सुरेश बिडारी
सुरक्षित गर्भपतन सेवा तोकीएको मापदण्ड, योग्यता पूरा गरेका इजाजत प्राप्त स्वास्थ्य संस्थामा इजाजत प्राप्त स्वास्थ्यकर्मीले उपलब्ध गराउनुपर्छ ।
सुरक्षित गर्भपतन, गर्भवती हुन सक्ने व्यक्तिहरूका लागि एकदम सुरक्षित र सबैभन्दा सामान्य स्वास्थ्य सेवा र चिकित्सा प्रक्रियाहरू मध्ये एक हो । नेपालको संविधान ०७२ ले नै सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गरेको छ ।
प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ । ((धारा ३८ (२))
सम्मानपूर्वक बाँच्न पाउने हक (धारा १६), समानताको हक (धारा १८), गोपनियताको हक (धारा २८), स्वास्थ्य सम्बन्धी हक (धारा ३५), महिलाको हक (धारा ३८) र उपभोक्ताका हक (धारा ४४) मुख्य प्रजनन स्वास्थ्य र गर्भपतनसँग सम्बन्धित मुख्य संवैैधानिक तथा मौलिक हकहरु हुन् ।
गर्भपतनसँग सम्बन्धि कानुनी व्यवस्था
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १५ ले विभिन्न अवस्थामा गर्भपतन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ ।
- गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ,
- गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने भनी इजाजतपत्र प्राप्त चिकित्सकको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ
- जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मन्जुरीले अठ्ठाईस हप्तासम्मको गर्भ,
- रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आइ.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ,
- भ्रूणमा कमी कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मे र पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशानुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भू्रणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ
सोही ऐनको दफा १६ मा. बलपूर्वक गर्भपतन गराउन नहुने व्यवस्था छ ।
दफा १५ को अवस्थादेखि बाहेक गर्भपतनको नियतले वा जानीजानी गर्भपतन गराउन हुँदैन । गर्भवती महिलालाई करकाप गरी, धम्की दिई, प्रलोभनमा पारी गर्भपतन गराउनु गैरकानूनी हुन्छ । बलपूर्वक गर्भपतन गराएको मानिने केहि आधार पनि ऐनमा उल्लेख छ । करकापमा पारी गर्भपतन गराएमा, रीसइवीले गर्भवती महिलालाई केही गर्दा गर्भ तुहिएमा, यस्तो कार्य गर्न सहयोग पुर्याएमा, गर्भपतन गर्दा तक्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मी तत्काल मरेमा गर्भपतन गराएको मानिने ऐनमा व्यवस्था छ ।
ऐनको दफा १७ मा लिङ्ग पहिचान गरी गर्भपतन गर्न निषेध गरिएको छ । गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने काम गर्न नहुने, गर्भवती महिलालाई गर्भको लिङ्ग पहिचान गर्न डर त्रास देखाई प्रलोभनमा पारी बाध्य पारेर लिङ्ग पहिचान गरी गर्भपतन गराउन कानूनले रोक लगाएको छ ।
सुरक्षित गर्भपतन सेवा र गोपनियता
गर्भवती महिलालाई सुरक्षित गर्भपतन सेवा तोकीएको मापदण्ड, योग्यता पूरा गरेका इजाजत प्राप्त स्वास्थ्य संस्थामा इजाजत प्राप्त स्वास्थ्यकर्मीले उपलब्ध गराउनुपर्छ । प्रविधि र प्रकृया तोकिए बमोजिम हुन्छ, तोकिए बमोजिमको ढाँचामा स्वास्थ्यकर्मीलाई मञ्जुरीनामा दिनुपर्छ । होस ठेगान नभएको, मञ्जुरी दिन नसक्ने अवस्था भएको, अठार वर्ष उमेर पूरा नगरेको गर्भवती महिलाको हकमा संरक्षक वा माथवरले मञ्जुरीनामा दिन सक्छन् । अठार वर्षभन्दा कम गर्भवती महिलाको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्दछ ।
गर्भपतन सेवा प्रदान गर्दा गोपनीयता कायम राख्नुपर्छ । इजाजत प्राप्त स्वास्थ्य संस्थामा वा इजाजत प्राप्त स्वास्थ्यकर्मीले गर्भवती महिलाको प्रजनन स्वास्थसँग सम्बन्धित सूचना, कागजात तथा परामर्श र सेवा सम्बन्धी सबै अभिलेख गोप्य राख्नु पर्छ । तर कतिपय अवस्थामा त्यस्ता सूचना, कागजात तथा परामर्श सेवा सम्बन्धी अभिलेख उपलब्ध गराउन सकिन्छ । मुद्धाको अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारी वा अदालतबाट जानकारी माग भएमा, अध्ययन अनुसन्धानको लागि महिलाको परिचय नखुल्ने गरी उद्धरण गर्न, महिला स्वयंले अभिलेख माग गरेमा मात्रै दिन सकिन्छ ।
कुन कसूरमा कति सजाय ?
ऐनको दफा २५. मा कसूर र दफा २६ मा सजायको व्यवस्था गरिएको छ ।
दफा १६ बमोजिम गर्भपतन गराएमा, दफा १७ को उपदफा (१) र (२) विपरित भ्रुणको लिङ्ग पहिचान हुने काम गरेमा र दफा १७ को उपदफा (३) बमोजिम लिङ्ग पहिचान गरी गर्भपतन गराएमा कसूर गर्ने गराउनेलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८८ बमोजिम सजाय हुन्छ ।
(बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँ सम्म जरिबाना, बाह्र हप्ताभन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र तीस हजार रपैयाँसम्म जरिबाना, पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँचवर्षसम्म कैद र पचास हजार रुपैयाँ सम्म जरिबाना हुन्छ ।
रीसइवीले गर्भपतन गराएमा– बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद , बाह्र हप्ताभन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँचवर्षसम्म कैद सजायको व्यवस्था छ ।
दफा १७ को कसूरमा–लिङ्ग पहिचान हुने कार्य गरेमा तीन महिनादेखि छ महिनासम्म कैद, लिङ्ग पहिचान गरी गर्भपतन गराएमा थप एक वर्ष कैद सजाय हुन्छ । दफा १९ को उपदफा (२) विपरित गोपनीयता भङ्ग गरे वा गराएमा यस्तो कसूर गर्ने गराउनेलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुन्छ । पीडितले कसूरदारबाट मनासिब माफिकको क्षतिपूर्ति भराई पाउने व्यवस्था पनि ऐनले गरेको छ ।
Discussion about this post