राक्सिराङ्ग
राष्ट्रिय जनवकालत मञ्च (नाफान) संस्थाले अधिकारमूखी अवधारणा र समुदायको हक सिहतको संवद्र्धन गर्न संस्थाले विभिन्न गतिविधि गर्ने गर्छ । जल, जंगल, जमिन, जैविक विविधता एवं जलवायु परिवर्तनका मुद्धामा संस्थाले काम गर्छ । क्षमता विकास, नीतिगत पैरवी, आय आर्जनमा टेवा दिँदै सिमान्तकृत समुदायको पक्षमा नेटवर्किङ मार्फत संस्थाले पैरवी गर्दै आएको छ ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा सञ्चालन गरेको अनौपचारिक कक्षा लाभदायक देखिएको समाचार यसअघि नै प्रकाशन भईसकेको छ । रिदम फाउण्डेसनसँगको सहकार्यमा गाउँपालिकाको विभिन्न वडामा महिला र बालबालिकालाई लक्षित गरेर संस्थाले अनौपचारिक कक्षा सञ्चालन गर्दै आईरहेको छ । आदिवासी चेपाङ समुदायका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकबीच स्थानीय मूल्य मान्यताको जगेर्ना र प्रवद्र्धन यसको उद्देश्य हो ।
सोही कक्षाको सहजीकरणका लागि तयार गरिएको स्रोत पुस्तिका ‘चौतारी शिक्षा संगालो’ पाठ्पुस्तकका बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । स्थानीय सहजकर्ताका लागि तयार गरिएको पुस्तकमा आदिवासी जनजातिको परिचय, महत्व, भाषा, सँस्कृति लगायत ज्ञान र सिपसँग सम्बन्धित विषयबस्तु समावेश छन् । साथै वातावरण, वन, जैविक विविधताको संरक्षणमा आदिवासी जनजातिको योगदान लगायतका विषयहरु पनि समेटिएका छन् । विज्ञ भोला भट्टराईको अवधारणामा डा. नानीराम सुवेदीले पुस्तक तयार गरेका हुन् । ९ वटा मूल विषयलाई समेटिएको पुस्तकमा विभिन्न उप शिर्षक छन् । ६ वटा विषयका पाँच पाँच पाठ छन् भने बाँकी तीन विषय एक एक पाठमा समेटिएका छन् ।
पहिलो जातजाति सम्बन्धि विषय छ । जात भनेको के हो ? भन्ने मूल प्रश्नको उत्तर यहाँ खोजिन्छ । महिला र पुरुष गरेर दुई जात मात्रै रहेको भनेर यो पाठमा सिकाइन्छ । महिला र पुरुषमा रहेको समानता र फरकपनलाई बुझाउन खोजिएको छ । मुख्यगरी महिला पुरुषबीच शरीरको बनौटमा केहि फरक रहेको, महिलाले बच्चा जन्माउन सक्ने, दुध चुसाउन सक्ने तर पुरुषले नसक्ने भनेर जानकारी गराईएको छ । अरु काममा महिला र पुरुष दुवैले बराबरी काम गर्न सक्दछन् भन्ने सन्देश दिन खोजिएको छ । चाइना, अमेरिका, बंगलादेश पाकिस्तान जस्ता देशमा नेपालमा जस्तो जातजाति नभएको उल्लेख छ ।
पुस्तकमा समलिंगी, तेस्रो लिंगीलाई नसमेटिएको देखिन्छ । महिला र पुरुष जस्तै समलिंगी तेस्रोलिंगी पनि फरक जात हुन् । पाठेघर लिएर जन्मेकाहरुले बच्चा जन्माउन सक्ने कुरा समेटनुपर्ने देखिन्छ । महिलाले मात्रै नभई ट्रान्स मेन महिनावारी हुने र बच्चा जन्माउन पनि सक्ने हुन्छन् । अमेरिका जस्ता देशमा पनि काला र गोरा जाति भनेर विभेद हुने गरेको पाइन्छ ।
