विराटनगर
अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका खुला रहेको बताएका छन् । मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण बनाउन आव्हान गरे ।
‘उद्योगी, व्यवसायीका समस्या लिखित रुपमा पठाउनुस् वा प्रत्यक्ष भेटेर भन्नुस्, छलफलबाट समस्या समाधान गरौं, नेपालमै उद्योग व्यवसायको माहोल बढाएर रोजगारी यही सिर्जना गरौं ।’ अर्थमन्त्री डा. महतले भने ।
कृषिलाई प्रोत्साहन गर्ने नीति लिएको उनको भनाई छ । ‘विदेशबाट फर्केर आएका युवाले पूँजी र सिप लिएर आएका छन्, आधुनिक कृषिकर्म गर्दैछन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ ।’ उनले भने ‘यसले कृषि क्षेत्र आधुनिकीकरण हुन्छ र उत्पादन बढ्छ । उद्योग व्यावसायीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न म अनुरोध गर्दछु ।’
आउँदा दिनमा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिने र आर्थिक वृद्धि हुने विश्वास उनको छ । ‘ हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने घोषणा गरेका थियौं, अहिले मूल्यवृद्धि ५ दशमलब ३८ मा झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले हामीलाई सहयोग पुगेको छ ।’ उनले भने, ‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि गति समातेको छ । बैंकहरुले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।’
त्यसैगरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भएकोले अर्थतन्त्रलाई चलायमान बनाउने, सञ्चितिले एक वर्ष पुग्ने हुँदा आर्थिक वृद्धिको लक्ष्य हाँसिल हुने उनको दावी छ ।
पूर्वाधारमा ठूलै समस्या रहेको, पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न नसकिएको उनले बताए । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनको प्रतिबद्धता छ ।
‘अबको आवश्यकता भनेको आत्मविश्वास हो । यो देशमा भविष्य छैन भन्ने नकरात्मक प्रचारले आत्मविश्वास कम भएको छ’ उनले भने ।
आउँदो बजेटमा अझ सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री डा. महतको भनाइ छ । ‘खुला सीमा भएकाले धेरै समस्या छन्, चुहावट कम गर्ने प्रयास भइरहेको छ । सबैको सहयोगको आवश्यकता छ । पारी गएर किनमेल गर्ने प्रवृत्ति बढी छ । यो प्रवृत्तिलाई निरुत्साहित गर्न सामूहिक प्रयास थाल्नुपर्छ ।’ मन्त्री डा. महतले भने ।
Discussion about this post