तालिममा सिकेका कुराहरुलाई कतिपय शिक्षकले व्यवहारमा पनि उतारे । जसबाट विद्यार्थी लाभान्वित भएको पाईएको छ । विभिन्न तनावले विद्यालय छोड्ने तरखरमा रहेका र आत्महत्या गर्ने प्रयास गरेका छात्रछात्राले पढाईलाई निरन्तरता दिएको, उछृंखल विद्यार्थी जेहेन्दार विद्यार्थीमा परिणत भएको उदाहरण शिक्षकले प्रस्तुत गरे ।
वीरगञ्ज ।
एउटा विद्यालयमा कक्षा ७ मा पढ्ने छात्रालाई कक्षाकै अर्को साथीले नराम्रो शब्द प्रयोग गरेको रहेछ । उनी विद्यालय आउन छोडिन् । कारण खोज्दै जाँदा थाहा भयो । दुवैलाई सँगै राखेर सम्झाई बुझाई गरेपछि उनी विद्यालय आउन थालिन, जिस्क्याउन बन्द भयो ।
वीरगञ्जकै अर्को विद्यालयमा एकदिन विद्यार्थी गयल थिईन् । साथीहरुलाई सोध्दा ब्याग राखेर साथीको घरमा नोट लिन गएको छ भने । तर उनी छैठौं घण्टीसम्म नआएपछि सोधीखोजी शुरु भयो । शिक्षक जसको घरमा गएको भनिएको हो त्यहाँ पनि पुगे । तर उनी त ड्रेस चेन्ज गरेर घुम्न गएकी रहिछन् । उनलाई विद्यालयमा बोलाएर कुटपीट नगरी मायाले सम्झाईयो ।
किशोर अवस्थाका विद्यार्थीका मनमा विभिन्न कुरा खेलिरहेका हुन्छन् । घरायसीसँगै विद्यालयको वातावरणका कारणले पनि उनीहरुमा तनाव उत्पन्न गराउन सक्छ । तनावको कारण पहिचान गरी समाधान गर्न नसक्दा विद्यार्थी एकोहोरो हुने, साथीहरुसँग घुलमिल नगर्ने, पढाईमा ध्यान नदिने, विद्यालय छोड्ने मात्रै नभएर आत्महत्यासम्मको निर्णय लिन सक्छन् । तर बेलैमा उनीहरुलाई भावनात्मक सहयोग गर्न सके जटिल समस्या हुनबाट जोगिन्छ ।
विद्यार्थीको स–साना समस्यालाई बुझेर विद्यालय स्तरमै समाधान गर्न सकिन्छ कि ? भन्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाका विभिन्न विद्यालयका शिक्षकलाई मनोसामाजिक परामर्श तालिम दिईयो । युनिसेफ नेपालको सहयोगमा टिपीओ नेपालले तीन पटकसम्म शिक्षकहरुलाई तालिम दिएको थियो ।
तालिममा सिकेका कुराहरुलाई कतिपय शिक्षकले व्यवहारमा पनि उतारे । जसबाट विद्यार्थी लाभान्वित भएको पाईएको छ । विभिन्न तनावले विद्यालय छोड्ने तरखरमा रहेका र आत्महत्या गर्ने प्रयास गरेका छात्रछात्राले पढाईलाई निरन्तरता दिएको, उछृंखल विद्यार्थी जेहेन्दार विद्यार्थीमा परिणत भएको उदाहरण शिक्षकले प्रस्तुत गरे । बिहीबार वीरगञ्जको मधुशाला होटलमा आयोजित ‘तालिम प्राप्त शिक्षकहरुसँग मनोसामाजिक सहयोग’ बारे सिकाई कार्यशालामा उनीहरुले अनुभव सुनाएँ । आफू मार्फत समाधान हुन नसकेका समस्याबारे मनोमपरामर्शकर्ता, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिसम्म लगेर समाधानका लागि प्रयास गरेको दावी उनीहरुले गरेका छन् ।
सहभागी शिक्षकले मनोसामाजिक परामर्श तालिमले विद्यार्थीले बहाना गरेको हो वा समस्या नै हो बुझ्ने क्षमताको विकास भएको, विद्यार्थीसँग गर्ने व्यवहारमा परिवर्तन आएको, गोपनीयताको कदर गर्ने बानी बसेको, मनोसामाजिक समस्यालाई गम्भिर रुपमा लिने गरेको, कुटेर पढाउने हटेको, अरुको समस्या सुन्ने र समाधानको बाटो देखाउने गरेको, विद्यार्थी र शिक्षकबीच विश्वासको वातावरण बनेको विद्यार्थीको कुरालाई पन्छाउने बानीको अन्त्य भएको बताए ।
वीरगञ्ज –३१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सोलखपुरको शिक्षक सरस्वती कुमारी गौतमले मनोसामाजिक परामर्शको तालिम लिएपछि कसैलाई भन्दिन भनेर विद्यार्थीको समस्या एक्लै भेटेर सोध्ने गरेको सुनाईन् । ‘बाहिरको घाउ देखिन्छ, उपचार गर्न सकिन्छ तर मनको सानो घाउ दवाएर राख्दा विकराल रुप लिन्छ । ’ उनले भनिन् ‘ स–साना कुरा बुझ्न सकियो भने उनीहरुलाई सहज हुन्छ ।’