तैपनि पाठमा नेपालमा काम, बसोबास गरेको ठाउँका आधारमा र राजा महाराजाहरुको लहडका आधारमा जात बनाइएको भनेर बुझाउन खोजिएको छ । चेपाङ, प्रजा, तामाङ, नेवार, ब्राम्हण, क्षेत्री आदि प्रकृतिले नबनाएको भनी प्रष्ट्याउन खोजिएको छ । कामका आधारमा ब्रांम्हण, क्षेत्री, बैस्य (चेपाङ ,तामाङ…) हरु कसरी बने भनेर उल्लेख छ । साथै एउटै क्षेत्रमा लामो समयदेखि बसोबास गरेकालाई आदिवासी जनजाति भनिएको बताईएको छ ।
दोस्रो, परम्परागत ज्ञान, सीप, मूल्य–मान्यता र व्यवहारका विषय छ । धेरै अगाडिदेखि जानेको ज्ञानलाई परम्परागत र बितेको ८÷१० वर्षमा सिकेको ज्ञानलाई आधुनिक ज्ञान भनेर यो पाठमा बुझाउन खोजिएको छ । सहजताका लागि माछा मार्ने, तरुल खन्ने, गुन्द्रुक बनाउने, रक्सी पार्ने, डोको गुन्द्री बुन्ने कार्य परम्परागत ज्ञान र मोबाइल चलाउने, साईकल मोटरसाइकल, गाडी चलाउने आदी आधुनिक ज्ञान भनी उल्लेख छ । खेल खेल्दै, कथा सुन्दै, नाटक गर्दै परम्परागत सीप, मुल्य मान्यता, व्यवहार र भाषाबारे यस पाठमा सिकाइन्छ । मातृ भाषासँगै नेपाली भाषा र अंग्रेजी भाषाको महत्वबारे पाठमा विषयबस्तु छन् । मातृभाषा छोड्नु भनेको आमालाई छोड्नु सरह हो, आफूले पनि जान्नुपर्ने र बालबच्चालाई पनि सिकाउनुपर्नेमा पाठमा जोड दिईएको छ । स्थानीय सरकार गाउँपालिकाले पनि स्थानीय भाषामा पढाउने नियम बनाउन सक्ने बारे सचेतना जगाइएको छ ।
तेस्रो विषय शारीरिक सरसफाई र स्वास्थ्यमा केन्द्रित छ । देखिने अंग र नदेखिने अंगको सफाईबारे जानकारी यो पाठमा छ । आफ्नो र बालबालिकाको सरसफाईमा ध्यान दिन यस पाठमा सिकाइन्छ । महिनावारीको बारेमा थोरै जानकारी यहाँ समेटिएको छ । तर त्यो प्रयाप्त छैन । मर्यादित महिनावारीको लागि पैरवी भईरहेको अवस्थामा पुस्तकमा महिनावारी बारे सामाग्री थप गर्नुपर्ने आवश्यकता देखिन्छ । घर आँगन, गोठ, खोर, बच्चा र टोलको सरसफाइ बारे सचेतना जगाउन पाठ तयार गरिएको छ । अन्त्यमा गाउने सफाइ गीतले पाठको सार बोकेको छ ।
कति राम्रो टोल, साज सज्जा मिलेको
सबको घरमा चर्पी छ, पानी पनि छँदैछ
बच्चाहरु सफा छन्, बाबुआमा सचेत छन्,
बाटो घाटो सफा छ, सबै मिली गरिन्छ ।
