वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ जीतपुर परसवाका मुना अन्सारी भारी सवारी चालक हुन् । कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले उनलाई पनि पिरोलेको छ । ३ छोरी सहित ४ सन्तानलाई पढाउनु, हुर्काउनु छ । आमा र श्रीमतिको खर्च त छँदैछ ।
गाडी चल्दा लामो दुरीमा टिपको १ हजार ५ सय रुपैयाँ भत्ता र ८ सयदेखि १ हजार रुपैयाँ खाना खर्च उनले पाउँछन भने स्थानीय रुटमा चल्दा भत्ता ५ सय देखि ७ सय रुपैयाँ मात्रै आउँछ ।
पछिल्ला दिनमा मालबहाक गाडी खासै चलिरहेको छैन । उनको सम्पर्कमा भएको गाडी ५ दिन, १० दिनसम्म थन्किरहेको छ ।
त्यसैले उनले विदेश जाने सोच बनाए । विदेशमा ५० हजार रुपैयाँ कमाउन सकेपनि फजुल खर्च हुँदैन जोगिन्छ भन्ने उनको सोच थियो । एक दिन सामाजिक सञ्जाल फेसबुकमा ‘दुबईमा तु कामदार आवश्यक’ भन्ने विज्ञापन देखे ।
गाउँकै एउटा भाईको सहयोगमा उनले कुरा अघि बढाए । उताबाट बेकरी कम्पनीलाई मानिस चाहिएको छ भनेर खबर आयो । यताबाट उनी जान चाहान्थे । मुना सन् २०१६ मा वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । उनी दुई वर्ष त्यहाँ काम गरेर नै फर्केका हुन् । पासपोर्ट उनीसँग तयारी अवस्थामा नै थियो ।
कुराकानी अघि बढ्दै जाँदा उताबाट भिषा भनेर कागज पठाईदियो । सहजीकरणका लागि भनेर ‘दुबईमा छु ।’ भन्ने मानिसले यता नेपालकै एक जना महिलाको नम्बर दिएको थियो । ‘मेरो बहिनी हो, उसले नै सबै प्रक्रियाको काम गरिदिन्छ तपाईहरु ढुक्क हुनुस ।’ भनेर उनले भनेका थिए । महिनाको १ हजार ३ सय रियाल पाउने भनिएको थियो ।
महिलाले निरन्तर सम्पर्क गर्थिन् । श्रमको काम हुँदैछ, चाँडै नै जानुपर्छ भन्थिन् । पैसाको जोहो गर्न दवाव दिन्थिन् । वीरगञ्जमै मेडिकल गराए । १२ असोजमा नै काठमाडौं आईपुग्नु, आईतबारको फ्लाईट छ भनेर उनले भनेकी थिईन् । मुनालाई पैसाको जोहो गर्न कठिनाई भईरहेको थियो । नजाउँ कि जस्तो पनि भयो । तर ती महिलाले उनलाई फकाईन् । त्यसपछि उनले पैसा खोजे । आईतबार नै सिमराबाट विमान चढेर काठमाण्डौं ओर्लिए ।
मुनासँगै उनको छिमेकी सुरुज ठाकुर पनि जाने तय भएको थियो । उनी टाटा सुमोमा पहिल्यै काठमाडौं आइसकेका थिए । छोराको आशमा ५ छोरी र दुई छोरा जन्माए । उनी काठ मिस्त्री हुन् । फर्नीचरमा काम नपाउँदा उनलाई मन्दीमा घर धान्नै मुश्किल भईरहेको थियो । ज्यालादारीमा काम गर्ने उनी दैनिक ८ सय रुपैयाँसम्म कमाउँथे । तर पछिल्ला दिनमा काम नै नपाउँदा त्यो पनि कमाई भईरहेको थिएन ।
त्यसैले उनी वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगेका थिए । दुवैजनालाई ती महिलाले सात दोबाटो स्थित एउटा होटलमा भेट्न बोलाईन् । त्यहि ती महिलालाई उनीहरुले २ लाख ४० हजार रुपैयाँका दरले पैसा बुझाए ।
साँझ तिर उनले उनीहरुलाई त्रिभुवन विमानस्थल पुग्दै गर्नु म एकैछिनमा आईपुग्छु भनिन् । ‘दाई भाउजुलाई सुकुटी एकदमै मनपर्छ म लिएर आउँछु, तपाईहरु एयरपोर्ट जाने गेटनिर बस्दै गर्नु है ।’ भनेकी थिईन् । उनीहरुले त्यसै गरे । तर उनी विमानस्थल आउने त परको कुरा फोन समेत उठाउन छोडिन् ।
बल्ल उनीहरुले आफूहरु ठगिएको महशुस गरे । विदेश गएर पैसा कमाउने उनीहरुको सपना विमानस्थलमै चकनाचुर भयो । महिलालाई फोन गर्दा अब उनको बोली फेरियो । उनले फोन नै उठाउन छोठिन् ।
‘भाईले कम्पनी छ कि छैन भनेर चेकजाँच गरेको थियो । नेटमा सर्च गर्दा कम्पनी भेटिएपछि होला भन्ने भयो ।’ मुना भन्छन् ‘यता कमाई नभएर उता अलिकति कमाई हुन्छ कि भनेर जान खोजेको । उल्टै ऋण गरेको पैसा पनि ठगिदिए । ’
पैसा दिने समयमा प्रमाणका लागि फोटो खिच्न खोज्दा ‘म पैसा पनि लिन्न, विदेश पठाउन सक्दिन ।’ भनेर पैसा नै फालिदिएको उनी बताउँछन् ।रौतहट घर बताउने पुरुष सहित अरु तीन जना पनि सँगै उड्ने भनेर उनीहरुलाई भनिएको थियो । उनी पनि मुना र सुरुजको सम्पर्कमा थिए । तर भेट भने भएको थिएन । तर उनीहरु आईतबार साँझ विमानस्थलमा अलपत्र परेपछि ती पुरुषलाई सम्पर्क गर्दा झर्केर बोल्न थालेका छन् ।
१७ असोज, बिहीबार उनीहरु जिल्ला प्रशासन कार्यालय पर्सा स्थित आप्रवासी स्रोत केन्द्र पुगे । स्रोत केन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिन सुझाएपछि उनीहरुले त्यसै गरे । जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । उनीहरुले आफूहरु अन्यायमा परेकोले न्याय दिलाईदिन सरोकारवालासँग आग्रह गरेका छन् ।
आप्रवाशी स्रोत केन्द्रकी परामर्शकर्ता देवता रिजालले झुठा कागजात तयार गरेर उनीहरुलाई ठगेको पाईएको बताईन् । ‘विश्वासमा लिनका लागि आवश्यक कागजात तयार गरेर उनीहरुलाई पठाएको देखिन्छ, तर हेर्दा ती सबै नक्कली जस्ता छन् ।’ उनले भनिन् ।
Discussion about this post