हेटौंडा
‘गाउँमा खानेपानीको अभाव छ, वर्षामा धमिलो पानी आउँछ, पिउन मिल्दैन । खोलामा बाढी आएर पाईप बगाउँछ । हिउँदमा पानीको मुहान सुक्छ ।’
यो गुनासो मकवानपुरको मनहरी गाउँपालिकाकी सीता तामाङको हो । उनले पानीको अभावमा जीवन कष्टकर भईरहेको बताईन् ।
जंगली जनावर बस्ती पसेर दुःख दिने क्रम बढेको चितवन माडीकी निरुता माझीको भनाई छ । ‘जंगलबाट गैडा, बाघ, हात्ती बस्तीमा आउँछ ’ उनले भनिन ‘ बालीनाली खाइदिन्छ, मान्छेलाई आक्रमण गर्छ, हैरान पार्छ । ’
माडीकै पर्भी विकले बाढीले बस्ती नै बगाएर विस्थापित हुनुपरेको सुनाईन् ।
‘खेती लगाउँदा रिउ खोलाको बाढीले बगायो, अधिया बटैया गर्दा झन गाह्रो छ, क्षति नपाउने । ’ उनले भनिन, ‘ बाढीले घर डुबाउँदा बच्चा सहित छतमा गएर ज्यान जोगायौं ।
‘जलवायु परिवर्तन ः सिमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व’ भन्ने विषयमा ११ पुस बुधबार हेटौंडामा प्रदेश स्तरीय सम्मेलन आयोजना भयो । सम्मेलनमा सिमान्तकृत समुदायको प्रतिनीधित्व गर्दै उनीहरुले कुराहरु राखे ।
एक्सन एडको सहयोगमा चितवन सक्रिय महिला प्रतिष्ठान लगायतका संघ संस्थाले सम्मेलनको आयोजना गरेका थिए । सम्मेलनमा धारणा राख्ने क्रममा वक्ताहरुले जलवायु परिवर्तनले सिमान्तकृत समुदायमा गम्भिर असर पार्ने बताए ।
एक्सन एडमा कार्यरत कविता बस्नेतले जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढी रहेको र त्यसले सिमान्तकृत समुदायको दैनिक जीवनमा असर पार्ने बताईन् । ‘जोसँग पैसा छ, एसीमा बस्लान, कुलर लगाउँछन् । तर पानी जो गरिब सिमान्तकृत छ, कहाँ बस्छ ? उनीहरुले कसरी सामना गर्ने ?’ उनले भनिन् ‘ धनी झन धनी बन्ने र गरिब झन गरिब हुने अवस्था छ । ’
दाउरा, पानी लिन जाने महिलालाई पार्ने असर झन दोब्बर हुने उनको भनाई छ । एक्सन एडले प्रदुषण गर्ने व्यवसायमा लगानी गर्ने बैंकले जलवायु परिवर्तनको असर न्युनिकरण र अनुकुलनमा पनि लगानी गर्नुपर्ने माग राखेको उनले जानकारी दिईन् ।
जलवायु परिवर्तनले पार्ने असर न्युनीकरण गर्न छुट्याईएको बजेट मध्ये ८० प्रतिशत स्थानीय स्तरमा खर्च गर्नुपर्ने भनिएपनि त्यसो हुन नसकेको बस्नेतको भनाई छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता उपसचिव खुबीराम अधिकारीले गृहणी महिलाको सशक्तिकरण र सिमान्तकृत महिलाको परम्परागत पेशा संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताए ।
बागमती प्रदेश सभा, उद्योग, वन, पर्यटन तथा वातावरण समिति सदस्य आरती पाठकले जलवायु परिवर्तनको असर कम गर्न जोसँग सहकार्य गर्नुपर्ने हो त्यो नै हुन नसकेको बताईन् । उनले लगानी लक्षित समुदायमा पुगेको छ कि छैन भनेर ध्यान दिनुपर्नेमा जोड दिईन् ।
बागमती प्रदेश, प्रदेश सभा उपाध्यक्ष अप्सरा चापागाईले जल, जंगल, जमिन, जनवार र जनता जोगाउन प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् ।
सम्मेलनमा प्यानल छलफलको समेत आयोजना गरिएको थियो ।
प्यानल छलफलमा बोल्दै ईन्जिनियर सागर कार्कीले जलवायु परिवर्तनको मुद्धा उठाउँदा विद्रोही र विरोधी ठान्ने समस्या रहेको बताए ।
‘नदीमा फोहोर फाल्दा माछाले विरोध गर्दैन त्यसैले समुदायको फोहोर उठाएर नदीमा फालिन्छ ।’ उनले भने ‘आफ्नो स्वाथ्य पुरा गर्न पर्यावरण बिगारेको छ, मरेको गैंडाको पेटमा प्लाष्टिक भेटिन्छ । भावी पुस्तालाई सुरक्षित वातावरण हस्तान्तरण गरेर जानुपर्ने दायित्व भुल्नु हुँदैन ।’
पत्रकार प्रताप विष्टले जलवायु परिवर्तनको असरले गर्दा खोलानाला सुकेपछि परम्परागत पेशा छोड्नु पर्ने बाध्यतामा सिमान्तकृत समुदाय पुगेको बताए ।
‘ बोटेलाई खोलामा माछा मार्न लाइसेन्स चाहिन्छ, चेपाङले अल्लोको पाटले जाली बुन्थ्यो । तर अब त्यो पाइरहेको छैन ।’ उनले भने ‘ परम्परालाई छोड्दा अर्को आय आर्जनको बाटो खोज्नुपर्छ । त्यो उनीहरुका लागि निकै कठिन काम हो । ’
जलवायु परिवर्तनको असर न्युनिकरण गर्न प्रयाप्त बजेट नभएको र छुट्याइएको बजेटको पनि कार्यान्वयन पक्ष कमजोर रहेको पत्रकार विष्टको तर्क छ ।
Discussion about this post