चौथो विषय, शिक्षा, सँस्कृति, रीतिरिवाज, पोशाक र रोजगारीसँग सम्बन्धित छ । शिक्षामा औपचारिक र अनौपचारिक शिक्षाबारे बुझाउने सामाग्री छ । शिक्षा, सँस्कृति, रीतिरिवाज, पोशाक र रोजगारीलाई बुझाउन फरक फरक सामाग्री छन् । शिक्षाले आँखा खोल्न सहयोग गर्ने, उमेरले नछेक्ने, सिक्ने कुरा बाँचुञ्जेल कायम रहने कुरा बुझाउँदै शिक्षाको महत्व दर्शाइएको छ । कुनै निश्चित ठाउँमा बसोबास गर्ने जातजातिमा लामो समयदेखि चली आएको चलचलनलाई सँस्कृति भनिन्छ । विवाह, जन्म, मृत्यु, कुल पुजा गर्दा गरिने विविध क्रियाकलाप नै रीतिरिवाज हो ।
कतिपय रीत अप्ठेरो हुने हुँदा समय अनुसार परिवर्तन गर्न आवश्यक रहेकोमा पाठमा जोड दिईएको छ । पोशाकमा आएको परिवर्तनका बारेमा पनि पाठमा छलफल गरिएको छ । रोजगारी पाठमा जागिरलाई मात्रै नभई खेतबारीको काम गर्नु, माछा मार्नु, तरुल खन्नु, घरको काम गर्नु, बच्चा हेर्नु पनि रोजागारी भएको उल्लेख छ । पढ्नु, लेख्नु भनेको ज्ञान सिप बढाउनु भएको उल्लेख गर्दै पढेर जागिर नै खानुपर्छ भन्ने मान्यता नबोक्न सुझाइएको छ ।
पाँचौ विषय जल, जंगल र जमिनका बारे छ । जल भनेको के हो ? भन्ने पाठमा पानीको महत्व, पानी जन्य विपद, पानीको स्रोतको संरक्षण, सिंचाई, अतिवृष्टि, माटोको क्षयीकरण रोक्ने सन्दर्भमा चर्चा छ । जंगल भनेको के हो ? मूल प्रश्न रहेको पाठमा जंगल किन जोगाउन आवश्यक छ भनेर बुझाउन खोजिएको छ । सरकारी, सामुदायिक, धार्मिक र कबुलियती वनका प्रकारबारे बुझाउँदै संरक्षण किन आवश्यक छ भन्नेमा जोड दिइएको छ ।
अर्को पाठमा जंगली जनावार र मानिसबीचको सम्बन्धको बारेमा चर्चा गरिएको छ । जंगली जनावारलाई शत्रु हैन, मित्रको व्यवहार गर्नुपर्ने, उनीहरुबाट जान अन्जानमा भएको क्षति कम गर्ने उपाय अपनाउनुपर्ने, क्षति नगर्ने खालका बाली लगाउनुपर्ने, सुरक्षित गोठ बनाउने, घरेलु र स्थायी समाधान खोज्नुपर्ने भनिएको छ । अर्को पाठ जडिबुटीका बारे छ । जडिबुटी प्रकृतिले दिएको उपहार हुन, खेती गर्न पर्दैन, मल हाल्न पर्दैैन, जंगलमा गयो, टिप्यो ल्यायो, बेच्यो । पैसा आउँछ । चिउरी, रुद्राक्ष, तेजपत्ता, अमला, हर्रो, काउलो, कुरिलो जस्ता जडिबुटी नेपालमै बिक्रि गर्न सकिने बारे जानकारी राखिएको छ । जमिन पाठमा जमिनको किसिम र महत्व दर्शाइएको छ । जल, जंगल र जमिनको सम्बन्धका बारेमा चर्चा छ । जल अर्थात पानी नहुँदा जमिनले उत्पादन दिँदैन, सुख्खा भयो भने जंगलले पानी दिँदैन । जीवनयापनका लागि तीन वटै चिज महत्वपूर्ण छ ।
