन हिजो गहना किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको सुनचाँदी व्यवसायी विनयकुमार साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य दिनमा ३०–४० जना ग्राहक आएमा धनतेरसको दिन १२५ जनाभन्दा बीढ ग्राहक आएको बताउनुभयो । तर यो पछिल्लो वर्षको तुलनामा कम ग्राहक रहेको उहाँले बताउनुभयो । वीरगंजका अन्य पसलमा समेत सयौंको सङ्ख्यामा सुनचाँदीको सिक्का, बिस्कुट, औंठी, सिक्री, टप, नथिया लगायत गहना बिक्री भएको छ ।
Discussion about this post