कब्जियत आधुनिकीकरणसँगै आएको यस्तो समस्या हो जसलाई सहजैसँग निराकरण गर्न सकिन्छ । तर, यसका लागि जीवनशैली र भोजन परिवर्तन त गर्नैपर्छ ।
तपाईलाई थाहा छ कि छैन ? डिसेम्बर महिनालाई “ कब्जियत जनचेतनाको“ रुपमा मनाइन्छ ? अनि भारतमा २७ करोड जनसंख्या यो समस्याबाट पीडित छन् ।
संसार भरीे २१ प्रतिशत मानिस कब्जियतबाट पीडित छन् । जसमा सहरी जनसंख्या २० प्रतिशत र गाउँका १ प्रतिशत छन् ।
‘हे भगवान मलाई मात्र यस्तो भएको हो कि अरूलाई पनि हुन्छ ? हैरान पा¥यो मलाई, लौ न यो समस्याबाट मुक्ति पाउने उपाय कसैले भनिदिए हुन्थ्यो’ भनेर धेरै जनाले भनेको पक्कै सुन्नुभएको छ होला ।
‘कब्जियत भएर मलाई खाना खान नै मन लागेको छैन, जीउ भारी भइरहेको, टाउको दुखिरहेको छ’ भन्नेहरू त कति हुन्छन् कति । ‘मल खलाँस् गर्ने औषधि दिनुस् न’ भनेर औषधि पसलमा आउने उत्तिकै हुन्छन् । डाक्टरकहाँ धाउने मात्रै होईन, अरू अनेक थरीका उपायको खोजीमा कता–कता पुगेका हुन्छन् मानिसहरू । अमेरिकामा त एक वर्षमा करोडौं डलर कब्जियतको समस्याबाट मुक्ती पाउने औषधिमा खर्च हुन्छ ।
किन हुन्छ कब्जियत ?
कब्जियत गराउन सक्ने केही औषधि एन्टासिड, एल्मोनियम, क्याल्सियम, निद्रा लाग्ने औषधि, मानसिक रोगका लागि प्रयोग गरिने औषधि आदि हुन् तर धेरैजसो कब्जियत हुने कारण चाहिं गलत जीवन शैली र खानपिन नै हो ।
अहिले दौडधूपको जीवन, समयमा कुनै कार्य नमिल्दाको चिन्ता, साना–साना नानीलाई पनि पढाइ वा कामको चिन्ता । कसैलाई चाहिं सिरियल छुट्ला भन्ने चिन्ता, बाटोमा हिंड्दा होस वा खाना खाने तरिका नमिल्दा कब्जियत हुन सक्छ । एकदम बढी मैदा, चाउचाउ खान दिएर र पोषणरहित विशेषगरी रेसादार पदार्थरहित भोजनको प्रयोग पनि कब्जियतको कारण हो ।
कहिलेकाँहीं गर्भिणी महिलालाई उनको शरीरमा भइरहेका भित्री रासायनिक परिवर्तनको कारणले, कुनै कुनै औषधिको प्रयोगले पनि कब्जियत हुन्छ, जुन औषधि छोडेपछि आफैं ठीक हुन्छ । यस्तो बेलामा प्रायः औषधि दिने डाक्टरले त्यसको बारेमा भन्छन् र सकेसम्म बढी पानी पिउने र हरियो सागपात खान सल्लाह दिन्छन् ।
कब्जियत गराउन सक्ने केही औषधि एन्टासिड, एल्मोनियम, क्याल्सियम, निद्रा लाग्ने औषधि, मानसिक रोगका लागि प्रयोग गरिने औषधि आदि हुन् तर धेरैजसो कब्जियत हुने कारण चाहिं गलत जीवन शैली र खानपिन नै हो ।
विभिन्न कारणवश कतिपय व्यक्ति बिहान उठ्नेबित्तिकै नित्य क्रिया गर्दैनन् । कामको चाप, हतार, ढिलो उठ्ने बानी आदिले गर्दा अफिस वा काममा दौडिन्छन् । दिसा लाग्दालाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन् । यस्तो बानीले गर्दा पछि कब्जियत हुन जान्छ । बिहान उठ्नेबित्तिकै दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ ।
कब्जियत थुप्रै समस्याको कारण हुन्छ । दिसा बस्दा सानैमा कन्ने बानी हुन्छ र त्यसपछि धेरै समस्या सृजना हुन्छन् । बालबालिकालाई शुरूमा कब्जियत भएमा जीवनभरको लागि अनेक थरीका समस्या आउँछन् ।
भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, टाउको दुख्ने, बान्ता र वाक्वाक् हुने, दिसा साह्रो भएर हर्षा हुने आदि समस्या कब्जियतले ल्याउँछ । हाम्रो खानामा रेसादार पदार्थको सट्टा रेसा नभएको पदार्थ जस्तो– मैदा, बिस्कुट, चाउचाउ, केक आदि पदार्थको बढी प्रयोगले गर्दा कब्जियत हुन्छ ।
समस्याबाट मुक्त हुन के गर्ने ?