छैठौं विषय, सामुदायिक संगठन र महिला नेतृत्वसँग सम्बन्धित छ । सामुदायिक संगठन किन चाहिन्छ ? महिला नेतृत्व किन ? भनेर यहाँ बुझाउने प्रयास गरिएको छ । समूहको महत्व बुझाउन एउटा सिन्का र दशवटा सिन्का एकैचोटी भाँच्ने खेल खेलाउन भनिएको छ । समुदायले बनाएको संगठनको आफ्नै नियम र सञ्चालन प्रक्रिया हुने, आमा समूह, समुदायिक वन उपभोक्ता समूह, टोल सुधार समिति सामुदायिक संगठन भएको बुझाउन विभिन्न क्रियाकलाप पनि राखिएको छ । नियमित बैठक, बचत गर्ने बानी बसाल्ने हो भने त्यसले सामुदायिक संस्थालाई दिगो र बलियो बनाउने उल्लेख छ । यस्तो कामको नेतृत्व गर्ने व्यक्ति नै समुदायको नेता हुने बताउँदै नेता र नेतृत्वका बारेमा बुझाईएको छ ।
घर, सामुदायिक संस्था, गाउँपालिका, प्रदेश र देश चलाउन नेता चाहिने बताइएको छ । ईमान्दार, विवेकसिल, केही गरौं भन्ने भावना भएको, समय दिन सक्ने असल नेतृत्वको गुण हो । घरायसी काममा मात्रै सिमित नभइ महिलाले नेतृत्व लिएर विभिन्न काम अघि बढाउनुपर्नेमा जोड दिइएको छ । पितृसत्ता र मातृसत्ताको बारे पनि यस पाठमा बुझाईएको छ ।
सातौं विषय, स्थानीय सरकारसँगको सहकार्यसँग सम्बन्धित छ । स्थानीय सरकार भनेको के हो ? पालिकासँग भएको अधिकार, प्रमुख र स्थानीय सरकारले किन अभिभावकत्व लिनुपर्छ भनेर यसमा चर्चा छ । सहभागी मध्ये एक जनालाई वडा अध्यक्ष बनाएर स्थानीय सरकारको अभ्यास गर्ने वादविवाद खेलले उनीहरुलाई अझ बुझ्न सहयोग पु¥याउँछ ।
आठौं विषय, सामुदायिक विकास र स्वयं सेवा र नवौं जलवायु परिवर्तन छ । नेपालमा विभिन्न व्यक्तिले गरेको स्वयं सेवालाई उदाहरणको रुपमा प्रस्तुत गरिएको छ । तर इन्द्रेणी कार्यक्रमका कृष्ण कँडेलले गरेको सामाजिक कार्य स्वयं सेवा नभई सहयोगी मन भएका र सहयोगको खाँचो भएकालाई जोड्ने कार्य हो । धुर्मुस सुन्तलीले भूकम्प पीडित र मसहर बस्ती बनाउँदा पनि त्यसै गरेका थिए । उनीहरुले चितवनमा थालेको क्रिकेट रंगशाला बनाउने कार्य विविध कारणले पुरा हुन सकेन । उदाहरण चयन गर्दा ध्यान नदिइएको भएपनि पाठमा स्वंय सेवा भनेको आफ्नो इच्छाले अरुको सेवा गर्ने ( आफैँले गर्ने सेवा ) कार्यको रुपमा बुझ्न भनिएको छ ।
अन्तिम पाठमा जलवायु परिवर्तनको कुरा गरिएको छ । विश्व समुदायमा जलवायु परिवर्तन चिन्ता, चासो र चर्चाको विषय छ । लेकमा नपाउने बस्तु पाउन थालेको, तल्लो तटमा उत्पादन हुने कतिपय बस्तु फल्न छोडेको, मौसमी गतिविधिमा देखिएको अस्वभाविक परिवर्तनबाट जलवायु परिवर्तनलाई बुझाउन खोजिएको छ । जलवायु परिवर्तन संसार भरी नै भईरहेको बुझाउन खोजिएको छ । विकास निर्माणका काम गर्दा वातावरणको ख्याल राख्नुपर्नेमा जोड दिइएको छ ।
सयौं थुंगा फुलका हामी….. नेपालको राष्ट्रिय गानसँगै सुरु गरिएको पुस्तक सरिखेतको सेरोफेरो, काँकडा र खैराङ, मुटु भन्दा प्यारो लाग्छ, हाम्रो राक्सिराङ्ग…. राक्सिराङ्ग गान अन्तिम गातामा लेखेर टुंग्याईएको छ ।
Discussion about this post