काठमाडौं
अकाउन्टेबिलिटी ल्याब नेपालले वर्ष सन् २०२३ को ५ जना ‘इन्टेग्रिटी आईकन’को नाम सार्वजनिक गरेको छ । सार्वजनिक संयन्त्रमा रहेर इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्ने ५ जनालाई इन्टेग्रिटी आईकन घोषित गरिएको हो ।
अकाउन्टेबिलिटी ल्याबले दश वर्षदेखि सार्वजनिक संयन्त्र भित्रका इमान्दार कर्मचारीलाई खोजेर इन्टेग्रिटी आइकनको रुपमा सार्वजनिक गर्ने गरेको छ ।
वीरगञ्ज स्थित नारायणी अस्पतालको नर्सिङ निरीक्षक हेमा थापा, महिला तथा बालबालिका विभागको निर्देशक नीरा अधिकारी, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङ्का बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय, जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत प्रशासकीय अधिकृत प्रतिक राई र मनमैजु माध्यमिक विद्यालय, तारकेश्वर काठमाडौंको प्रधानाध्यापक रबिना महर्जनलाई यसवर्ष इन्टेग्रिटी आईकनको रुपमा छनौट गरिएको संस्थाले जनाएको छ ।
अकाउन्टेबिलिटी ल्याबले दश वर्षदेखि सार्वजनिक संयन्त्र भित्रका इमान्दार कर्मचारीलाई खोजेर इन्टेग्रिटी आइकनको रुपमा सार्वजनिक गर्ने गरेको छ ।
यसवर्ष आईकनका लागि देशभरबाट ४ सय ६६ वटा मनोनयन प्राप्त भएका थिए । उनीहरु मध्येबाट निर्णयक समितिले पाँच जना इन्टेग्रीटी आईकन छनौट गरेको संस्थाले जनाइएको छ । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशि राज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल थिए ।
इन्टेग्रिटी आइकन घोषणाले जवाफदेही सरकारी संयन्त्र निर्माणका लागि प्रोत्साहित गर्ने कार्यक्रम व्यवस्थापक अस्मिता शर्मा बताउँछिन् ।
‘जबसम्म देशले विधिको शासन मार्फत जनतालाई सुशासन दिन सक्दैन, तबसम्म अन्य उपलब्धि गौण हुन जान्छन् । विधिको शासनलाई चलायमान बनाउन सार्वजनिक संयन्त्रमा काम गर्ने व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ ।’ कार्यक्रम व्यवस्थापक शर्मा भन्छिन्, ‘नागरिकका आधारभूत आवश्यकताहरू जस्तै, स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षा लगायतका क्षेत्रमा काम गर्ने कर्मचारीले इमानदारी पूर्वक सेवा प्रवाह गर्ने हो भने नागरिकले अझ बढी विधिको शासनलाई अनुभुत गर्न पाउँछन् । त्यस्ता कर्मचारीलाई प्रोत्साहन गर्नका लागि नै हामीले हरेक वर्ष इन्टेग्रिटी आइकन घोषणा गर्ने गरेका छौं ।’
जिम्मेवारीमा खरो उत्रने हेमा
इन्टेग्रिटी आइकनमा छनौट भएकी नर्सिङ निरिक्षक थापा, हेमा थापा विगत २८ वर्षदेखि नारायणी अस्पताल, वीरगञ्जमा कार्यरत छिन् । हेमालाई चिन्ने कतिपयले उनलाई असहायको सहारा ठान्दछन, केहिले परिवर्तनको प्रयाय त कतिपयले प्रेरक व्यक्तित्व ।
अस्पतालमा २ वर्ष एनआइसीयुको जिम्मेवारी पाउँदा अक्सिजन पाइपलाइन जडान गर्नेदेखि ‘कंगारु आमा हेरचाह’ इकाई स्थापना गर्न भूमिका निर्वाह गरिन् । एनआइसीयु विभाग पाँच बेडबाट स्तारोनत्ति भएर दश बेडको बन्यो ।
नारायणी अस्पतालमा वि.स.२०७८ सालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना भएको थियो । साँघुरो कोठामा सिमित ओसीएमसी फोकल पर्सनको रुपमा हेमा नेतृत्वमा आएपछि चलायमान छ ।
उनले नेतृत्व लिएको ७ महिनामा ओसीएमसीले सरकारले तोकेको मापदण्ड पुरा ग¥यो । कोभिड १९ को पहिलो लहरमा संक्रमितको उपचार गर्न कोहि तयार भएनन् । त्यो चुनौतीपूर्ण काममा उनी नै अगाडी सरिन् । कोभिड विरुद्धको पहिलो खोप लगाउन पनि उनी नै अघि सरिन । उनको आँट र हिम्मतले अन्य कर्मचारीलाई काम गर्न र सर्वसाधरणलाई समेत कोरोना विरुद्ध खोप लगाउन आँट र हौसला मिल्यो ।
कागज रहित कार्यालय बनाउने अभियानमा निरा
सरकारले अपांगमैत्री नीति बनाउँदा आउने निर्विकल्प नाम हो, नीरा अधिकारी । अपाङ्गता अधिकार ऐनमा महिलाको खण्ड नै थिएन । व्यक्तिगत अपांगताको विषय मात्र उल्लेख थियो । अपाङ्गता भएका महिलाको अवस्था फरक हो भनेर बुझाईन । ऐन आउने बेलामा दफा थपेर नै ऐन ल्याईयो ।