तालिमपछि बालबालिकाको घरसम्म पुगेर समस्या समाधानका लागि पहल गरेको अनुभव उनको छ ।
सुन्दरमल रामकुमार कन्या माविको शिक्षक सबना श्रेष्ठले ‘मनको डाक्टर’ बन्न पाउँदा खुशी लाग्ने गरेको सुनाईन् । ‘ सानोमा कुटाई खाएर पढेको भएर त्यसैगरि पढाउने बानीको विकास भयो । प्रधानाध्यापक पनि दुई चार चटकार मार्नुस न लाइनमा आउँछन भन्थे । लठ्ठी दिएर कक्षामा पठाउँथे । विद्यार्थी डराउँथे ।’ उनले भनिन् ‘ तर अहिले कुट्ने बानी हट्यो, ठट्टा गरेर पढाउने बानी बसेको छ, घर परिवारमा गर्ने व्यवहारमा समेत परिवर्तन आएको छ । विद्यार्थीको समस्या सुन्ने र समाधान गर्ने बानी बसेको छ, आफूलाई विद्यार्थीको ‘रोल मोडल’को रुपमा प्रस्तुत गर्ने प्रयास गर्छु ।’
घण्टी बजेपछि गएर पढाउने, कोर्षमा मात्रै ध्यान दिने बानी हटेर समाचार सुनेर किताब भन्दा बाहिरको विषयमा पनि छलफल गर्ने गराउने गरेको उनले सुनाईन् ।
नेपाल राष्ट्रिय मावि सोलखपुरका प्रधानाध्यापक राजु कुमार मालीले विद्यालयमा मनोसमाजिक समस्या देखिएको खण्डमा तालिम प्राप्त शिक्षककोमा पठाउने गरेको बताए । कार्यक्रममा सहभागी शिक्षकले विद्यालयमा मनोसामाजिक सहयोगका लागि घण्टी नै छुट्याउनुपर्ने, शिक्षकलाई विद्यार्थीको अभिभावकत्व दिने व्यवस्था मिलाउँदा लाभदायक हुने, कतिपय अवस्थामा शिक्षक नै समस्या हुने भएकोले ध्यान दिनुपर्ने, विद्यालयका अन्य शिक्षक र अभिभावकलाई पनि मानसिक स्वास्थ्य बारे सचेत गराउनुपर्ने, गुनासो सुनुवाई कार्यलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेको टिपीओ नेपालको मनोसामाजिक परामर्शकर्ता रञ्जु भण्डारीले बताइन् ।
शिक्षकबीच सहकार्यको वतावरण बनाउन सक्दा विद्यालयमा आउने विभिन्न समस्या समाधान गर्न सहज हुने गरेको अनुभव सुन्दरमल रामकुमार कन्या माविको प्रधानाध्यापक अनिता साहले सुनाईन् । वीरगञ्ज महानगरपालिकाको मानसिक स्वास्थ्य फोकल पर्सन अनिशकान्त कुशवाहाले सरुवा रोग बढी खोज्ने तर त्यो भन्दा विकराल समस्याको रुपमा रहेको मनोसामाजिक समस्याबारे सोधीखाजी नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले वीरगञ्ज महानगरले विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषय बढाउने शिक्षक र अर्का एक जना गरी तीन जना शिक्षकलाई मनो सामाजिक परामर्शको तालिम दिन लागेको बताए ।
वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले तालिममा सिकेको कुरा ब्यवहारमा उतारेको खण्डमा विद्यालयमा देखिएका विभिन्न समस्या नआउने बताए । उनले तालिम प्राप्त शिक्षकले गरेका कामको तथ्यांक नदेखिएकोले त्यसमा ध्यान दिन भने । ‘ विद्यार्थी विद्यालयमा नियमित आउँछन तर सिक्दैनन भने किन ? मनोसामाजिक परामर्श तालिम लिएका शिक्षकले थाहा पाउनुपर्ने हो नी । ’ उनले भने ‘ काउन्सिलिङ गरेको तथ्यांक डायरीमा राख्नुस, अभिभावकलाई विद्यालयमा आउने वातावरण बनाउन पहल गर्नुस । गुनासो पेटिका खोलेर विद्यार्थीको गुनासो समाधान गर्ने गर्नुस, धेरै समस्या हल हुन्छ ।’
तालिम दिनुको अर्थ कुनै विषयमा दक्ष बनाउनु भएको बताउँदै उनले त्यो दक्षताको उपयोग गरेर नतिजामुखी काम गर्न सक्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सहजीकरण टिपिओ नेपालका मधेस प्रदेश संयोजक राजेश पौडेल र डकुमेन्टेसन अफिसर परिवेश बिडारीले गरेका थिए ।
Discussion about this post