खानेकुरा र व्यायामको अभाव मात्रै होइन, लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ । चिन्ता र तनाव हटाउन ध्यान, योग, हिंडाइ र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ ।
हिँडडुलको कमीले गर्दा पनि कब्जियत हुने र तौल बढ्ने हुन्छ । अनि झोल पदार्थको नाममा आजकल कफी, कोकाकोला, फेन्टा जस्ता पदार्थहरू पिइन्छ । यस्ता वस्तुहरू कब्जियतका लागि जिम्मेवार छन् । मध्यमवर्गीय परिवारको भोजनबाट रेसादार पदार्थ झण्डै–झण्डै हराइसकेको छ । बच्चाहरूको खानाबाट हरियो तरकारी, मकै, भटमास, गाँजर जस्ता रेसादार पदार्थ भएका खानेकुरा हटेर चिजबल, चाउचाउ, बिस्कुट आदि पदार्थ बढेका छन् ।
कब्जियत हटाउनका लागि दैनिक भोजन र खाजाबाट यस्ता पदार्थहरू हटाउनुपर्छ । विभिन्न किसिमका तरकारी, विशेषगरी बोक्रा सहितका तरकारीहरू जस्तो– गाँजर, काँक्रो, मुला र त्यस्तै प्रकारले चना, भटमास, क्वाँटी आदि पदार्थको प्रयोग बढाउनुपर्छ । त्यसैगरी आँटा, नफलेको चामल, मकै, कोदो, बोक्रा सहितको आलु, फापरमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । कब्जियत आधुनिकीकरणसँगै आएको यस्तो समस्या हो जसलाई सहजैसँग निराकरण गर्न सकिन्छ । तर, यसका लागि जीवनशैली र भोजन परिवर्तन त गर्नैपर्छ ।
एक ठाउँमा बसिरहेर काम गर्ने चलन बढ्दो छ । जस्तो– कम्प्युटर इन्जिनियर, डाक्टर, अफिसमा कार्यरत व्यक्तिहरूको हिँडाइ र व्यायाम झण्डै शून्य हुन्छ । एक ठाउँबाट अर्को ठाउँमा जान मोटरको सुविधा हुने भएकाले हिँडाइ पनि धेरै कम हुँदै जान्छ ।
बालबालिका खेलकुद भन्दा टिभी अगाडि बस्न बढी रुचाउँछन् । व्यायाम मुटुको लागि मात्र होइन, शरीरको आन्द्राको चालको लागि पनि चाहिन्छ । व्यायामले पाचन शक्ति बढाउन मद्दत गर्दछ । अन्य शारीरिक व्यायाम गर्न सकिंदैन भने पनि हिँड्न त जसले, जहाँ पनि सक्छ । यसको लागि पैसा खर्च गर्नुपर्दैन । हरेक दिन २०–२५ मिनेटको छिटोछिटो हिँडाइ एउटा राम्रो व्यायाम हो ।
बालबालिकालाई पनि बिहान उठ्नेबित्तिकै दिसा गर्न जाने बानी बसाल्न लगाउनुपर्छ । यदि घरमा दिसा गर्न गएनन् भने स्कूलमा डरले शिक्षकलाई भन्न नसकी उनीहरू च्यापेर बस्छन् । यसले गर्दा कब्जियतको समस्या हुन्छ । जसको कारण जीवनभरको लागि स्वास्थ्य समस्या आउन सक्छ ।
खानेकुरा र व्यायामको अभाव मात्रै होइन, लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ । चिन्ता र तनाव हटाउन ध्यान, योग, हिंडाइ र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ ।
कब्जियत हटाउनका लागि विभिन्न विज्ञापनमा देखाइएका जुलाव चक्कीहरूको प्रयोग सकेसम्म नगर्नुहोस् । जुलावले एकचोटि त कब्जियतबाट आराम दिन्छ तर बारम्बारको प्रयोगले आन्द्राको बानी बिगार्छ र कब्जियत झन् खराब हुन सक्छ ।
दिसा बस्दा दिसा आएन भने कतिपय व्यक्तिहरू बल गरेर कन्छन् । यसले गर्दा गुदद्वारमा दबाव पर्न जान्छ र मलद्वारमा घाउ हुने सम्भावना हुन्छ । त्यसैले कन्नु सट्टा दैनिक जीवनको भोजन, व्यायाम आदिबाट नै कब्जियतबाट मुक्ति पाउनु उचित हुन्छ । कब्जियत हुनेले राति सुत्दा मनतातो पानी पिउनु राम्रो हुन्छ ।
योगासनका केही उपाय पनि कब्जियत हटाउनमा सहायक हुन्छन् । जस्तो ‘पवन मुक्तासन’ भुइँमा पल्टेर घुँडा छातीमा राखेर चिउँडोले घुँडा छुने प्रयत्न गरिन्छ । साथै बज्रासनमा बस्नु पनि एउटा राम्रो उपाय हो ।
Discussion about this post