अहिले विभागलाई कागज रहित कार्यालय बनाउने अभ्यासको नेतृत्व निराले नै गरिरहेकी छन् । उनले विभागले ल्याउने कार्यक्रमहरूका लागि सार्वजनिक परिक्षणको ढाँचा परिवर्तन गरेकिछिन् । संख्यामा आधारित सर्वेक्षण भन्दा पनि वास्तविक सेवाग्राहीले सरकारले दिने सेवालाई कसरी हेरेका छन् ? महिलाका लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउन सक्यो कि सकेन ? कस्ता कार्यक्रम ल्याउदा बढी प्रभावकारी हुन्छ ? जस्ता प्रश्नावली उनले सर्वेक्षणमा राख्छिन् ।
सेवाग्राहीको मन जितेका पद्मनाथ
प्राय सेवाग्राही सरकारी कर्मचारी भेट्न नपरे हुन्थ्यो भन्ने ठान्दछन । काम विशेषले भेट्न जानै परेपनि नानाथरी झन्झट व्यहोर्नुपर्छ भनेर चिन्तित भएर पुग्छन् । तर पद्मनाथ अपवाद हुन् । उनी जुन कार्यालयमा पुग्छन्, सेवाग्राही उनैलाई खोज्दै आउँछन् ।
सेवाग्राही उनलाई पच्छ्याउने दुईवटा कारण छन् ।
पहिलो, उनी कृषकलाई उपयोगी सामाग्री सबैले बुझ्ने भाषामा भिडियो बनाउँछन्, पुस्तकमा लेख्छन र सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिन्छन् ।
दोस्रो, सेवाग्राहीलाई आवश्यक पर्दा जुनसुकै माध्यमबाट जुनसुकै समयमा सहजै उपलब्ध भईदिन्छन् । उनी मुस्ताङमा कार्यरत छन्, तर उनलाई पच्छ्याउदै युवा विदेशबाट नेपाल फर्किएको र रोल्पाबाट सेवा लिन मुस्ताङ पुगेका उदाहरण भेटिन्छन् । कृषि क्षेत्रमा उनको योगदान त्यतिमै सिमित छैन । मुस्ताङमा उनी उच्च उत्पादन दिने स्याउका गुणस्तरीय बिरुवा नेपालमै पहिलो पटक टिस्युकल्चर प्रविधिबाट उत्पादन गर्दैछन् ।
नियम अनुसार मात्रै चल्ने प्रतिक
प्रतिक राई व्यवस्था, नियम कानून अनुसार चल्नु पर्दछ र सेवामा सम्मान हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसात गर्छन । सकेसम्म सेवाग्राहीले सरल रुपमा सेवा पाउन, सेवा प्रवाहमा नियम कानूनको पालना होस् भन्ने चाहना राख्छन् ।
उनले अध्यागमन विभागमा रहँदा गैह्र पर्यटकीय शाखाको भिड व्यवस्थापन गरेर सेवाग्राहीको मन जिते । जिल्ला प्रशासन कार्यालय, उदयपुरमा प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन यताउता भौतारिन नपरोस भनेर खरिदार र सुब्बाको कोठा पछाडी टेबल कुर्सी राखेर काम गरे ।
हाल प्रतिक जिल्ला प्रशासन कार्यालय झापामा प्रतिलिपि शाखामा कार्यरत छन । उनी त्यहाँ पुग्दा नागरिताको अनुसूचीहरू अस्तव्यस्त थिए । उनले मिति अनुसार अनुसुचिका फाइलिङ्लाई व्यवस्थित बनाए । यसका लागि उनले छुट्टीको दिन र बेलुका कार्यालय समय सकिएपछिको समय उपयोग गर्थे । जसले शाखाको कामलाई सहज बनाएको छ । आफ्नो कामबाट सेवाग्राहीलाई सन्तुष्ट बनाउनुको साथै उनी सहकर्मीलाई कामका लागि प्रोत्साहित पनि गर्छन् । खाजाको समय छोट्याएर कार्यालय व्यवस्थित बनाउन उनी लागिपरेका छन् ।
शिक्षाको गुणस्तरमा सम्झौता नगर्ने रबिना
सबै अभिभावक आफ्ना बालबालिका विश्व समुदायमा प्रतिष्पर्धा गर्न सक्ने बनुन भन्ने चाहन्छन । तर, सामुदायिक विद्यालयबाट त्यो सम्भव छ भन्नेमा कमै मात्र विश्वस्त हुन्छन् । कुशल नेतृत्वले सामुदायिक विद्यालयको शाख जोगाउने मात्र होईन, आम मानसिकता बदल्न सक्छ भन्ने उदाहरण हुन रबिना ।
रबिनाले व्यवहारिक शिक्षालाई जोड दिईन् । गणितमा रुची नै नभएका विद्यार्थीले ५०% अंक ल्याउन थाले । विद्यालय बाहिर रमाउने विद्यार्थी आउन थाले । रबिनालाई आफूले नेतृत्व गरेको विद्यालयको गुणस्तर निजि विद्यालयको भन्दा कम नहोस भन्ने चिन्ता रहन्छ । उनले शैक्षिक गुणस्तरमा ध्यान दिनुको साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सामेल गराईन् । व्यवस्थापकीय पक्षमा सुधार गरिन् ।
विद्यार्थीले बाल क्लब गठन गरी नेतृत्व विकास गर्न थाले । कक्षामा विद्यार्थीले सृजनात्मक क्रियाकलापको अभ्यास गर्न थाले । लेख रचनासँगै नियमित डायरी लेखन कार्यलाई अगाडी बढाए । यसले विद्यार्थीको आत्मविश्वास बढ्यो । त्यो समुदायमा प्रतिबिम्बित भयो । विद्यालयको विद्यार्थी संख्या ५ सयबाट बढेर ८ सय ३३ पुगिसकेको छ ।
Discussion about this post